ऊर्जामन्त्री जनार्दन शर्मा । तस्बिर : कारोबार
काठमाडौं : ऊर्जामन्त्री जनार्दन शर्माले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को परियोजना विकास सम्झौता (पीडीए) अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
मंगलबार अन्तरराष्ट्रिय वित्तीय निगम (आईएफसी), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) र नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी (एनडब्लूईडीसी) ले संयुक्त रूपमा आयोजना गरेको ‘नेपालको जलविद्युत्मा प्रत्यक्ष वैदेशिक लगानी’ (एफडीआई) विषयक छलफल कार्यक्रममा मन्त्री शर्माले सो जानकारी दिएका हुन् ।
३ वर्षअघि पीडीएका लागि निवेदन दिए पनि प्रवद्र्धक कम्पनीसँग हालसम्म ऊर्जा मन्त्रालयले पीडीए गर्न सकेको छैन । मन्त्री शर्माले स्वदेशी र विदेशी दुवै लगानी परिचालनका लागि सरकार प्रतिबद्ध रहेको र १० वर्षे ऊर्जा संकटकाल कार्ययोजना एफडीआईबारे उल्लेख भएको बताउँदै मन्त्रालयले पीडीए छिटो गर्न प्रयत्न गरेको जानकारी दिए ।
नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीडीए) भैसकेको उल्लेख गर्दै मन्त्री शर्माले वैदेशिक लगानी भित्र्याउन नेपालमा उचित वातावरण भएको र पीडीए कार्यान्वयनसँगै तीव्रता लिने दाबी गरे । कोरियाबाट पाठ सिकेर नेपालले स्रोत साधनको परिचालनमा विशेष महत्व दिन सके धेरै प्रगति गर्न सक्ने उनको तर्क थियो ।
दक्षिण कोरियाको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको सो आयोजना सन् २०१४ को अक्टोबरमा सुरु गरेर पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि अझैसम्म पीडीए हुन सकेको छैन ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत चोई योङ जिनले नेपालको आर्थिक समृद्धिका मुख्य आधार जलविद्युत् भएको उल्लेख गदै यसमा विशेष जोड दिनुपर्ने बताए ।
उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने, ईप्पानका अध्यक्ष खड्गबहादुर विष्ट, आईएफसीका देशीय प्रमुख रेहन राहिद र कोरिया साउथ इस्ट पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत हियो यपुले जलविद्युत्मा एफडीआई भित्र्याउन उचित वातावरण बनाउनु पर्ने बताए ।
कम्पनीमा कोरियन सरकारको स्वामित्व रहेको कोरिया साउथ इस्ट पावर लिमिटेडको ५०, कोरियाली कम्पनी डालिम इन्डस्ट्रिजको १५ तथा क्यायोङ कन्ट्रक्सनको १० प्रतिशत सेयर छ ।
अन्तरराष्ट्रिय वित्तीय निगम (आईएफसी) को १५ प्रतिशत सेयर रहेको सो कम्पनीमा विकेश प्रधानांगको १० प्रतिशत सेयर छ । आयोजनाको लागत ५९० मिलियन अर्थात् नेपाली ५७ अर्ब ८० करोड रुपैयाँको अनुमान गरिएको छ । आयोजनाको झण्डै ५२ अर्ब एफडीआई आउन लागेको छ ।
http://www.karobardaily.com/%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B6%E0%A5%82%E0%A4%B2%E0%A5%80%E2%80%93%E0%A5%A7-%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A5%80%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AE-%E0%A4%9A%E0%A4%B0%E0%A4%A3%E0%A4%AE%E0%A4%BE--%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80
No comments:
Post a Comment