२१ भाद्र, २०७३
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने बेलासम्ममा वित्तीय व्यवस्थापन गरिसकेर निर्माण सुरु गर्ने भनिएको बहुचर्चित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना कसरी बनाउने भन्ने अहिलेसम्म टुंगो छैन । परामर्शदाताले डीपीआर दिएको ६ महिना नाघिसकेको छ ।
ऊर्जा मन्त्रालयले यसको पुनरावलोकन गर्ने बताइरहे पनि हालसम्म सरकारले बूढीगण्डकी कुन मोडालिटीमा बनाउने भनेर स्पष्ट निर्णय गर्न सकेको छैन । नेपालको एक मात्र डीपीआर भएको जलविद्युत् आयोजना भए पनि यसको अवरोधक सरकार नै बनेको छ ।
सरकार अनिर्णयको बन्दी बन्दा बूढीगण्डकी जलाशय बनाएर नेपालकै उत्पादनमा लोडसेडिङ अन्त्य गर्ने सपना परपर धकेलिँदै गएको छ । अर्कोतर्फ, १६ वर्षसम्म अस्ट्रेलियाको स्मेकले ओगटेर ५ वर्षअघि मात्र चीनको एउटा कम्पनीलाई दिइएको ७ सय ५० मेगावाटको पश्चिम सेती अझै अघि बढ्न सकेको छैन ।
एक वर्षभित्र थप अध्ययन गरेर संयुक्त कम्पनी बनाइसक्ने भने पनि हालसम्म बन्न सकेको छैन । चिनियाँ कम्पनीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २५ प्रतिशत सेयर हाल्ने गरी संयुक्त कम्पनी स्थापना गर्नुपर्नेमा पहिला विद्युत् प्राधिकरणले हाल्ने सेयरबारेको विवाद र पछिल्लो समयमा विदेशमा लगानी गर्न चिनियाँ कम्पनीले संयुक्त रूपमा अघि बढ्न नमिल्ने नीतिको सिकार पश्चिम सेती बनेको छ ।
यसमा पनि सरकारले समयमै निर्णय गर्न नसक्दा धेरै समस्या निम्तिएका छन् । भारत निर्यात हुने गरी सम्झौता गरिएका ९–९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ । दुवैले वित्तीय व्यवस्थापनको समय एक वर्ष थप्न माग गरिसकेका छन् ।
भूकम्प, नाकाबन्दीसँगै वित्तीय व्यवस्थापनको समय थप माग गर्नुमा सरकारले प्रतिबद्धता जनाएअनुसार समयमै जग्गा प्राप्ति तथा अन्य प्रक्रियामा ढिलाइ गरेको आरोप दुवै आयोजनाको छ ।
अर्को ठूलो आयोजनाका रूपमा ६ सय ५० मेगावाटको तामाकोसी तेस्रोको प्रवद्र्धक नर्वेजियन कम्पनीले बिजुली बजार व्यवस्थापनको समस्यालगायतका कारण देखाउँदै आयोजनाबाट हात झिकिसकेको छ ।
यी केही ठूला जलविद्युत् आयोजनाहरूमा देखिएका अवरोधका उदाहरण भए । नेपालमा निर्माण हुन लागेका अधिकांश ठूला जलविद्युत् आयोजनाहरूले केही न केही अवरोध झेलिरहेका छन् । स्थानीय वासीदेखि सिंहदरबारसम्मको अवरोध ती जलविद्युत् आयोजनाहरूका लागि सबैभन्दा ठूलो समस्या बन्दै गएका छन् ।
विडम्बना के छ भने प्रक्रियामा लम्बेतान गर्ने सिंहदरबारका पात्रहरू सबैभन्दा धेरै जलविद्युत् आयोजनाहरू समयमै बनाउनुपर्छ र अवरोध गर्नु हुँदैन भनेर कराइरहेका छन् । यसरी कराउनेमा मन्त्रीहरूदेखि कर्मचारीतन्त्रका उच्च व्यक्तिहरू छन् ।
तर वन, वातावरण, अर्थ, रक्षा, गृह, उद्योगलगायतका मन्त्रालयहरूमा ठूला आयोजनाहरू अघि बढाउन लागेको समय हेर्ने हो भने कहालीलाग्दो छ । पछिल्लो समयमा सेयरको आशाको कारणले हुन सक्छ, उनीहरू पनि जलविद्युत् आयोजनाहरूमा कुनै अवरोध गर्नु हुँदैन भनेर दबाबमा उत्रेको पनि देखिन्छ ।
तर व्यवहारमा धेरै अवरोध भोगिरहेका छन् । गुन्डागर्दी, चन्दाआतंक त धेरै जलविद्युत् आयोजनाहरूले भोगेका साझा समस्या हुन् । त्यसकारण ठूला जलविद्युत् आयोजनाहरूमा देखिएको अवरोध नहटाउने हो भने यसले नेपालको विकास प्रक्रियामा ठूलो असर देखिने निश्चित छ ।
प्रक्रियामा देखिएका सबै किसिमका अवरोध हटाउनैपर्छ । यसका लागि सरकारको प्रक्रियागत झन्झटका अवरोधदेखि चेतनाको अभावले गरेका अवरोधहरू नहटाएसम्म ठूला जलविद्युत् आयोजनाहरू बन्न सक्दैनन् । ठूला आयोजनाहरू नबनाउनका लागि बौद्धिक भनिने बर्गबाट समेत चलखेल हुने गरेका उदाहरणहरू पनि छन् ।
यसकारण सबै किसिमको चलखेल र अवरोध हटाउँदै कम्तीमा एउटा ठूलो जलविद्युत् आयोजना बनाउन सके पनि त्यसले लोडसेडिङ मात्र होइन, बिग्रँदो नेपालको अर्थतन्त्रमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने निश्चित छ ।
नेपालमा ठूला जलविद्युत् आयोजनाहरू बन्ने प्रशस्त सम्भावना रहेकाले ठूला आयोजनाहरूमा देखिने गरेका र देखिन सक्ने अवरोध, त्यसका कारण र कारक तत्वहरूको पहिचान गर्नका लागि सरकार र यसमा रहेको राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्र सक्रिय हुनैपर्छ । ठूला जलविद्युत् आयोजनाहरूलाई भीरको मौरीजस्तै अवस्थामा रहने परिस्थिति निर्माण गर्न दिनु हुँदैन ।
http://www.karobardaily.com/%E0%A4%A0%E0%A5%82%E0%A4%B2%E0%A4%BE-%E0%A4%86%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%B5%E0%A4%B0%E0%A5%8B%E0%A4%A7-%E0%A4%B9%E0%A4%9F%E0%A4%BE%E0%A4%8A
No comments:
Post a Comment