Saturday, September 24, 2016

चमेलियाको रोकिएको सुरुङ बनाउन चिनियाँ कम्पनी सहमत

 एक सातापछि काम अगाडि बढाउने

     भीम गौतम   
चमेलिया जलविद्युत आयोजना निर्माण क्षेत्र । फाइल फोटो
काठमाडौ : सार्वजनिक लेखा समितिले अनियमितताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको (स्क्युजिङ) सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ । 
जनार्दन शर्मा लेखा समितिको सभापति रहेका बेला चमेलियाको सिभिलतर्फको कार्यका लागि भेरियसनमा अनियमितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध थियो । बिहीबार ऊर्जामन्त्री रहेका उनै शर्माको पहलमा भएको छलफलमा चिनियाँ कम्पनी सहमत भएको हो ।
ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरण, सिभिल ठेकेदार गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सीजीजीसी) तथा परामर्शदाता कम्पनी साह/सिल्ट/आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेक्टेम्बर अर्थात् १४ असोजदेखि अवरुद्ध साँघुरिएको सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 
६ असार २०७१ मा १ अर्ब ९ करोड ३८ लाख बराबरको भेरियसन प्राधिकरण सञ्चालक समितिबाट पारित भएपछि १७ असार २०७१  लेखा समितिले यसमा अनियमितता भएको भन्दै भुक्तानीमा रोक लगाएको थियो ।
लेखा समितिको निर्णयका कारण ९७ प्रतिशत काम सकिएको चमेलियाको कामअघि बढ्न नसकेपछि लेखा समितिको आलोचनासमेत भएको थियो ।
समयमै आयोजना सम्पन्न नभएर प्राधिकरणले दुई अर्ब घाटा बेहोर्नुपरेको आलोचनापछि लेखा समितिले पछिल्लो समयमा पुनर्मूल्यांकन गरेर भुक्तानी दिन निर्देशन दिए पनि कामअघि बढ्न सकेको थिएन । 
यसपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र गेजुवाका महाप्रबन्धक चोउ स्याङझोङको रोहबरमा चमेलिया र ठेकेदार कम्पनीका आयोजना प्रमुखबीच ३० सेक्टेम्बरदेखि निर्माण सुरु गर्नेसहितका बुँदामा सहमति भएको छ ।
छलफलको क्रममा चिनियाँ कम्पनी आगामी ७ दिनभित्र आयोजना सम्पन्न गर्ने मिति नै तोकेर सरकारलाई प्रतिवेदन बुझाउन तयार भएको छ ।
प्रत्येक हप्तामा कार्य प्रगति र योजना पठाउनुका साथै आगामी असार मसान्तसम्ममा आयोजनाको निर्माण कार्य सक्ने प्रतिबद्धता पनि छलफलको क्रममा लिखित रुपमै ठेकेदार कम्पनीले जनाएको छ ।
पुरानो भेरियसनको रकम पुरानै दररेटमा क्रमशः प्रक्रिया पु¥याएर दिने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।  आठ अर्ब ४९ करोड ५४ लाख ८४ हजार कूल लागत अनुमान गरिएको आयोजनाको लागत १५ अर्ब ६ करोड पुगिसकेको छ ।
२०६४ सालबाट निर्माण सुरु भएर २०६८ सालमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको काम अझै सकिएको छैन । सुरुमा प्रतिमेगावाट २८ करोडमा निर्माण सम्पन्न हुने लक्ष्य रहेपनि लागत दोब्बर पुग्न थालेको छ ।
http://www.karobardaily.com/%E0%A4%9A%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%80-%E0%A4%B8%E0%A4%B9%E0%A4%AE%E0%A4%A4-%E0%A4%8F%E0%A4%95-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%AE-%E0%A4%85%E0%A4%97%E0%A4%BE%E0%A4%A1%E0%A4%BF-%E0%A4%AC%E0%A4%A2%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87 

No comments: