Monday, September 19, 2016

२ लाख ४७ हजार भूकम्प प्रभावितले अनुदान पाएनन्

     भीम गौतम   + -

काठमाडौं : भूकम्प प्रभावितहरूलाई पहिलो किस्ताको अनुदान दिने विशेष अभियान सम्पन्न भइसक्दा करिब साढे २ लाखले पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २ लाख ४७ हजार भूकम्प प्रभावितले पहिलो किस्ताको रकम पाउन बाँकी छ ।
जसमध्ये अनुदान सम्झौता भइसकेका १ लाख ६० हजारले पहिलो किस्ताको रकम पाएका छैनन् भने ८७ हजार ३५६ जना प्रभावितसँग अनुदान सम्झौतासमेत भएको छैन । 
प्राधिकरणले यो अवधिमा सतप्रतिशत भूकम्प प्रभावितलाई निजी घर निर्माणका लागि अनुदान वितरणको विशेष अभियान सञ्चालन गरेको थियो । प्राधिकरणका अनुसार सम्झौता भएकामध्ये पनि ८४ प्रतिशत मात्रैले पहिलो किस्ताको रकम पाएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेका थिए । सोही घोषणा कार्यान्वयन गर्न साउन ३१ देखि प्राधिकरणले एक महिने विशेष अभियान सुरु गरेको थियो । 
प्रधानमन्त्रीको घोषणा अवधि सकिन अब ४ दिन मात्र बाँकी छ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार ९३७ जनालाई  पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने योजना प्राधिकरणको थियो ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये विस्तृत घरधुरी सर्भेक्षण सम्पन्न भएका गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, धादिङ, नुवाकोट, रसुवा र मकवानपुर जिल्लाका भूकम्प प्रभावितलाई एक महिने अभियानमा समेटिएको थियो ।
प्राधिकरणका अनुसार, गोरखामा सबैभन्दा बढी ९८ प्रतिशतले पहिलो किस्ताको रकम पाएका छन् भने सबैभन्दा कम मकवानपुरका ५१ प्रतिशत भूकम्प प्रभावितले अनुदान पाएका छन् ।
प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले विभिन्न कारणले सतप्रतिशतसँग सम्झौता गर्न नसकिएको बताए । “पारिवारिक र जग्गाको स्वामित्व विवादका कारणले अधिकांशलाई दिन सकिएन,” उनले भने, “केही त  दोहोरो विवरणका कारण कारबाही हुने डरले सम्झौता गर्नसमेत आएनन् ।”
मकवानपुर जिल्लामा भने ढिलो गरी अनुदान वितरण सुरु गरिएकाले समस्या आएको उनले बताए । 
प्राधिकरणले साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि प्रभावितलाई सेवा दिन अभियान नै सञ्चालन गरेको थियो । भूकम्प प्रभावितको निजी घर निर्माणका लागि २ लाख अनुदान दिने निर्णय गरेकोमा हालै सरकारले थप एक लाख दिने घोषणा गरेको छ ।
पहिलो किस्ता पाएका करिब ५ हजार प्रभावितले निजी घर निर्माण सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । तर अनुदान पाएर एक जना प्रभावितले पनि नयाँ घर बनाइसकेका भने छैनन् । अभियानलाई निरन्तरता अघि बढाउने प्राधिकरणले जनाएको छ । 
http://www.karobardaily.com/%E0%A5%A8-%E0%A4%B2%E0%A4%BE%E0%A4%96-%E0%A5%AA%E0%A5%AD-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A5%87-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%A6%E0%A4%BE%E0%A4%A8-%E0%A4%AA%E0%A4%BE%E0%A4%8F%E0%A4%A8%E0%A4%A8%E0%A5%8D
 

No comments: