Sunday, September 25, 2016

मध्य मस्र्याङ्दीको उत्पादन रोकेर माथिल्लो मस्र्याङ्दीको विद्युत् किन्ने तयारी

   


माथिल्लो मस्र्याङ्दीको ड्याम साइट । तस्विर : कारोबार
लमजुङ/काठमाडौं : निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाबाट उत्पादित विद्युत् खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नै आयोजना मध्य मस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ ।
माथिल्लो मस्र्याङ्दीको विद्युत् खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । समयमै प्रशारणलाइन नबनाउँदा मस्र्याङ्दीको विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ । 
मध्य मस्र्याङ्दी–तल्लो मस्र्याङ्दी प्रशारणलाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रशारणको सम्भावना छैन । “अहिले वर्षा नसकिएकोले दुवै आयोजनाको उत्पादन कम छैन, दुवैबाट उत्पादित विद्युत्बाट थप बिजुली जान सक्ने अवस्था नभएकोले बिजुली खेर फाल्नुको विकल्प नै छैन,” प्राधिकरणका एक अधिकारीले बताए ।
माथिल्लो मस्र्याङ्दीले सोमबारदेखि ५० मेगावाट व्यापारिक उत्पादन सुरु गर्दैछ । सो बिजुलीको लागि प्रशारणलाइन साँघुरो भएपछि विद्युत् प्राधिकरण आफ्नै बिजुली खेर पठाउने बाध्यातात्मक अवस्थामा पुगेको हो ।
प्राधिकरणका अनुसार हाल विद्यमान १३२ केभीको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी प्रशारणलाइनबाट १ सय ४० मेगावाटमात्र विद्युत् प्रशारण गर्न सकिने अवस्था छ भने सो लाइनबाट ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको तल्लो मस्र्याङ्दीको गरी १ सय ३९ मेगावाटको बिजुली प्रशारण गरिरहेको छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सिनो हाइड्रोको एउटा  युनिटबाट मात्र उत्पादन गर्न लागेकोले खेर नजाने दाबी गर्छन् । “खेर नजाने गरी व्यवस्थापन गरेका छौं, केही महिनापछि हिउँद लागेपछि त झन् समस्या हुँदैन,” उनले भने ।
प्राधिकरण स्रोतका अनुसार मध्य मस्र्याङ्दीको एउटा युनिट बन्द गर्दा प्रतिमहिना ७ करोडको दरले घाटा हुनेछ  । प्राधिकरणले वर्षदेखि मध्य मस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी सिंगल सर्किटलाई डबल बनाउने कार्य गरे पनि विगत केही समयदेखि यसको काम रोकिएको छ ।
लमजुङ खण्डदेखि तनहुँको तुरतुरेसम्म डबल सर्किट बनाए पनि त्योभन्दा अगाडिको झण्डै २५ किलोमिटर भागमा काम रोकिएको हो । मध्यमस्र्याङ्दी डुम्रे–दमौली प्रशारणलाइन आयोजनाका प्रमुख गणेश केसीका अनुसार लमजुङदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ डबल सर्किट आगामी डेढ महिनामा निर्माण कार्य सकिनेछ ।
मंसिरदेखि हिउँद सुरु हुने र मस्र्याङ्दी नदीमा पानीको बहावमा कमी भई विद्युत् उत्पादनमा समेत कमी आउने हुनाले हिउँद महिनाभरि यही सर्किटले नै धान्ने प्राधिकरणका लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेको दाबी छ । उनका अनुसार हिउँदयाममा सबै आयोजनाले मुस्किलले आधामात्रै विद्युत् उत्पादन गर्ने भए पनि आगामी वर्षायाम भने निकै चुनौतीपूर्ण हुनेछ । 
ऊर्जामन्त्रीले उद्घाटन गर्ने    
लमजुङको भुलभुलेमा निर्माण सम्पन्न ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत् आयोजनाको उद्घाटन ऊर्जामन्त्री जर्नादन शर्माले सोमबार काठमाडौंस्थित हायात रिजेन्सी होटलमा गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री शर्माले आयोजनास्थलमा रहेका कर्मचारीलाई स्विच थिच्न लगाएर आयोजनाको विधिवत् रूपमा उदघाटन गर्ने कार्यक्रम तय भएको हो ।
मन्त्री शर्मासँग उद्घाटनका निम्ति आयोजनास्थल लमजुङको भुलभुले पुग्ने समय नभएकाले होटलबाटै फोनमार्फत स्वीच थिच्न लगाएर आयोजनाबाट उत्पादित विद्युत्को उदघाटन गर्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए ।
चीनको बहुराष्ट्रिय कम्पनी सिनो र चितवन कोई समूहको सगरमाथा पावर कम्पनीले मस्र्याङ्दीबाट बिजुली निकाल्न लागेको हो । जडित क्षमता कुल ५० मेगावाट रहेको यस आयोजनाबाट २५ मेगावाट र आगामी ३ महिनापछि अर्को २५ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ 
http://www.karobardaily.com/%E0%A4%AE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%A8-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A5%87%E0%A4%B0-%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%80

No comments: