Wednesday, September 28, 2016

माथिल्लो मस्र्याङदी ‘ए’ को व्यापारिक उत्पादन तीन सातापछि

     भीम गौतम   

 + -
माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजना । तस्विर : कारोबार
काठमाडौं : चिनियाँ लगानीमा निर्माण सम्पन्न भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाबाट तीन सातापछि मात्र व्यापारिक उत्पादन सुरु हुने भएको छ । 
सोमबार काठमाडौंमा ऊर्जामन्त्री जनार्दन शर्माले निर्देशन दिएर व्यापारिक उत्पादन सुरु गरेको घोषणा गरिएको आयोजनाको वास्तविक व्यापारिक उत्पादन भने तीन सातापछि मात्र हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, मंगलबारदेखि दुई साताका लागि उत्पादन बन्द गरिएको आयोजनाले त्यसपछिको एक साता परीक्षण उत्पादन गर्नेछ ।
विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले मंगलबारदेखि उत्पादन दुई साताका लागि बन्द  भएको र अर्को एक साता परीक्षणपछि मात्र नियमित रूपमा आयोजनाले उत्पादन सुरु गर्ने जानकारी दिए । 
विद्युत् प्राधिकरणका अधिकारीहरूले प्रसारण लाइनको अभाव र बिजुली थप भएपछि प्रसारण हुने लाइनमा गर्नुपर्ने अन्य कार्यको कारण मस्र्याङ्दीको जलविद्युत् तत्काल लिन असम्भव रहेको बताए पनि विद्युत् प्राधिकरण उच्च व्यवस्थापन भने यो मान्न तयार छैन ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत प्रसारण लाइनको अभावमा बिजुली खेर नजाने बताउँदै आएका छन् ।
प्राधिकरणका एक अधिकारीले भने कम्पनीबाट निजी क्षेत्रबाट सञ्चालित विद्युत् खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि प्राधिकरणले आफ्नै आयोजना मध्य– मस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने लक्ष्य राखेको र यसबारे आलोचना भएपछि चिनियाँ कम्पनीलाई अनुरोध गरेर दुई साताका लागि उत्पादन बन्द गरी तेस्रो सातादेखि मात्र उत्पादन हुने व्यवस्था गरेको बताए ।
“तीन हप्तापछि मस्र्याङदी र तल्लो–मस्र्याङदीको उत्पादन पनि घट्दै जान्छ, त्यसपछि माथिल्लो–मस्र्याङदीको बिजुली खेर नजाने हुनाले यस्तो गरिएको हो ” प्राधिकरणका अधिकारीले भने  ।
मध्य–मस्र्याङ्दी र तल्लो–मस्र्याङ्दी प्रसारण लाइनको डबल सर्किट तथा डुम्रे दमौली प्रसारण लाइन निर्माण सम्पन्न नभएकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न प्रसारण लाइन छैन ।
प्राधिकरणका अनुसार, हाल विद्यमान १३२ केभीको मध्य– मस्र्याङ्दी र तल्लो–मस्र्याङ्दी प्रसारणलाइनबाट १४० मेगावाटमात्र विद्युत् प्रसारण गर्न सकिने अवस्था छ भने सो लाइनबाट ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ६९ मेगावाटको तल्लो–मस्र्याङ्दीको गरी १३९ मेगावाटको बिजुली प्रसारण गरिरहेको छ ।
छोटो समयमा निर्माण सम्पन्न हुने भनिएको डुम्रे दमौली प्रसारण लाइनको ५० प्रतिशत मात्र काम सकिएको र काम अवरुद्ध गरेको स्पेनको ठेकेदार कम्पनी इनाभेन्सासँग वार्ता भइरहेकाले कहिलदेखि सो प्रसारण लाइन सुरु हुने हो टुंगो छैन ।
प्रसारण लाइन आयोजनाका अनुसार, ठेकेदार कम्पनी काममा फर्केमा बाँकी १४ किलोमिटर तार तान्ने काम ४० दिनभित्र सम्पन्न हुन सक्ने अवस्था छ तर नआएर नयाँ प्रक्रिया अघि बढेमा खरिद ऐनअनुसार काम गर्दा महिनौं लाग्ने अवस्था छ ।
सोमबार हायात रिन्जेसीमा उत्पादन घोषणा कार्यक्रममा माथिल्लो मस्र्याङदी ए को प्रवद्र्धक सिनो–सगरमाथा पावर कम्पनीका अध्यक्ष राजेशबाबु श्रेष्ठले थप २५ मेगावाट विद्युत् दिन कम्पनी तयार भए पनि प्रसारण लाइनको अभावमा जोडन नसकेको बताएका थिए ।
प्राधिकरणले डुम्रे दमौली निर्माण सम्पन्न भएपछि मात्र जोड्न सकिने भन्दै हाल जोड्न नमानेको कम्पनी स्रोतले जानकारी दिएको छ । 
लमजुङको भुलभुले गाविसमा चीनकोे पावर चाइना रिसोर्सेस लिमिटेड र चितवन को–ई समूहको भातृ संस्था सगरमाथा पावर कम्पनीद्वारा संयुक्त रूपमा १६ अर्ब लगानी गरेर निर्माण सम्पन्न भएको सो आयोजना २०६५ सालपछि नेपालमा बनेको ठूलो परियोजना हो ।
चार वर्षमै निर्माण सम्पन्न गरेको आयोजनाले भुलभुलेदेखि मध्य–मस्र्याङदीसम्मको प्रसारण लाइन आफैं निर्माण गरे पनि त्यसपछि आवश्यक प्रसारण लाइन विद्युत् प्राधिकरणले बनाउन सकेन ।
आगामी हिउँदमा पानीको बहाव घटेर सो क्षेत्रको मध्य–मस्र्याङदी, मस्र्याङदीलगायतका आयोजनाको उत्पादन घट्ने हुनाले हिउँदमा बिजुली खेर जाने अवस्था नभए पनि वर्षामा भने प्रसारण लाइन बनाउन नसके खेर जाने अवस्था आउने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।  
http://www.karobardaily.com/%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A4%A6%E0%A5%80-%E0%A4%8F-%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%A8-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A4%9B%E0%A4%BF

No comments: