फाइल फोटो
काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितका गुनासो फर्स्यौट गर्नका लागि ४५ दिने अभियान सञ्चालन गर्ने भएको छ ।
भूकम्प प्रभावितलाई अनुदान र पहिलो किस्ताको रकम वितरणलगायतका भूकम्पपछिको पुनर्निर्माणबारे गुनासो बढेपछि ४५ दिने अभियान सञ्चालन गर्ने भएको हो ।
भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा मात्र १ लाख ७० हजार गुनासो संकलन भैसकेको प्राधिकरणले जनाएको छ तर हालसम्म गुनासो फर्स्यौट भने भएको छैन ।
पुनर्निर्माण प्राधिकरण अनुगमन समितिको बैठकले गुनासो सुनुवाइसम्बन्धी ४५ दिने कार्य योजना तयार पारी फर्स्यौट गर्न निर्देशन दिएपछि प्राधिकरणले अभियान सञ्चालन गर्न लागेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता राम थपलियाले जानकारी दिए । “हालसम्म गुनासो फर्स्यौट भएको छैन, यसको प्रक्रिया मात्र सुरु भएको छ, अब अभियान सञ्चालन गर्न लागेका छौं” उनले भने ।
प्राधिकरणका अनुसार, सबैभन्दा बढी गुनासो मकवानपुरमा २६ हजार ९०९ छ भने सबैभन्दा कम रसुवामा १३ सय ५१ दर्ता भएको छ । त्यसैगरी सिन्धुलीमा २४ हजार ४१७, दोलखामा २१ हजार ७१२, काभ्रेमा २१ हजार ४३६, गोरखामा १५ हजार ६३५, धादिङमा १५ हजार ४०५, रामेछापमा १३ हजार ९७२, सिन्धुपाल्चोकमा १३ हजार ३८७, नुवाकोटमा ९ हजार ६२३ र ओखलढुंगामा ५ हजार ९५१ गुनासो दर्ता भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा दर्ता भएका गुनासा
जिल्ला गुनासा
मकवानपुर २६९०९
सिन्धुली २४४१७
दोलखा २१७१२
काभ्रे २१४३६
गोरखा १५६३५
धादिङ १५४०५
रामेछाप १३९७२
सिन्धुपाल्चोक १३३८७
नुवाकोट ९६२३
ओखलढुंगा ५९५१
रसुवा १३५१
स्रोतः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
३८ प्रतिशतले मात्र प्रथम किस्ताको रकम लिएको मकवानपुरमा सबैभन्दा बढी र ५७ प्रतिशत मात्र किस्ता लिएको सिन्धुलीमा त्यसपछिको दोस्रो गुनासो दर्ता भएको छ । नक्कली भूकम्प प्रभावित रहेको, अनुदान नपाएको, एउटै घरमा पनि दाजु वा भाइले मात्र पहिलो किस्ताको रकम लिएको, समयमै अनुदान नपाएका जस्ता गुनासा प्राधिकरणमा दर्ता भएको छ ।
प्राधिकरणले गुनासो सम्बोधनका लागि कार्य बनाइसके पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । गत असार तेस्रो साता भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि पारित भएको थियो ।
भूकम्प प्रभावितका गुनासा सुन्नका लागि गाविस, जिल्ला, क्षेत्रीय र केन्द्रीयस्तरमा गरी चार तहमा गुनासो व्यवस्थापन समिति बनाएको प्राधिकरणले तहगत रूपमा गुनासो फर्स्यौटको व्यवस्था गर्न लागेको छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार ९३७ जना भूकम्प प्रभावित अनुदान पाउन योग्य रहेकोमा हालसम्म ४ लाख ५० हजार प्रभावितसँग अनुदान सम्झौता भएको र ३ लाख ८० हजारलाई पहिलो किस्ताको रकम वितरण गरिसकेको छ ।
http://www.karobardaily.com/%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87-%E0%A4%97%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A5%8B-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%9F-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81
No comments:
Post a Comment