Wednesday, September 14, 2016

प्राधिकरणको कार्यकारी निर्देशक आन्तरिक प्रतिष्पर्धाबाट

    0 + -

फाइल फोटो

काठमाडौ: ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक आन्तरिक प्रतिष्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । 
ऊर्जा संकटकाल कार्ययोजना कार्यान्वयनका लागि दु्रतगतिमा प्राधिकरण कार्यकारी निर्देशक नियुक्त गर्नुपर्ने भन्दै ऊर्जा मन्त्रालय र यसअन्तर्गतका निकायका अधिकारीहरूले मात्र सहभागी हुने गरी आन्तरिक प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको हो । 
प्रतिष्पर्धामा ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत् विकास समिति, जल तथा ऊर्जा आयोग तथा नेपाल विद्युत् प्राधिकरणका ११ र १२ तहका कर्मचारीले भाग लिन पाउनेछन् । 
ऊर्जा मन्त्रालयले ती निकायमा रहेका उच्च अधिकारीलाई कार्यकारी निर्देशकको लागि तीन दिनभित्र आवेदन दिन सूचना जारी गरिसकेको छ । बुधबारसम्म समय रहेकाले तोकिएका निकायबाट कार्यकारी निर्देशकका लागि आवेदन आउने अपेक्षा ऊर्जा मन्त्रालयको छ । २४ असोज २०७३ को मिति राखेर कार्यकारी निर्देशक मुकेशराज काफ्लेले २४ भदौमा राजीनामा दिएपछि मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत गरिसकेको छ । 
काफ्लेको राजीनामा स्वीकृतसँगै ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक सिफारिस गर्न मन्त्रालयका सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी र पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक हरि पण्डित रहेको सिफारिस समिति गठन गरेको छ । समितिले तीन जनाको नाम सिफारिस गरेपछि तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ । 
प्रतिष्पर्धामा ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत् विकास समिति, जल तथा ऊर्जा आयोग तथा नेपाल विद्युत् प्राधिकरणका ११ र १२ तहका कर्मचारीले भाग लिन पाउनेछन् । 
विद्युत् उत्पादन, प्रसारण, वितरण र नियमनका क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको तथा हाइड्रोपावर, इलेक्ट्रिकल, सिभिल र मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेको व्यक्तिलाई नियुक्ति गर्ने गरी मापदण्ड तोकिएको छ । 
कार्यकारी निर्देशक सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन आदेश २०६८ मा बोर्डले प्रतिस्पर्धाका आधारमा सार्वजनिक संस्थानमा प्रमुखको नियुक्ति गर्न सक्ने व्यवस्था रहेकोमा संस्थानको सूचीबाट विद्युत् प्राधिकरणको नाम हटाएर सरकारले छोटो समयमा नियुक्ति गर्ने गरी प्रक्रिया अघि बढाएको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी संस्थानमा नियुक्ति गर्दा प्रक्रिया पुर्याएर प्रतिष्पर्धाको आधारमा गर्न निर्देशन दिएपछि सोही आधारमा ऊर्जा मन्त्रालयले आन्तरिक प्रतिष्पर्धाबाट नियुक्त गर्न लागेको जनाएको छ ।
http://www.karobardaily.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95-%E0%A4%86%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%AC%E0%A4%BE%E0%A4%9F

No comments: