कारोबार संवाददाता
काठमाडौं, १५ भदौ
उर्जा मन्त्री जर्नाद्धन शर्माले तत्काल लोडसेडिङ हट्न असम्भव रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको मन्त्रीको स्वागत एवं उर्जाबारेको छलफलमा उनले जादूको छडीजस्तै तत्काल लोडसेडिङ अन्त्यको सम्भावना नरहेको स्पष्ट पारे । उद्योगी व्यवसायीले लोडसेडिङको कारण ठूलो घाटा बेहोर्नु परिरहेको बताएपछि वर्तमानमा उपलब्ध विजुलीकै व्यवस्थापन गर्नुको विकल्प नरहेको बताए । ‘अहिलेको अवस्थाले दुई बर्ष अघि लोडसेडिङ अन्त्यको सम्भावना देखिदैन, अहिले एक अर्कालाई दोषारोपण गर्नुको सटटा यसको विकासका लागि सामुहिक रुपमा लाग्नुको विकल्प छैन ।’–उनले भने ।
सौर्य उर्जा (सोलार) को दिगो समाधानको उपाय नभएको बताउँदै भारतबाट विजुली थप आयात गरेर लोडसेडिङ घटाउन प्रशारण लाइनको समस्या रहेको बताए । उद्योगीलाई उर्जा भन्ने कार्यक्रम ल्याउनेतर्फ आफ्नो ध्यान जाने बताउँदै उनले विद्युत प्राधिकरणको मिलेमतोमा कोही व्यापारीलाई २४ घण्टानै र कोहीलाई धेरै लोडसेडिङ गरिएको भए त्यसबारे आफूले छानवीन गर्ने बताए ।
कार्यक्रममा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश कर्णले कोही व्यापारीलाई २४ औ घण्टा र कसैलाई कमी दिएको गुनासो गर्दै दुहबी मल्टिफ्यूल नीजि क्षेत्रलाई दिने ८ बर्ष अघिको निर्णय कार्यन्वयन नभएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उर्जा र पेट्रोल दुवैमा सरकारी क्षेत्रको एकाधिकार रहेको तथा उद्योग क्षेत्रमा बढी लोडसेडिङ गरेर सरकारले भेदभाव गरेको बताएका थिए । महासंघ उर्जा विकास समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले उद्योग व्यवसायीहरुले १५ खर्ब बराबरको उर्जालाई विभिन्न माध्यमबाट खपत गर्नुपरेको बताउँदै उद्योग व्यवसायीहरुलाई धराशायी नहुने गरी उर्जा व्यवस्थापन गर्नुपर्ने बताए ।
No comments:
Post a Comment