Monday, September 5, 2016

एकीकृत फोहोर व्यवस्थापन परियोजना ९ महिनाभित्र सुरु गरिने

     कारोबार संवाददाता   

फोहोरको दुर्गन्धका कारण मुख छोपेर हिंड्दै युवती । फाइल फोटो

काठमाडौं : आगामी नौ महिनाभित्र काठमाडौं उपत्यका फोहोर व्यवस्थापन परियोजना सुरु हुने भएको छ । २० वर्षभन्दा बढीदेखि चर्चामा रहेको र ७ वर्षदेखि प्रक्रियाअघि बढेको एकीकृत फोहोर व्यवस्थापन परियोजना अबको नौ महिनाभित्र सुरु हुन लागेको हो । 
काठमाडौंको फोहोर व्यवस्थापन सबैभन्दा ठूलो समस्याको रूपमा रहेको लगानी बोर्ड र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा परियोजना अघि बढाउन लागिएको हो ।     
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर बोर्डद्वारा स्वीकृतसमेत गरिसकेको परियोजनाको प्रवद्र्धक कम्पनीहरूसँग आगामी सातादेखि आयोजना विकास सम्झौता (पीडीए) का लागि वार्ताअघि बढाउन लागिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
“ल्यान्डफिल्ड साइटको विकास, महसुल निर्धारणलगायतका केही समस्या छन्, त्यसको समाधान गर्छौ,” उनले भने । उनका अनुसार बोर्डले परियोजनाअघि बढाउन वार्ता समिति गठन गरिसकेको छ ।
बोर्डले ३ महिनादेखि ६ महिनाभित्र पीडीए वार्ता गरेर सम्झौता गर्ने तथा त्यसको तीन महिनाभित्र परियोजनाको निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ ।
काठमाडौंको फोहोर व्यवस्थापनअघि बढाउन प्याकेज नम्बर १ अन्तर्गत दी अर्गानिक भिलेज र फिनिस कम्पनी कम्युनिकेसन ओईसहितका संयुक्त जेभी तथा प्याकेज दुई र तीनअन्तर्गत ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापनका लागि बीभीजी इन्डिया लिमिटेड, क्रिस इन्टरनेसनल र क्लिन भ्याली वेस्ट व्यवस्थापन भारतसँग परियोजना अघि बढाउनका लागि पीडीए वार्ता गर्न लागिएको हो ।
पुस २०६६ सालदेखि सुरु भएको परियोजनाको डीपीआर गत फागुनमा मात्र सम्पन्न गरिएको थियो । डीपीआरअनुसार काठमाडौंबाट प्रतिदिन तीन सय टन, ललितपुरबाट एक सय टन र भक्तपुरबाट ५० टन गरी दैनिक फोहोर उत्पादन हुनेछ ।
बञ्चरेडाँडाको चार रोपनी जग्गामा फोहोर व्यवस्थापन केन्द्र बनाउने लक्ष्य राखिएको परियोजनाअन्तर्गत मल, बिजुली र ग्यास उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
“हाल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि तहगत रूपमा हुने गरकोमा एकीकृत रूपमा परियोजना अघि बढाउँदा समस्या आउन सक्छ, यसलाई समेत मध्यनजर राखेर परियोजना अघि बढाउन लागेका छौ,” प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने । 
    
काठमाडौंको फोहोर व्यवस्थापन गर्न ६ अर्ब ३० करोड तथा ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापनका लागि १ अर्ब ९० करोड लागत अनुमान गरिएको छ ।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि अर्गानिक भिलेजले ५१ प्रतिशत र कम्युनिकेसन ओई फिनल्यान्डले ४९ प्रतिशत लगानी गर्न लागेको छ भने ललितपुर र भक्तपुरको फोहोर व्यवस्थापनका लागि क्रिस इन्टरनेसनलले ५० प्रतिशत, बीभीजीले ४५ प्रतिशत र ग्रीन फिल्डले ५ प्रतिशत लगानी गर्नेछ । 
http://www.karobardaily.com/%E0%A4%8F%E0%A4%95%E0%A5%80%E0%A4%95%E0%A5%83%E0%A4%A4-%E0%A4%AB%E0%A5%8B%E0%A4%B9%E0%A5%8B%E0%A4%B0-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A5%AF-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%87

No comments: