Sunday, September 25, 2016

पुनर्निर्माणको लागत २६८ अर्ब बढ्यो

भीम गौतम   + -

काठमाडौं : भूकम्पपछिको पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ ।
गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनपछिको आवश्यक आँकलन (पीडीएनए) प्रतिवेदनले पुनर्निर्माणका लागि ६ सय ७० अर्ब आवश्यक रहेको देखाएको थियो ।  अहिले भने पुनर्निर्माणको अनुमानित लागत बढेर ९ सय ३८ अर्ब पुगेको छ । 
भूकम्प प्रभावितलाई पूर्वघोषित दुई लाख अनुदान रकममा थप एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । यस्तै, प्रभावितलाई ३ लाख रुपैयाँ निब्र्याजी ऋण प्रदान गर्ने निर्णयसमेत कार्यान्वयन हुँदा बजेट ९ सय ३८ अर्ब पुग्ने देखिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको निर्देशक समितिमा प्रस्तुत गरेको प्रतिवेदनको आधारमा पुनर्निर्माण खर्च २ खर्ब ६८ अर्ब बढ्ने देखिएको हो ।
गत वर्ष जेठमा प्राधिकरणले सार्वजनिक गरेको पाँच वर्षीय पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी योजनाको खाका (पीडीआरएफ) मा पुनर्निर्माणका लागि ८ खर्ब ३८ अर्ब आवश्यक रहेको प्रतिवेदनमा दिएको थियो । 
प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल पीडीएनए प्रतिवेदन प्रारम्भिक भएको र विस्तृत रूपमा पीडीआरएफ गर्ने उल्लेख भएकाले विस्तृत विवरण संकलन गर्दा पुनर्निर्माण खर्च बढेको हुनसक्ने बताउँछन् ।
चुनौतीपूर्ण स्रोत व्यवस्थापन
पुनर्निर्माणका लागि खर्च बढ्दै गए पनि आवश्यक स्रोत व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ । २०७२ असारमा भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजित अन्तरराष्ट्रिय दाता सम्मेलनमा दातृ निकायबाट ४ खर्ब १० अर्बको प्रतिवेदन प्राप्त भए पनि हालसम्म २ खर्ब ७२ अर्ब बराबरको मात्रै सम्झौता भएको छ ।
प्राप्त प्रतिबद्धतामध्ये करिब ६७ अर्ब रुपैयाँ नियमित कार्यक्रमका लागि रहेको हुँदा वास्तविक प्रतिबद्धता रकम करिब ३ खर्ब ४३ अर्ब रुपैयाँ मात्र हुने स्थिति रहेकाले स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रगति निर्देशक समितिको बैठकमा ज्ञवालीले जानकारी दिएका थिए ।
उनका अनुसार, अनुमानित ९ सय ३८ अर्ब रुपैयाँमध्ये उल्लेखित २ सय ७२ अर्ब रुपैयाँ कुल आवश्यकताको करिब २९ प्रतिशत मात्र हुने र कुल प्रतिबद्धता रकम आवश्यकताको करिब ४७ प्रतिशत मात्र भएको छ ।
यस्तै, अपुग ५ खर्ब ९५ अर्ब रुपैयाँ अर्थात् ६३ प्रतिशत रकमका लागि आन्तरिक बजेट परिचालन गर्नुपर्ने तथा थप अन्तरराष्ट्रिय सहयोगबाट जुटाउनु पर्ने अवस्था छ ।
पहिलेको दाता सम्मेलनमा प्रतिबद्धता जनाए अनुसारको रकम हालसम्म पनि प्राप्त गर्न नसकिरहेको बेला स्रोत व्यवस्थापन गर्न कठिनाइ हुने प्राधिकरणका एक अधिकारीले बताए ।
उनका अनुसार, सरकारैपिच्छे लोकप्रियताका लागि बढाउने अनुदानको कारण बढ्दो खर्च, दाताको प्रतिबद्धता अनुसारको रकम नआउनु र आए पनि उनीहरूको स्वार्थको आधारमा खर्च भएका कारण स्रोत व्यवस्थापन चुनौतीपूर्ण छ । 
आयोगका पूर्वउपाध्यक्ष पोखरेल भने समयमै पुनर्निर्माणका काम अघि बढाउन नसक्दा केही विश्वासको वातावरण कम भए पनि अझै निजी आवाससहित सबै क्षेत्रको पुनर्निर्माण गरेर थप विश्वासको वातावरण बनाउन सके थप स्रोत जुटाउन असम्भव नरहेको तर्क गर्छन् ।     
“अहिले निजी आवास निर्माणलाई मात्र विशेष जोड दिइएको छ, आर्थिक संरचनासहितको निजी आवास तथा अन्य क्षेत्रको पुनर्निर्माणमा जोड दिइनुपथ्र्याे,” उनले भने, “दाताहरूलाई विश्वासमा लिनसके फेरि थप स्रोत व्यवस्थापन गर्न सकिन्छ ।”
आइतबार भएको निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले पुनर्निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान र पहिलो किस्ताको रकम वितरण गर्न निर्देशन दिएका दाहालले पुनर्निर्माणबारे अन्तरविरोध रहेको बताउँदै यसप्रति असन्तुष्टि जनाएका थिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले निजी घर बनाउनका लागि निर्माण सामग्रीको व्यवस्थापन नगरी र निर्माणका लागि तालिम समेत नदिई अनुदान वितरण गरिएको र अहिले भूकम्प प्रभावितले घर बनाउने वातावरण नरहेको भन्दै असन्तुष्टि जनाएका थिए । 
अनुदान दिन दुई विकल्प प्रस्ताव
प्राधिकरणले पहिलो किस्ताको रकम ५० हजारपछिको दुई किस्ताको रकम वितरणका लागि दुई विकल्प अघि सारेको छ ।
दोस्रो किस्तामा १ लाख २५ हजार र तेस्रो किस्तामा १ लाख तथा थप २५ हजार शौचालयका साथै सोलार वा वायोग्यास बनाउनका लागि दिने गरी एउटा र दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा एक लाख दिने गरी प्रस्ताव अघि सारिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।     
http://www.karobardaily.com/%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%A4-%E0%A5%A8%E0%A5%AC%E0%A5%AE-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A4%AC%E0%A4%A2%E0%A5%8D%E0%A4%AF%E0%A5%8B

No comments: