Monday, February 1, 2016

लोडसेडिङ अब ९१ घन्टा

राजधानी समाचारदाताकाठमाडौं, १७ माघ
नेपाल विद्युत् प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र ऊर्जा संकटकाल घोषणा गरेर १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने भन्दै सरकारले योजना र कार्यक्रम सार्वजनिक गरिरहेका बेला लोडसेडिङ बढेको हो ।
हाल दैनिक १२ घन्टा रहेको लोडसेडिङ बढाएर आज (सोमबार) देखि लागू हुने गरी १३ घन्टा पु¥याइएको छ । ‘सातामा साढे ८३ घन्टा रहेको लोडसेडिङ साताको ९१ घन्टा पुगेको छ,’ विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रमा प्रमुख भुवन क्षत्रीले भने ।
प्राधिकरणका अनुसार हाल विद्युत्को माग १३ सय ५० मेगावाटको हाराहारीमा रहेकामा भारतबाट २ सय ३५ मेगावाट आयात भएको छ भने प्राधिकरण र निजी क्षेत्रबाट ३ सय मेगावाट मात्र उत्पादन भएको छ । ‘मागभन्दा झन्डै ८ सय मेगावाट विद्युत् अभाव रहेकाले लोडसेडिङ बढाउनुपरेको हो,’ केन्द्र प्रमुख क्षत्रीले भने । पुसमा सातामा १० घन्टा मात्र लोडसेडिङ हुने प्रक्षेपण गरेको विद्युत् प्राधिकरणले दैनिक १२ घन्टा पुगेको थियो । माघमा विद्युत् प्राधिकरणले १२ घन्टा लोडसेडिङ सीमित हुने प्रक्षेपण गरेको थियो ।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माण भई १ नोभेम्बरबाट भारतबाट थप ८० मेगावाट विद्युत् आयात भएमा र कुलेखानी जलाशय भरिएमा मात्र पुसमा १० र माघमा १२ घन्टा हुने प्राधिकरणको प्रक्षेपण रहेकामा अझ बढ्ने देखिएको छ । प्राधिकरणका अधिकारी ४ फागुनअघि अन्तरदेशीय प्रसारण लाइन सम्पन्न नभई ८० मेगावाट विद्युत् आयात नभएमा कम्तीमा १६ घन्टा लोडसेडिङ हुने अनुमान गर्छन् । नेपाल र भारतबिचको विद्युत् व्यापारका लागि हालै बसेको सचिवस्तरीय बैठकले ८० मेगावाट विद्युत् आयात गर्ने सम्झौता गरिसकेको छ ।
१२ वैशाख र त्यसपछिको निरन्तर पराकम्पनको कारणले विच्छेद ९३ मेगावाट बराबरका जलविद्युत् आयोजना अझै विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडसँग जोडिएको छैन ।
http://rajdhani.com.np/article/0657138001454299413

No comments: