Monday, February 1, 2016

अन्तरदेशीय प्रशारण लाइन बन्न अझै दुईसाता


–बनेन समयमै प्रशारण लाइन
–तार तान्न अझै १४ दिन लाग्ने
–ढिलाई भए ८० मेगावाट विद्युत आयात असम्भव
भीम गौतम\राजधानी
काठमाडौं, १७ माघ । नेपाल र भारतबीच विद्युत ओहोरदोहोर गर्ने नेपालकै पहिलो नेपाल–भारत अन्तरदेशीय प्रशारण लाइन पुरा हुन अझै दुई साता लाग्ने भएको छ ।
३१ जनवरी अर्थात १७ माघभित्र (आइतबार) निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रशारण निर्माण पुरा हुन अझै दुई साता लाग्ने भएको हो । गत भदौको दोस्रो सातानै अन्तरदेशीय प्रशारण लाइन निर्माण सम्पन्न गरी ८० मेगावाट विद्युत १ नोभेम्बरदेखि भारतबाट आयात गर्ने लक्ष्य राखिएको छ तर भुकम्प, नाकाबन्दी लगायतको कारणले निर्माणमा ढिलाई भएको प्राधिकरणले जनाएको छ । सबै टावरको फाउण्डेसन निर्माणको काम सकिएपनि अझै नेपालतर्फको ७ किलोमिटर तार तान्न बाँकी छ । ‘अब महोत्तरीको सिंहालीमा ५ किलोमिटर र धनुषाको ढल्केबरमा २ किलोमिटर तार तान्न बाँकी छ ।’–आयोजना प्रमुख अनिल पण्डितले भने–‘सिंहालीमा १० दिन र ढल्केबरमा ४ दिन तार तान्नका लागि समय लाग्छ ।’
    नेपाल र भारतबीचको विद्युत व्यापार सम्झौता (पीटीए) कार्यन्वयनका लागि गठित द्धिपक्षीय सचिवस्तरीय बैठकले आगामी ४ फागुनदेखि थप ८० मेगावाट विद्युत आयात गर्ने सम्झौता गरेको छ । सो सम्झौता अनुसार विद्युत आयातका लागि अब १६ दिन मात्र बाँकी छ । तार तानेपछि पनि परीक्षणका लागि कम्तीमा २४ घण्टा लाग्छ । तार तान्ने कार्य ढिलाई भएमा सम्झौता अनुसारको विद्युत आयातमा कठिनाई रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् तर प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने तार तान्ने कार्य सकेर ४ फागुनदेखि विद्युत आयात गर्न सकिने बताउँछन् । ‘प्रशारण लाइनमा टावर फाउण्डेसनको काम सकिएको छ, अब छिट्टै तार तान्ने कार्य सकेर सम्झौता अनुसारनै विद्युत आयात गर्न सक्छौ ।’–उनले भने–‘३१ जनवरीभित्र सम्पन्न गर्ने लक्ष्य थियो तर केही ढिलो भएपनि अब तोकिएको समयभित्र विद्युत आयात गर्न सक्ने अवस्था छ ।’
तीन वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउने आधारको रुपमा सरकारले यही अन्तरदेशीय प्रसारण लाइन बनेपछि भारतबाट हुने विद्युत आयातलाई लिएको छ । सन् २०१५ को जुनदेखि नेपालले भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसी) सँग १ सय ५० मेगावाट बिजुली किन्ने सम्झौता गरेपनि अन्तरदेशीय प्रशारण लाइन नबन्दा आयात हुन सकेको छैन भने यो प्रशारण लाइनका लागि निर्माण हुनुपर्ने ढल्केबर सवस्टेशन निर्माणमा ढिलाई हुने भएपछि तत्काल अस्थायी रुपमा २२०÷१३२ केभीएको ट्रान्सफर्मरमा चार्ज गरेर ८०मेगावाट विद्युत आयात गर्ने लक्ष्य राखिएको छ ।
नेपालतर्फको प्रशारण लाइन ढल्केबरदेखि मुहजफपुरसम्मको ४२ दशमलब २ किलोमिटर रहेको छ भने आयोजना अन्र्तगत १ सय १२ टावर निर्माण गर्नुपर्ने अवस्था छ । १३ दशमलव २ मिलियन डलरमा निर्माण हुने उक्त नेपालतर्फको आयोजनामा प्राधिकरणको ५० प्रतिशत, भारतीय कम्पनी आईईडीसीएलको १० प्रतिशत, पावर ग्रिड कर्पोरेसन लिमिटेडेको २६ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको १४ प्रतिशत सेयर छ । भारतबाट पावर आदानप्रदानका आधारमा ल्याउ“दा भन्दा बोर्डर बनाएर बजारमार्फत ल्याउ“दा ३ दशमलव २६ पैसा सस्तो पर्ने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन बनेर पूर्ण क्षमताको सवस्टेशन बनेमा भारतमा र भारतबाट नेपालमा आठ सय मेगावाटसम्म विद्युत् सहज आयात निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ ।

No comments: