पूर्वाधार र ऊर्जा विकास मुख्य प्राथमिकता
भीम गौतम/राजधानीकाठमाडौं, १ फागुन
आगामी
७ फागुनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको भारतको औपचारिक
भ्रमणको एजेन्डाका लागि गृहकार्य अन्तिम चरणमा पुगेको छ । परराष्ट्र
मन्त्रालय स्रोतका अनुसार, आज (आइतबार) भारत भ्रमणका सबै एजेन्डा तय
भइसक्ने छन् ।
परराष्ट्र
मन्त्रालय स्रोतका अनुसार सरकारले प्रधानमन्त्री भ्रमणका लागि नेपालले अघि
बढाउन चाहेका एजेन्डाको आशयपत्र (विस लिस्ट) भारत पठाइसकेको छ । भ्रमणका
क्रममा पूर्वाधार र ऊर्जा विकास एजेन्डा प्रमुख प्राथमिकतामा राखिएको
मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भ्रमणका क्रममा ७ सय ५० मेगावाट
बराबरका दुई जलविद्युत् आयोजना, दोस्रो र तेस्रो अन्तरदेशीय प्रसारण लाइन
निर्माण, ६ हजार ४ सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय
आयोजनालगायतबारे छलफल गर्ने एजेन्डा तय गरिएको छ । दुई जलविद्युत् आयोजनाको
लागत करिब १ अर्ब अनुमान गरिएको छ ।
प्रधानमन्त्रीको
एजेन्डाबारे छलफल गर्न हालै भारत पुगेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले
समेत यसबारे भारतीय समकक्षी अरुण जेटली र विदेशमन्त्री सुष्मा स्वराजलाई
जानकारी गराएका थिए । त्यसैगरी नेपाल र भारतले संयुक्त रूपमा तयार गरेको
प्रसारण लाइन गुरुयोजनामा ६ ओटा अन्तरदेशीय प्रसारण लाइनको चयन गरिएकामा
तत्कालका लागि दुई वटासम्म अन्तरदेशीय प्रसारण लाइन निर्माणबारे छलफल अघि
बढ्ने बताइएको छ ।
हालै नेपाल र
भारतबिचको ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयन प्रयोजनका लागि गठित
सचिवस्तरीय बैठकले ४ फागुनदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने
लक्ष्य राखेकामा त्यसलाई भ्रमणको अवसर पारेर सुरु गरिने बारेसमेत छलफल अघि
बढाइएको ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा स्विच अन गरिने लक्ष्य छ
।
भ्रमणमा भूकम्पपछि भारतले
प्रतिबद्धता जनाएको सहायता र घोषणा गरेको ऋणबारे समेत छलफल गर्ने कार्यक्रम
छ । भारतले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा २ खर्ब र भूकम्पपछि
पुनर्निर्माणका लागि १ खर्ब सहायताको घोषणा गरेको छ । १ खर्बमध्ये २५ अर्ब
अनुदान र ७५ अर्ब ऋण हो । त्यसैगरी भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले
हुलाकी राजमार्गको निर्माण तथा काठमाडौंमा आर्ट अस्पताल निर्माणबारे समेत
छलफल हुनेछ ।
त्यसैगरी भारतीय
सहायतामा राष्ट्रिय प्रविधि इस्टिच्युट तथा आठ प्राविधिक विद्यालयहरू
स्थापनाका लागि समेत प्रस्ताव गरिने विस लिस्टमा उल्लेख छ । भ्रमणमा दोस्रो
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, काठमाडौं–तराई फास्ट ट्र्याक र यसका
सुरक्षा मुद्दाहरूसमेत उठ्ने मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल
र भारतबिच भएका सन्धि सम्झौतालगायतको पुनरावलोकनबारे विज्ञ समूह गठन
भइसकेकाले यसबारे एजेन्डा राख्ने नराख्ने बारे स्पष्ट भइसकेको छैन ।
सकेसम्म प्रधानमन्त्री ओली विवादित विषयमा कम छलफल गर्ने पक्षमा देखिएको
प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । भारतीय समकक्षी मोदीको
निमन्त्रणामा ६ दिने भ्रमणमा जान लागेका प्रधानमन्त्रीले ७ फागुनदेखि ११
फागुनसम्मको भ्रमणका क्रममा मोदीसहित भारतीय राष्ट्रपति, उपराष्ट्रपति,
मन्त्रीहरू, राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । ८
फागुनमा हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको
औपचारिक वार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमणका
क्रममा प्रधानमन्त्री ओली भारतको आर्थिक राजधानी मुम्बई, गुजराजसमेत जाने
कार्यक्रम छ । भ्रमणका लागि प्रधानमन्त्री ओलीले गरेको सर्वदलीय छलफलको
क्रममा उनलाई राष्ट्रिय हितविपरीत सन्धि–सम्झौता नगर्न सुझाव दिइसकेका छन्
।
http://rajdhani.com.np/article/0011939001455418004
No comments:
Post a Comment