Saturday, February 20, 2016

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा


दिल्लीमा उच्च सम्मान, स्वागतका लागि विमानस्थल पुगिन् विदेशमन्त्री स्वराज

गणेश बस्नेत, भीम गौतम / काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्रराष्ट्र भारतको ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका हुन् ।

भारतको राजकीय भ्रमणमा जाने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । साथमा सभामुख ओनसरी घर्तीलगायत । तस्बिरः द्वारिका काप्mले÷राजधानी

राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । प्रधानमन्त्री ओलीको भ्रमणलाई विशेष महŒव दिँदै भारतीय प्रधानमन्त्री मोदीले विदेशमन्त्री स्वराजलाई स्वागतका लागि विमानस्थल पठाएका हुन् । ओली भारतको राजकीय भ्रमणमा जाने नेपालको दोस्रो प्रधानमन्त्री हुन् । यसअघि भारतले राष्ट्रप्रमुखको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजकीय भ्रमणमा बोलाएको थियो । भारतले लामो समयपछि नेपालका प्रधानमन्त्रीलाई राजकीय सम्मान दिएको हो ।
विमानस्थलबाट प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिको विशेष अतिथिका रूपमा आवासको व्यवस्था मिलाइएको राष्ट्रपति भवनमा राजकीय पाहुनाका रूपमा बसेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन् । दाहालका अनुसार प्रधानमन्त्री ओली बसेको राष्ट्रपति भवनमा भारतका साथै नेपालको झन्डा फहराइएको छ । सन् १९९० पछि भारतले दोस्रो पटक नेपालका प्रधानमन्त्री ओलीलाई राजकीय भ्रमणमा निमन्त्रणा गरेको हो ।
प्रधानमन्त्री ओली बिहीबार साँझ नै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रजातन्त्र दिवसको उपलक्ष्यमा दूतावासमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएको दाहालले जनाएका छन् ।
राजकीय भ्रमणमा दिल्ली प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सभामुख ओनसरी घर्ती मगरसहितका विशिष्ट अधिकारीहरूले बिदाइ गरेका थिए । बिदाइका लागि उपप्रधानमन्त्री, मन्त्रीसहित सरकारी उच्च अधिकारी र सुरक्षा प्रमुख तथा उच्च अधिकारी विमानस्थल पुगेका थिए ।
कुनै निश्चित एजेन्डा नभए पनि राजकीय भ्रमणका क्रममा पछिल्लो समयमा चिसिएको सम्बन्धलाई पुनर्जीवित गरी सुमधुर बनाउनुका साथै द्विपक्षीय पारस्पारिक हित र विकासबारे छलफल हुने जानकारी प्रधानमन्त्री ओलीले दिइसकेका छन् । भ्रमणमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र स्वाभिमानमा आँच आउने कुनै काम नहुने र राष्ट्रहितविपरीत विवादास्पद सम्झौता नगर्ने उद्घोषसमेत प्रधानमन्त्रीले गरिसकेका छन् । नेपाल दुई छिमेकीबिचको सम्बन्धलाई उत्तिकै सुमधुर बनाउने पक्षमा रहेको उल्लेख गर्दै एकअर्काविरुद्ध पक्ष र विपक्षमा कार्ड प्रयोग नगर्ने स्पष्ट सन्देशसमेत प्रधानमन्त्रीले दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज (शनिबार) भारतीय सम्मान ग्रहण गर्ने भएका छन् । आज प्रधानमन्त्री ओलीले राष्ट्रपति भवनमा भारत सरकारको तर्फबाट दिइने सम्मान ग्रहण गर्नुका साथै हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।
छलफल द्विपक्षीय हित, नेपाल र भारतबिचको सम्बन्ध, आर्थिक, सामाजिक र राजनीतिक विषयमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही अवसरमा प्रधानमन्त्री ओली र मोदीले संयुक्त रूपमा भारतले नेपाललाई दिन लागेको थप ८० मेगावाट बिजुली रिमोट कन्ट्रोल स्विच अन गरी शुभारम्भ गर्ने कार्यक्रम छ ।
शनिबार नै प्रधामन्त्री ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मोहमद हमिद अन्सारी, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टी (भाजपा), विपक्षी कंग्रेस आई नेता तथा संसद्मा रहेका अन्य साना दलका नेतासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । शनिबार नै प्रधानमन्त्रीले साप्रु हाउसमा हुने भारतीय विश्व मामिला परिषद् तथा व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् भने भारतीय मिडिया र नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज । तस्बिर ः भारतीय विदेश मन्त्रालय

भ्रमणकै क्रममा ओलीले उत्तराखण्डको टेरी जलविद्युत् आयोजना स्थलको स्थलगत अवलोकन भ्रमण गर्नुका साथै भूकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको गुजरात जाने कार्यक्रमसमेत तय गरिएको छ । निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्रीले ११ फागुनमा गुजरातको भुज क्षेत्र भ्रमण गर्नेछन् ।
नेपाल वायुसेवा निगमको जहाजबाट शुक्रबार ३ बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओली १२ फागुनको साँझ काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी छन् । भ्रमण दलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित एमाले प्रमुख सचेतक भानुभक्त ढकाल, एमाओवादी प्रमुख सचेतक हितराज पाण्डे, एमाले सांसद डा. राजन भट्टराई, फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव र नेपाल सद्भावना पार्टीका सांसद डिम्पल झा सहभागी छन् ।
भ्रमण दलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोदकुमार सिंह (दाहाल), प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी, अर्थ सचिव लोकदर्शन रेग्मी नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णप्रसाद ढकाललगायत छन् । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघबाट अध्यक्ष नरेन्द्र बस्न्यात, नेपाल चेम्बर अफ कमर्सबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघबाट अध्यक्ष सुरेशकुमार प्रधानसहितको टोली आफ्नो निजी खर्चमा भ्रमण दलमा सहभागी भएको छ । भ्रमण दलमा सामेल काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का र नेतृ सुजाता कोइराला भने दिल्ली गएनन् ।
http://rajdhani.com.np/article/0840528001455937167

व्यस्त शनिबार

 बिहान १० बजे राष्ट्रपति भवन पुग्ने
 भारतीय सेनाले गार्ड अफ अनर अर्पण
 १०ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा चढाउने
 ११ बजे भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजसित भेटवार्ता
 १२ बजे हैदराबाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता
 १ बजे सम्झौता आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन
 ४ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता
 ४ः४५ बजे भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ता
 ५ः३० बजे भारतीय उपराष्ट्रपतिसँग भेटवार्ता
 साँझ ७ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता

No comments: