Sunday, February 14, 2016

बल्ल आइपुग्यो, बिजुलीको मिटर


राजधानी समाचारदाता
काठमाडौं, १ फागुन
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भण्डार हेटांैडामा बल्ल बिजुली मिटर आइपुगेको छ । नाकाबन्दीका कारण अड्किएको १ लाख ३० हजार मिटर बल्ल आइपुगेको हो । विद्युत् प्राधिकरणले उपलब्ध गराउन नसक्दा सर्वसाधारणले बिजुली मिटरको चरम अभाव भोग्नुपरेको थियो भने एउटा मिटर पाउनका लागि सोर्सफोर्स नै लाउनुपर्ने अवस्थाको सिर्जना भएको थियो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बिजुली मिटर उपलब्ध गराउनका लागि समस्या भएकामा मिटर आइपुगेपछि केही सहज हुने बताए । ‘नाकाबन्दीका कारण नाकामा मिटर रोकिएर केही असहज भएको थियो तर अहिले आएपछि अब वितरण गर्छौ ।’ उनले भने, ‘अब कुन क्षेत्रमा कति मिटर पठाउने भनेर तत्काल निर्णय गरी बिजुली मिटर वितरणमा सहजता अपनाउँछौं ।’ उनका अनुसार, बिजुली मिटर अभाव हुन नदिन प्राधिकरणले थप ५ लाख मिटर खरिद गर्ने उद्देश्यसहित बोलपत्र आह्वानसमेत गरिसकेको छ । हाल ५ लाखकै हाराहारीमा बिजुली मिटरको माग छ ।
मिटर अभावका कारणले आफ्नो नयाँ घरमा मिटर जडानका लागि निवेदन लिएर जाने ग्राहक रित्तो हात फर्कनुपर्ने अवस्था छ । विशेष गरी भूकम्पका कारणले धेरै घर क्षति भएपछि अधिकांश मिटर नपाउँदा अन्धकारमा बस्नुपर्ने बाध्यतामा छन् । सर्वसाधारणले बिजुली मिटरका लागि पटकपटक धाएर दुःख पाउन थालेपछि कतिपय प्राधिकरणका शाखाहरूले सार्वजनिक सूचना नै जारी गरेर मिटर नभएको जानकारीसमेत दिएका छन् । केहीअघि विद्युत् प्राधिकरणमा गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा उच्चस्तरका कर्मचारीहरू परेपछि समयमै मिटर खरिद नगर्दा त्यसपछि ग्राहकले हालसम्म सर्वसुलभ रूपमा मिटर पाउन सकेका छैनन् । प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका अनुसार २९ लाख ग्राहक छन् ।
प्राधिकरणले विराटनगर, काठमाडौं, जनकपुर, बुटवल, नेपालगन्ज, पोखरा, हेटौंडा र अत्तरिया क्षेत्रीय कार्यालयमार्फत वितरण केन्द्रहरूमा मिटर पु¥याउने गरिन्छ । विद्युत् प्राधिकरणले कुन क्षेत्रलाई कति बाँड्ने भन्ने निर्णय गर्न ढिलाइ गरेमा केन्द्रीय भण्डारमा मिटर भए पनि उपभोक्ताले पाउन हप्तांै लाग्ने प्राधिकरणका एक अधिकारीले जानकारी दिए । ‘मिटर त छ तर त्यसको वितरणको निर्णय समयमै नभएपछि अझै धेरै समय कुर्नुपर्छ, सम्बन्धित क्षेत्रीय कार्यालय हुँदै वितरण केन्द्रमा पु¥याउनसमेत समय लाग्छ,’ उनले भने । 
http://rajdhani.com.np/article/0756653001455415545

No comments: