Monday, February 15, 2016

भारतबाट बिहीबारदेखि ८० मेगावाट बिजुली

प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा स्विच अन गरिँदै

भीम गौतम / राजधानी
काठमाडौं, २ फागुन
आगामी ६ फागुन (बिहीबार) देखि भारतबाट ८० मेगावाट विद्युत् आयात गर्ने निश्चित भएको छ । सुरुमा विद्युत्को मूल्य महँगो पर्न गई निर्णयमा ढिलाइ भइरहेकाबेला नेपाल विद्युत् प्राधिकरण र भारतीय अधिकारीबिच आइतबारको छलफलले बिहीबारदेखि विद्युत् आयात गर्ने निश्चित भएको हो ।
भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को प्लान्टबाट व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बाट ४ फागुनदेखि विद्युत् आयात गर्ने सम्झौता १५ पुसमा भएकामा मूल्य धेरै भएपछि यसबारे स्पष्ट निर्णय हुन सकेको थिएन ।
कम्पनीका अधिकारीहरूले प्रतियुनिट ५ भारतीय रुपैयाँ (आईसी) तथा १० प्रतिशत सेल्स र लस चार्जसमेत लाग्ने बताएपछि विद्युत् प्राधिकरणले भारतबाट ल्याउन लागेको विद्युत् महँगो ठहर गर्दै ऊर्जा मन्त्रालयलाई जानकारी दिएकामा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पावर ट्रेड कम्पनी (पीटीसी) कै दरमा विद्युत् आयातको व्यवस्था मिलाउन भारतीय सरकारलाई पत्र पठाएको थियो । हाल विद्युत् प्राधिकरणले पीटीसीमार्फत प्रतियुनिट ३ दशमलव ४४ आईसीमा भारतबाट विद्युत् आयात गर्दै आएको छ ।
भारतीय सरकार पीटीसीकै दरमा विद्युत् आयात गर्न सहमत भएपछि विद्युत् आयात गर्ने पक्का भएको छ । ‘पीटीसीकै रेटमा विद्युत् दिन भारतीय अधिकारीहरू तयार भएपछि १८ फेबु्रअरी अर्थात् ६ फागुनदेखि आयात गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढेको छ,’ विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजीव शर्माले राजधानीसँग भने ।
प्राधिकरण र एनभीभीएनका अधिकारीबिच सोमबार औपचारिक हस्ताक्षर भएपछि यसको आवश्यकताको आधारमा प्राधिकरणका कार्यकारी
निर्देशक, सञ्चालक समिति वा त्योभन्दा माथिको निकायबाट स्वीकृत भएपछि प्रक्रिया अघि बढ्ने छ । विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीका अनुसार भारतीय कम्पनीबाट विद्युत् आयात गर्ने तय भएपछि ढल्केबर–मुजफपुर नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनमा ४८ घन्टा परीक्षण गर्नुपर्नेछ ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार आगामी ७ फागुनमा भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ८ फागुनमा हैदरावाद हाउसमा हुने औपचारिक वार्ताकै अवसरमा रिमोट कन्ट्रोलबाट स्विच अन गरी विद्युत् आयातको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।
यसबारे भारतीय पक्षले प्रस्ताव गरिसकेको छ भने नेपालबाट स्पष्ट निर्णय हुन बाँकी छ । ऊर्जा सचिव सुमनप्रसाद शर्माले प्रस्ताव आएको र यसबारे सकारात्मक रहेको बताए । गत १५ पुसमा दुई देशबिच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयन प्रयोजनका लागि गठित सचिवस्तरीय संयन्त्रको बैठकमा एनटीपीसीबाट आयात गर्दा महँगो पर्ने देखिएपछि विद्युत् प्राधिकरणका अधिकारीहरूले भारतकै पीटीसीसँग आग्रह गरेका थिए ।
पीटीसीले २ फेब्रुअरी अर्थात् १९ माघमा आफूहरू विद्युत् दिन तयार रहेको पत्र विद्युत् प्राधिकरणलाई पठाएका थिए तर फेरि दुई दिनपछि २१ माघमा विद्युत् दिन नसक्ने पत्र पठाएका थिए । त्यसपछि यो विषय मन्त्रालयबाट टुंग्याउनुपर्ने भन्दै ऊर्जा मन्त्रालयका अधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई यसबारे थप कुरा गर्न अनुरोध गरेपछि उनको भारतको भ्रमणमा समेत यसबारे छलफल भएको थियो । अर्थमन्त्रीका साथै सरकारले आधिकारिक रूपमा परराष्ट्र मन्त्रालयमार्फत पीटीसीकै मूल्यमा विद्युत् आयातको माग गरेपछि थर्मल प्लान्टबाटै सो मूल्यमा विद्युत् दिन उनीहरू तयार भएका हुन् । थर्मल प्लान्टले सेल्स र चुहावट भन्दै सम्झौताभन्दा १० प्रतिशत कम अर्थात् ८ मेगावाट कम विद्युत् आउने व्यापारी कम्पनी एनभीभीएनका अधिकारीहरूले बताएकामा पछिल्लो सम्झौताअनुसार ढल्केबरसम्मको मूल्य पीटीसीकै कायम गरिएको प्राधिकरणले जनाएको छ ।
विद्युत् प्राधिकरणले ८० मेगावाट विद्युत् आयातका लागि प्रसारण लाइन प्रयोग गरेबापत प्रतिवर्ष १ अर्ब ५ करोडबराबरको रकम ह्विलिङ चार्जमार्फत बुझाउनुपर्छ । प्राधिकरणका एक अधिकारीका अनुसार ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइनबाट अधिकतम् विद्युत् ल्याउँदा पनि त्यति नै ह्विलिङ चार्ज लाग्ने भएकाले हाल ८० मेगावाट ल्याउँदा थप प्रतियुनिट १ रुपैयाँ ४२ पैसा पर्नेछ । पहिला चुहावटबाहेक १० रुपैयाँ प्रतियुनिट परेकामा अब भने प्रतियुनिट ६ रुपैयाँ ९२ पैसा पर्नेछ । हाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेको २ सय ३५ मेगावाटमध्ये ३० मेगावाट पीटीसीमार्फत खरिद गर्दै आएको छ ।
http://rajdhani.com.np/article/0661602001455502039

No comments: