Thursday, August 8, 2013

ट्रान्सफर्मर खरिदमा यादव मुख्य दोषी हिरासतमा लिने अख्तियारको तयारी

डिल्ली आचार्य, भीम गौतम\राजधानी 
काठमाडौं, २४ साउन
ट्रान्सफर्मर खरिद घोटाला प्रकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको समेत प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई तत्काल हिरासतमा लिने तयारी भइरहेको जनाएको छ । अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा यादव ‘प्रत्यक्ष दोषी देखिएका’ले हिरासतमा लिएर कारबाही अघि बढाइने जनाएको हो ।
गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणका तल्ला स्तरका कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले तिनै कर्मचारीको बयान र उपलब्ध गराएको कागजातका आधारमा कार्यकारी निर्देशक यादव मुख्य दोषी पाइएको ठहर गरेको हो । ‘हिरासतमा लिइएका कर्मचारी र ठेकेदारको बयान र उनीहरूले उपलब्ध गराएको काजगातका आधारमा यादवको रकम भुक्तानीलगायतका कार्यमा प्रत्यक्ष संलग्नता देखिएको पाइएकाले उनलाई तत्काल नियन्त्रणमा लिने तयारी भएको छ,’ अख्तियार उच्च स्रोतले राजधानीसँग भन्यो ।
स्रोतका अनुसार २०६७÷६८ मा हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेड चीनमार्फत खरिद गरिएका ट्रान्सफर्मरहरूको भुक्तानी दिने कार्यमा तत्कालीन ग्राहक तथा वितरण शाखाका प्रबन्धक रहेका यादवको प्रत्यक्ष संलग्नता भेटिएको छ । राजधानीलाई प्राप्त गोप्य दस्तावेजअनुसार हुवेईलाई प्राधिकरणमार्फत तिर्नुपर्ने १ लाख ६० हजार २ सय डलर अर्थात् ११ करोड ५१ लाख ४४ हजार रुपैयाँमध्ये यादवकै स्वीकृतिमा १० करोड ८७ लाख २२ हजार भुक्तानी गरिएको उल्लेख छ । सो रकम यादवले दुई चरणमा गरी हुवेईलाई भुक्तानी गर्न स्वीकृति दिएका थिए । उनले चरणबद्ध रूपमा भुक्तानी सिफारिस गरे पनि उन्मुक्ति पाउँदै आएका थिए । यादवपछि आएका तत्कालीन महाप्रबन्धक चिरञ्जीवी शर्माले ६४ लाख २० हजार रुपैयाँ भुक्तानी दिएका थिए ।
दुवैले रकम भुक्तानीको मेमोमा समेत स्वीकृति दिएको उल्लेख छ । हुवेईमार्फत ल्याइएको ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका अधिकांशलाई अख्तियारले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।अख्तियारले ट्रान्सफर्मर घोटालामा मुछिएका प्राधिकरणका सुरेन्द्रप्रसाद पनेरू, मदनराज चापागाईं, कैलाशकुमार अटल, शेखर दत्त, सिन्धु यादव, हरिशबहादुर पाल, प्रज्वल पाण्डे, भरत रूपाखेती, सुरेन्द्रराज जोशी, सुरेशकुमार कटुवाल, नारायण चौधरी र सरोज श्रेष्ठलाई हिरासतमा राखेर कारबाही गरिरहेको छ ।
त्यसैगरी, ठेकेदार कम्पनी हुवेईका यु झेङ कुइङ र जोउ उ तियान पनि हिरासतमा छन् । ट्रान्सफर्मरको निरीक्षणमा जाने, भण्डारण गर्ने, यादव र शर्माको आदेशमा भुक्तानी दिने कर्मचारीलाई अख्तियारले पक्राउ गरी हिरासतमा राखेर कारबाही गरे पनि दोषी देखिएका यादव र पूर्वमहाप्रबन्धक शर्मालाई भने उन्मुक्ति दिँदै आएको थियो । दस्तावेजले उनीहरूलाई नै मुख्य दोषी देखाएपछि हिरासतमा लिने निष्कर्षमा अख्तियार पुगेको हो ।

No comments: