डिल्ली आचार्य, भीम गौतम\राजधानी
काठमाडौ, ४ भदौ
ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको
भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका
कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० उच्च अधिकारीलाई पक्राउ गरेको छ ।
प्राधिकरणले २०६७÷०६८ मा चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीबाट दुई
लटमा खरिद गरेको १ हजार २ सय ६० ओटा गुणस्तरहीन ट्रान्सफर्मरमा घोटाला गरी
गैरकानुनी लाभ लिएको भन्दै मंगलबार अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको
हो । नियन्त्रणमा लिएलगत्तै उनीहरू सबैलाई सिंहदरबार प्रहरी प्रभागमा
पठाइएको अख्तियारले जनाएको छ ।
घोटाला प्रकरणमा अख्तियारले प्राधिकरणका
पूर्वकार्यकारी निर्देशक डा. जिवेन्द्र झा, पूर्वनिमित्त कार्यकारी
निर्देशक टीकाराम बीसी, पूर्वमहाप्रबन्धक चिरन्जीवी शर्मा र तनहुँ
हाइड्रोपावरका आयोजना प्रमुख महेशप्रसाद आचार्यलाई पक्राउ गरी हिरासतमा
राखेको छ । ग्रिड विभागका निर्देशक देव शर्मा पौडेल, ग्राहक तथा वितरण
जिन्सी व्यवस्थापन महाशाखाका प्रबन्धक कृष्णबहादुर थापा, उपनिर्देशक
कृष्णबहादुर केसी, तत्कालीन काठमाडौं सुदृढीकरण आयोजनाका निमित्त प्रमुख
प्रमोद रिजाल र वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशील खनाललाई पनि
पक्राउ गरी हिरासतमा लिएको छ ।
कार्यकारी निर्देशक यादव तत्कालीन ग्राहक
तथा वितरण सेवाको महाप्रबन्धक हुँदा उनको स्वीकृतिमा प्राधिकरणमार्फत
तिर्नुपर्ने ११ करोड ५१ लाख ४४ हजार रूपैयाँ भुक्तानी गरिएको थियो । सो रकम
कुल भुक्तानी गर्नुपर्ने रकमको ९० प्रतिशत भने बाँकी १० प्रतिशत अर्थात्
६४ लाख २० हजार रूपैयाँ तत्कालीन महाप्रबन्धक शर्माको स्वीकृतिमा भुक्तानी
गरिएको थियो । २१ चैत २०६५ देखि २२ पुस २०६८ सम्म महाप्रबन्धक बनेका यादव
१० वैशाख २०६८ सम्म निमित्त कार्यकारी निर्देशक थिए । उनी २०६९ मंसिरमा
खुला प्रतिस्पर्धामार्फत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए ।
पूर्वकार्यकारी निर्देशक झा भने २०६६ साल साउनदेखि २०६८ वैशाखसम्म
प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यसैगरी, बीसी २०६८ पुसदेखि
२०६९ जेठसम्म कार्यकारी निर्देशक बनेका थिए । विश्व बैंकको सहयोगमा खरिद
गरिएको हुवेईको ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएको
थियो ।
यसअघि हुवेईमार्फत नै खरिद गरिएका
ट्रान्सफर्मर खरिद प्रकरणमा हुवेईका दुई चिनियाँ प्रतिनिधिसहित प्राधिकरणका
१४ कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कार्यकारी
निर्देशकसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
पूर्वसञ्चालकद्वय मुकेश काफ्ले र डा. केपी दुलालको छुट्टाछुट्टै
प्रतिवेदनले २०६३ देखि २०६८ सम्ममा विभिन्न मुलुकबाट ४ हजार ६ सय ५७ थान
ट्रान्सफर्मर गुणस्तरहीन देखिएको उल्लेख छ ।
अर्का पूर्वसञ्चालक सदस्य मोहनराज पन्तको
संयोजकत्वमा रहेको समितिले कार्यकारी निर्देशक यादवसहित ३३ जना कार्यरत र
पूर्वप्राधिकरण कर्मचारीलाई ट्रान्सफर्मर प्रकरणमा दोषी देखाएको थियो ।
प्राधिकरणमार्फत सहवन्त इलेक्ट्रिक कम्पनी लिमिटेड (थाइल्यान्ड), जेके
होल्डिङ र सेनयाङ डोङजेङ इलेक्ट्रिसिटी इक्युपमेन्ट कम्पनी लिमिटेड (चीन),
एसभीआर इलेक्ट्रिक प्रालि (भारत), निग्वो एयूएक्स हाइटेक्नोलोजी कम्पनी
लिमिटेड (चीन) लगायतबाट खरिद गरिएका ट्रान्सफर्मरहरू गुणस्तरहीन भएको
काफ्ले र दुलालले प्रतिवेदन दिएका छन् । अख्तियारले त्यो प्रकरणमा समेत
उनीहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
http://www.rajdhani.com.np/en/component/content/article/40-2013-01-07-17-38-33/13271------
No comments:
Post a Comment