राजधानी समाचारदाता
काठमाडौं, २३ साउन
‘जलविद्युत् विकासको गतिमा तीव्रता’ भन्ने मूल नाराका साथ आगामी १० र ११ भदौ काठमाडौंमा हुन लागेको ऊर्जा सम्मेलन २०१३ मा चार मुख्य एजेन्डामा आधारित भएर छलफल गरिने भएको छ । ऊर्जा मन्त्रालय र लगानी बोर्डको संरक्षकत्वमा तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान), पावर ट्रेकिङ कर्पोरेसन अफ इन्डिया र गैरआवासीय नेपाली संघ (एनआरएन) को संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा मुख्य चार एजेन्डामा आधारित भएर छलफल गर्न लागिएको हो ।
इप्पानका अनुसार आन्तरिक खपतका आयोजना र आन्तरिक लगानी, अन्तरिक खपतका आयोजना र विदेशी लगानी, बाह्य बजार केन्द्रित आयोजना र विदेशी लगानी तथा विद्युतीय ऊर्जाको बजार र बजार व्यवस्थापनका उपायलगायतका एजेन्डामा छलफल हुने बताइएको छ । नेपालमा जलविद्युत् विकासमा रहेका कानुनी सुधारका पाटाहरू र विभिन्न मन्त्रालयमातहतका कानुनहरू बीचको सामान्जस्यता, प्रक्षेपित आर्थिक वृद्धि हासिल गर्न वास्तविक ऊर्जाको माग र आपूर्तिबीचको तादाम्यता, आयोजनामा आधारित लगानी, जलविद्युत् विकासमा प्रसारण लाइनको अपरिहार्यता र विकासको मोडेल, लगानी मैत्री वातावरणलगायतका विषयमा समेत सम्मेलनमा छलफल हुने इप्पानले जनाएको छ ।
सम्मेलनमा नेपाललगायत भारत, चीन, कोरिया, रसिया, जापान, नर्वे, चेख रिपब्लिक, क्यानाडा, यूएसका लगानीकर्ता, आपूर्तिकर्ता, परामर्शदाताहरू, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, विदेशी कूटनीटिक नियोगका प्रतिनिधिका साथै सरोकारवाला निकायको प्रतिनिधि गरी ५ सय सहभागी हुन लागेको इप्पानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले जानकारी दिए । ‘विगतमा इप्पानले आयोजना गरेको तीनओटा सम्मेलनले निजी क्षेत्रको ऊर्जामा सहभागिता बढाउन सहयोग ग¥यो,’ उनले भने । उनका अनुसार पछिल्ला सात वर्षमा १८० मेगावाट विद्युत् उत्पादन भएकामा निजी क्षेत्रबाट मात्र ११० मेगावाट उत्पादन भएको छ । एनआरएनका प्रतिनिधि टेन्डी शेर्पाले सम्मेलनले विदेशमा रहेका नेपालीको लगानी आकर्षणका लागि सहयोग गर्ने बताए ।
आगामी संविधानसभाको निर्वाचनमा यस सम्मेलनको निचोडले सम्पूर्ण राजनीतिक दलहरू एवं नागरिक समाजलाई जलविद्युत् विकासमा एकीकृत रणनीति र कार्यदिशा तयार गर्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । त्यसैगरी, ऊर्जा सम्मेलन सक्ने बित्तिक्कै नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनीले १२ र १३ भदौमा काठमाडौंमै जलविद्युत् लगानी बैठकको आयोजना गर्न लागेको छ । लगानीकर्तालाई जमघट गराएर कम्पनीले लगानी बैठकको आयोजना गर्न लागेको हो ।
No comments:
Post a Comment