Sunday, August 4, 2013

१६ महिनापछि कुलेखानी तेस्रोमा परामर्शदाता


भीम गौतम\राजधानी
 काठमाडौं, १९ साउन
१६ महिनापछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा परामर्शदाता छनोट भई परामर्शदाताको टोली आयोजनास्थल पुगेको छ । विवादका कारण नेपाल विद्युत् प्राधिकरणले कुलेखानी तेस्रोमा परामर्शदाताका रूपमा काम गरिरहेको डब्लूआरसी हेड र सिल्डलाई कालोसूचीमा राखेपछि आयोजना परामर्शदाताविहीन बनेको थियो । हाल प्राधिकरणकै पूर्वकर्मचारी नियाज अहमदले नेतृत्वमा रहेको टोलीले परामर्शदाताका रूपमा काम गर्दै आएका छन् ।
प्रतिस्पर्धाका आधारमा वाकपोसलाई परामर्शदाताका रूपमा छनोट गरेपछि परामर्शदाता कम्पनीका अधिकारीहरू आयोजनास्थल पुगिसकेको आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सम्झौताअनुसार परामर्शदाता आयोजना नियुक्ति गर्नैपर्ने व्यवस्था भए पनि हुन सकेको थिएन । १६ महिनापछि नियुक्त भएर परामर्शदाताका अधिकारीले काम थालेका छन्,’ प्रमुख मल्लले भने, ‘अब आयोजनालाई काम अघि बढाउनका लागि सहयोग पुग्नेछ ।’ प्राधिकरणले ८ करोड ९० लाख रुपैयाँ दिने गरी वाकपोस (भारत) लाई परामर्शदाताका रूपमा नियुक्त गरेको हो । परामर्शदाताका लागि वाकपोस, डाटा र स्मेक प्रतिस्पर्धामा थिए ।
आयोजनाको निर्माण सम्पन्न गर्न अब १४ महिना मात्र बाँकी छ । परामर्शदाताको अभावमा ठेकेदार कम्पनी सिनो हाइड्रोले दाबी गरेको रकमबारे आयोजनाले पक्रियासमेत अघि बढाउन सकेको छैन । ठेकेदार कम्पनीले ६६ करोड दाबी गर्दै ६ महिना समय थप्न माग गरेको छ तर आयोजनाले उसको दाबीबारे प्रक्रिया अघि बढाउन सकेको छैन । ‘अब परामर्शदाता आइसकेकाले दाबीलगायतबारे पनि प्रक्रिया अघि बढ्छ,’ उनले भने । कालोसूचीमा रहेको परामर्शदाता कम्पनीहरूले ४४ महिनामा करिब ४२ सय मिटर सुरुङमध्ये ३० प्रतिशत मात्र काम पूरा गरेकामा त्यसपछि भने आयोजनाको सुरुङको ब्रेक थ्रु भइसकेको छ । २१ मंसिर २०६८ मा निर्माण सम्पन्न गर्नुपर्ने सो आयोजनाका लागि चिनिया“ पक्षले थप समयको माग गरेपछि प्राधिकरणले थप आठ महिना समय थपेकोे थियो ।
पछि मूल्यवृद्धिले लागतमा वृद्धि, बन्द, हड्तालको समस्यालगायत सोही वर्षको २५ पुसमा एकतर्फी सम्झौता तोडेको थियो । सम्झौता तोडेपछि धरौटी जफत बचाउका लागि कम्पनीले पुनरावेदन अदालतमा मुद्दा दायर गरेकामा दुवै पक्षबीचको सहमतिपछि ३० महिना थप्ने गरी आयोजनामा काम गरिरहेको सिनो हाइड्रो सोही वर्षको फागुनमा काममा फर्केको थियो । त्यसपछि अहमदको टोलीले परामर्शदाताको काम गरिरहेको थियो । नयाँ परामर्शदाता टोली आएपछि पछिल्लो समयमा विनाअवरोध आयोजनाको काम अघि बढिरहेको कुलेखानी तेस्रोको काम द्रूतगतिमा अघि बढ्ने आशा आयोजनाको छ ।
http://www.rajdhani.com.np/en/business/12354-----

No comments: