भीम गौतम\राजधानी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएका पाँच कर्मचारी र ठेकेदार कम्पनीका दुई प्रतिनिधिलाई पक्राउ गरेको छ । आयोगले आइतबार पाँच कर्मचारी र दुई ठेकेदार प्रतिनिधिलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको हो । २०६४ सालदेखि २०६८ सालसम्म खरिद गरिएका करिब ७ अर्ब रुपैयाँ बराबरका ४ हजार ६ सय ट्रान्सफर्मर गुणस्तरहीन भएको र सो खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन गरेको थियो । प्राधिकरणद्वारा आव ०६७÷०६८ मा हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी चीनमार्फत खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएकालाई अख्तियारले हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको हो ।
ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका उनीहरूसँग यसअघि अख्तियारले पहिलो चरणको बयान लिइसके पनि अहिले भने हिरासतमै लिएर अनुसन्धान अघि बढाएको छ । यस प्रकरणमा दोषी देखिएका अन्य कर्मचारी तथा कम्पनीका अधिकारीहरूलाई समेत हिरासतमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाउन लागिएको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्राधिकरणका सहायक प्रबन्धकद्वय सुरेन्द्रप्रसाद पनेरू र मदनराज चापागाईं, सह–निर्देशक हरिशबहादुर पाल, इन्जिनियर प्रज्ज्वल पाण्डे र भण्डार प्रमुख भरत रूपाखेतीलाई आइतबार हिरासतमा लिइएको छ । त्यसैगरी, ठेकेदार कम्पनी हुवेईका यु झेङ कुइङ र जोउ ऊ तियानलाई पनि हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । चिनियाँ नागरिकद्वयलाई थापाथलीबाट तथा प्राधिकरणका पाँच कर्मचारीलाई प्राधिकरण र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिएर हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।
हुवेईमार्फत प्राधिकरणले दुई पटकमा १६ लाख २ हजार डलरमा १ हजार २ सय ६० ओटा ट्रान्सफर्मर खरिद गरेको थियो । १४ भदौ २०६९ मा हुवेईमार्फत ल्याइएका ट्रान्सफर्मर लैनचौरस्थित वर्कसपमा परीक्षण गर्ने क्रममा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि ट्रान्सफर्मर प्रकरण चर्किएको हो । त्यसपछि प्राधिकरणका तत्कालीन सञ्चालकद्वय मुकेश काङ्खले र डा.केपी दुलालका दुई छुट्टाछुट्टै प्रतिवेदनले २०६४ सालपछि खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन देखाएको थियो । सो प्रतिवेदनअनुसार थप परीक्षण भएपछि भ्रष्टाचार छताछुल्ल भएको हो ।
गुणस्तरहीन ट्रान्सफर्मरको कारणबाट प्राविधिक चुहावट बढ्न गई बर्सेनि करिब २ अर्ब घाटा बेहोर्नुपरेको प्राधिकरण स्रोतले जनाएको छ । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीहरूबारे छानबिन गर्न प्राधिकरणले गठन गरेको तत्कालीन प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्तको प्रतिवेदनले तत्कालीन प्राधिकरण प्रमुख महेन्द्रलाल श्रेष्ठ, अहिलेका प्रमुख रामेश्वर यादवसहित ३३ कर्मचारीहरू दोषी रहेको प्रतिवेदन दिएको थियो । तर, अख्तियारले अनुसन्धानका क्रममा ट्रान्सफर्मरको भुक्तानीमा संलग्न भएको भन्दै थप कर्मचारीहरूसँग पनि बयान लिएको छ ।
प्राधिकरण स्रोतका अनुसार भुक्तानीमा संलग्न निर्देशक अर्जुनकुमार चौहान, लेखापाल बिर्खबहादुर विष्ट, लेखा अधिकृत सुशील खनाल, सह–निर्देशक योगेन्द्रप्रसाद वैद्य लगायतसँग पनि बयान लिइसकेको छ । उनीहरू पन्त प्रतिवेदनमा दोषी थिएनन् । अख्तियारले हालका प्राधिकरण प्रमुख यादवसहित उपकार्यकारी निर्देशक उपेन्द्रदेव भट्टका साथै पूर्वकार्यकारी निर्देशक डा.जीवेन्द्र झा, दीपेन्द्रनाथ शर्मा, टीकाराम बीसी तथा पूर्वमहाप्रबन्धकहरू चिरञ्जीवी शर्मा, गणेशप्रसाद राज, युगलकिशोर शाहसँग पनि बयान लिइसकेको छ । प्राधिकरण स्रोतका अनुसार प्रकरणमा मुछिएका प्राधिकरणका पुष्पराज खड्का, विजयकुमार चौधरी, हरिबहादुर गोसी, कैलाशकुमार अटल, नवराज ओझा, सतीशकुमार कर्र्ण, मनोज बराल, विकासबहादुर रघुवंशी, राधेश्याम महतो, नवीनकुमार लाभ, विद्युत् पौडेल, सुरजप्रसाद शाह, निमेÈ पोखरेल, विनोदकुमार स्वर्णकार, रामविजुल मण्डल, सिन्धु यादव, शेखरकुमार दत्त, सुरेन्द्रराज जोशी, अभिÈेक अधिकारी, बोधराज ढकालसँग समेत टान्सफर्मर खरिदमा भएको भ्रष्टाचारबारे बयान लिइसकेको छ ।
‘प्राधिकरण प्रमुखसहित ट्रान्सफर्मर प्रकरणमा मुछिएका कर्मचारीहरूस“ग बयान लिइरहेको छ,’ अख्तियारका प्रवक्ता सापकोटाले राजधानीसँग भने । प्राधिकरण आफैंले अनुसन्धान गरेर कर्मचारीहरूलाई कारबाही प्रक्रिया सुस्त गतिमा अघि बढाइरहेका बेला प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भएर आएपछि मुख्यसचिव लीलामणि पौडेलले ६ महिना थप अनुसन्धानका लागि अख्तियारमा पठाएका थिए । ‘अख्तियारले कर्मचारीहरूलाई हिरासतमै लिएर कारबाही सुरु गर्नुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ प्राधिकरणका तत्कालीन सञ्चालक सदस्य पन्तले भने । अर्का सञ्चालक दुलालले ट्रान्सफर्मरको कारणले प्राधिकरणले अर्बौं घाटा बेहोर्नु परिरहेका बेला अख्तियारले सुरुआत गरेको कारबाहीले गलत गर्नेलाई कारबाही हुन्छ भन्ने सन्देश दिएको बताए ।
अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका कर्मचारी र खरिद गरिएका कम्पनीका अधिकारीहरूलाई हिरासतमा लिएर कारबाही सुरु गरे पनि ती कम्पनीहरू र ती कम्पनीका नेपाली एजेन्टहरूलाई भने कुनै कारबाही अघि बढाएको छैन । भारतको एसभीआर इलेक्ट्रिकल्स, थाइल्यान्डको सहवान्त इलेक्ट्रिकका साथै चीनका तीन कम्पनी हुवेई सनलाइट इलेक्ट्रिकल्स, जेके होल्डिङ कम्पनी र साङदोङ इलेक्ट्रिक कम्पनीबाट खरिद गरिएका करिब ५ हजार ट्रान्सफर्मरहरू अध्ययनका क्रममा गुणस्तरहीन देखिएका थिए । अधिकांश ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएर गुणस्तरहीन पत्ता लगाए पनि जेके होल्डिङ कम्पनी लिमिटेड चीनमार्फत खरिद गरिएका ट्रान्सफर्मरमा भने बाहिर र भित्र दुवै आल्मुनियम भेटिएको थियो । आर्थिक वर्ष ०६७÷०६८ मा आयात गरिएका ती ४ सय ७४ ट्रान्सफर्महरूमा बाहिर–भित्र दुवैमा तामा हुनुपर्नेमा आल्मुनियम भेटिएको हो ।
|
Sunday, August 4, 2013
विद्युत् प्राधिकरणका ५ कर्मचारी पक्राउ ठेकेदारका दुई प्रतिनिधि पनि अख्तियारको हिरासतमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment