Saturday, August 24, 2013

ट्रान्सफर्मर खरिद गर्दै प्राधि विश्व बैंकको सहयोगमा ५ सय ट्रान्सफर्मर किन्दै

भीम गौतम\राजधानी 
काठमाडौं, ८ भदौ
दुई वर्षदेखि खरिद हुन नसकेको ट्रान्सफर्मर खरिद प्रक्रिया बल्ल अघि बढेको छ । गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरिएको भन्दै छानबिन सुरु भएपछि दुई वर्षदेखि ट्रान्सफर्मर खरिद नगरेको नेपाल विद्युत् प्राधिकरणले बल्ल खरिद प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका पूर्वसञ्चालकद्वय मुकेश काफ्ले र डा.केपी दुलालको संयोजकत्वमा रहेको समितिले २०६३ देखि २०६८ सम्म ल्याएका ट्रान्सफर्मर गुणस्तरहीन रहेको प्रतिवेदन दिएपछि र अर्का पूर्वसञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले प्राधिकरणका उच्च अधिकारीसहित ३३ जना कर्मचारीहरूलाई दोषी देखाएपछि प्राधिकरणले त्यसपछि ट्रान्सफर्मर खरिद गरेको छैन ।
प्रत्येक वर्ष प्राधिकरणलाई करिब ५ सय ट्रान्सफर्मर आवश्यक पर्छ । प्राधिकरणसँग ट्रान्सफर्मर नभएको र कुनै क्षेत्रमा ट्रान्सफर्मर जलेमा वा पड्केमा सर्वसाधारणलाई अँध्यारोमा राख्नुपर्ने अवस्था सिर्जना भए पनि यो प्रकरण चर्केसँगै व्यवस्थापनले खरिद गर्नेतर्फ चासो दिएको थिएन । पहिला निरीक्षणमा जान प्रतिस्पर्धा चल्ने प्राधिकरणमा अहिले जाने व्यक्ति भेट्नै मुस्किल परेको छ । प्राधिकरणमा ट्रान्सफर्मरको अभावले ठूलो समस्या आउने अवस्था देखिएपछि तीन महिनाभित्रै किन्ने गरी प्रक्रिया अघि बढाइएको ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष उमाकान्त झाले जानकारी दिए ।
‘तीन महिनाभित्र ट्रान्सफर्मर खरिद गरिसक्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेलाई भनिसकेको छु, विश्व बैंकको सहयोगमा ५ सय ट्रान्सफर्मरहरू प्राधिकरणले खरिद गर्न लागेको छ,’ मन्त्री झाले भने । प्राधिकरणले इन्टरनेसनल कन्ट्याक्ट बिडिङ (आईसीबी) को प्रक्रियाद्वारा ट्रान्सफर्मर खरिद गर्न लागेको छ । उनका अनुसार ट्रान्सफर्मर अभाव हुन नदिन बिग्रेर बसेका सबै ट्रान्सफर्मरहरू तुरुन्तै मर्मत गर्नसमेत प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइसकिएको छ । ठूलो समस्या आएमा तत्कालका लागि स्वदेशी कम्पनीबाटै भए पनि ट्रान्सफर्मर खरिद गर्ने लक्ष्य प्राधिकरणको छ ।
ट्रान्सफर्मर निरीक्षणका लागि तेस्रो पक्षको व्यवस्था गरिएको पनि मन्त्री झाले जानकारी दिए । ‘ट्रान्सफर्मर निरीक्षणका लागि इन्जिनियरिङ क्याम्पस पुल्चोक, ऊर्जा मन्त्रालय र प्राधिकरणको प्रतिनिधि सहभागी गराएर तेस्रो पक्षको व्यवस्था गरिएको छ,’ मन्त्री झाले भने । स्वदेशमै ट्रान्सफर्मर परीक्षण गर्ने क्षमतासहितको प्राधिकरणको हेटौंडा वर्कसपलाई समेत आधुनिकीकरण गर्न लागिएको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर प्रकरणमा प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने थप ३० कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ ।
ट्रान्सफर्मर प्रकरण चर्केपछि थप ट्रान्सफर्मर नकिन्दा ट्रान्सफर्मर जल्ने वा पड्कनेबित्तिकै नयाँ ट्रान्सफर्मर नभएकाले भयावह समस्या आउन लागेपछि दुई वर्षदेखि चुपचाप बसेको प्राधिकरण नयाँ किन्न तातेको छ । प्राधिकरण निमित्त कार्यकारी निर्देशकमा घिमिरे प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव ट्रान्सफर्मर प्रकरणमा पक्राउ गरेपछि ऊर्जा मन्त्रालयले वरिष्ठताका आधारमा लवबहादुर घिमिरेलाई निमित्त कार्यकारी निर्देशक तोकेको छ । प्राधिकरणका अध्यक्ष एवं ऊर्जामन्त्री उमाकान्त झाले अर्थ विभागका उपकार्यकारी निर्देशक रहेका घिमिरेलाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन् । घिमिरेले एक महिनापछि अवकाश पाउन लागेका छन् ।

No comments: