Friday, August 23, 2013

‘भोटे’ अघि–अघि, प्रेमपत्र पछि–पछि

सानैदेखि राजनीतिमा रुचि राख्ने संखुवासभा जिल्लाको चेपुवा गाविसका गोबा पासाङ भोटेलाई २०३८÷०३९ सालतिर चुनावमा लड्न उक्साए, गाउँलेले । भर्खर १९ वर्ष पुगेका अल्लारे उनी पनि तम्सिए चुनाव लड्न । गाउँमा भइरुङ दोर्र्जेदेखि रिस उठेकाले उनको विरुद्धमा भर्खरका कलिला भोटेलाई पञ्चायतको बेला गाविसको उपाध्यक्ष उठाउन केही स्थानीय गाउँलेहरूले उचालेका थिए, उनलाई । छाता चुनाव चिह्न लिएर उठेका उनी तीन मतले हारे ।
राजनीति नबुझेका र नजानेका उनलाई कलिलै उमेरमा राजनीतिको नशा लाग्यो । त्यसको लगत्तै २०४२ सालतिर भएको पञ्चायतको चुनावमा भइरुङले माननीयको उम्मेदारवार दिने बताएपछि फेरि भोटेलाई उचाले, गाउँलेहरूले । उनी पनि तम्से चुनाव लड्न तर माननीय पञ्चायत सदस्य चुनाव लड्न २५ वर्ष पुग्नुपर्दथ्यो । उमेर बढाई नागरिक बनाएर भए पनि चुनाव लड्ने उनीहरूले योजना बनाए । उपाध्यक्ष उठेपछि राजनीतिको नशामा रमाएका भोटेलाई पहिलो चुनावको अनुभवले उत्साह थपेको थियो । आफ्नो २५ वर्ष पुगेको भनेर नागरिकता पनि बनाए, भोटेले ।
पहिला उठ्ने हल्ला गरेका भइरुङ उठेनन् तर भोटे भने उठिछाडे । ‘त्यो बेला माननीय उठ्नका लागि १५ सय रुपैयाँ लाग्यो, मलाई पनि उपाध्यक्ष उठेपछि राजनीति भन्ने रमाइलो लागेको थियो, सबैले उठ भने उठिदिएँ,’ उनले अनुभव सुनाए, ‘माननीय चुनाव उठ्ने भनेपछि छुट्टै मज्जा पो हुने रहेछ ।’ अल्लारे युवा भोटेको चुनाव प्रचार–प्रसारको ताल पनि अल्लारे नै थियो । कहिले हाफ कट्टु त, कहिले कस्तो नसुहाउने कपडा लगाएर भोट माग्न हिँड्न थाले । एक दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी मदनप्रसाद अर्यालमा पुगेपछि उनले भोटेलाई सम्झाए, ‘माननीयको चुनाव लड्न लागेको व्यक्ति यस्तो कपडा लगाउने हो र, दौरा, सुरुवाल, कोट, चस्मा लगाएर हिँड्नुपर्छ ।’
त्यसपछि उनले २ सय रुपैयाँमा दौरा, सुरुवाल, कोट सिलाए । उनले चुनाव चिह्न घोडा रोजेका थिए । ३३ जना माननीय उठेको बेला सबैभन्दा कान्छो उमेरका उनै थिए । १६÷१७ वर्षका देखिने उनको विरुद्ध इन्द्रबहादुर समयाङले १४ वर्षको उमेरमा माननीय उठेको भनेर उजुरी हाले तर भोटेले चुनाव प्रचार–प्रसारलाई तीव्रता दिइरहे । उजुरी हालेर केही हुँदैन भनेर उनलाई धेरैले उक्साउँथे, उनी उकासिन्थे । ४०÷५० जना बोकेर उनी संखुवासभाको चुनावी दौडानमा निस्किए । पहिला उनलाई कसैले चिन्दैनथे तर दौरा, सुरुवाल, टोपी र कोटमा सजिएका गहुँगोरा भोट माग्दै आएपछि बूढाबूढी कति कलिलै उमेरमा चुनाव लडेको भनेर भन्थे भने युवायुवतीको त उनी आकर्षणको केन्द्र बनेका थिए ।
यतिसम्म भयो कि युवतीहरूले तिमीलाई माया गर्छु भनेर प्रेमपत्र लेख्न लागे । उनका अनुसार चुनावको प्रचार–प्रसार अवधिभर मात्र उनलाई २५ सयभन्दा बढी प्रेमपत्रहरू आए । अधिकांश प्रेमपत्रमा तिमीलाई माया गर्छु, बिहे गर्न चाहन्छु भन्ने हुन्थे । ‘पहिला त मलाई कसैले चिन्दैनथे तर चुनाव उठेपछि त कतिले मन पराए, कति, तिमीलाई माया गर्छु भनेर प्रेमपत्रको ओइरो लाग्न थाल्यो,’ उनले ती दिन सम्झिँदै भने, ‘म माननीय भएपछि मन्त्री हुन्छु अनि बिहे गरांैला भनेर सबैलाई भन्थे, उनीहरू पनि मक्ख पर्थे, कतिले मलाई बोलाएर खाजा ख्वाउँथे, कतिले त पैसा छैन भनेपछि पैसा पनि दिन्थे तर त्यो थोरै दिएको पैसाले चुनावमा के पुग्थ्यो र †’ उनका अनुसार जहाँ चुनावमा भोट माग्न गए पनि केटीहरू भने उनलाई लुकी–लुकी हेर्थे ।
भर्खरका गहुँगोरा भोटे पनि कम्ती ह्यान्डसम थिएनन्, बेहुलाजस्तै चिटिक्क देखिन्थे । उनलाई सानो उमेरको भएकाले सबैले कति राम्रो नेता भन्दै जिस्क्याउँथे । चुनावमा भोट माग्दै उनी अघि–अघि हिँड्थे भने प्रेमपत्र पछि–पछि आउँथे । धेरै युवतीले उनलाई दिनु भन्दै पत्र लेखेर दिन्थे । आफैंलाई धेरैले भेटेर पत्र दिएको सम्झना पनि उनीसँग अझै छ । अहिले ५२ वर्षको उमेरमा पनि उनी कम्ती ह्यान्डसम छैनन् । चुनावको नशा यति लाग्यो कि उनले चुनावका लागि आफ्नो घरबारी तथा दाजुभाइको घरबारीसमेत कृषि विकास बैंकमा राखेर ऋण निकाले । उजुरीले केही हुँदैन, माननीय जितिन्छ, अनि त मन्त्री बन्ने हो, ऋण त त्यसपछि जितिहालिन्छ भनेर उचाल्थे, उनी पनि उचालिन्थे ।
‘मलाई त यति रमाइलो भएको थियो कि ४०÷५० जना केटाहरूलाई सँगै लिएर गाउँ–गाउँ भोट माग्न जाँदाको मज्जा अर्कै थियो, बैंकबाट ऋण निकालेर भए पनि खुब रमाइलो भएको थियो,’ उनले सम्झिए, ‘त्यही माननीय चुनावी रन्कोले जिन्दगीे बर्बाद पा¥यो ।’ घोडा चुनाव चिह्नको प्रचार–प्रसारमा दौडिएका उनको उम्मेदवारी चुनाव हुनु केही समयअघि मात्र उमेर कम गरेको भन्दै रद्द गरियो । चुनावका लागि ५ लाखभन्दा बढी ऋण गरेका उनको चुनावी प्रचार–प्रसार बालुवामा पानी जस्तै बन्यो । भएको सम्पत्तिको धितो बैंकमा राखेका उनी आर्थिक अवस्थामा टाट पल्टिसकेका थिए ।
त्यसपछि बिहान–बेलुकाको छाक टार्न सपरिवारसहित भारत भासिए । बिहान–बेलुकाको खानसमेत मुस्किल अवस्थामा पुगेका उनले बाँच्नका लागि धेरै संघर्ष गरे । मजदुरी गरे । भारत, भुटान, चीनलगायतका देशमा पुगेर मजदुरी गर्दै झन्डै डेढ दशक बिताए । बाँच्नका लागि ठूलो संघर्ष गरेका उनलाई अरुणाञ्चलको मुख्यमन्त्रीको छोरासँग मिलेर ठेक्का गर्दा भने राम्रै कमाइ भयो । ऋण तिर्न सक्ने भएपछि उनी नेपाल फर्किए । ‘भारतमा गएर मजदुरी गरी नेपाल फर्केको १० वर्ष जति मात्र भयो । भारत गएपछि कति दुःख पाइयो, कति,’ उनले भने, ‘विनापासपोर्ट मजदुरी गर्न भुटानदेखि चीनसम्म पुगे ।’
राजनीतिमा धेरै हन्डर खाएका उनको नाम सबैभन्दा कम उमेरमा माननीय सभासद्को उम्मेदवार बन्ने लिस्टमा छ । नेपालको सबैभन्दा कम उमेरमा माननीय सभासद् उठ्ने व्यक्ति को हो भन्दा आफ्नो रहेको भन्ने विभिन्न व्यक्तिबाट थाहा पाएपछि उनी अहिले मक्ख छन् । राजनीतिकै कारण भारतमा पुगेर ठूलो दुःख र संघर्ष गरेर फर्केपछि उनलाई राजनीति भने उनले छोड्न सकेनन् । उनी अहिले एकीकृत माओवादीनिकटको भोटे राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष छन् । व्यापार, व्यवसायमा समेत संलग्न उनी अहिले संखुवासभामा निर्माण हुने माथिल्लो अरुण सरोकार समितिको अध्यक्ष पनि छन् ।
प्रस्तुतिः भीम गौतम

No comments: