Wednesday, August 28, 2013

विद्युत् खेर जाँदा प्राधिकरणलाई दैनिक ७० लाख घाटा

भीम गौतम÷राजधानी काठमाडौं, ११ भदौ
विद्युत्को अभावमा भारतबाट दैनिक १६ लाख युनिट विद्युत् आयात गरिरहेको नेपालमा प्रसारण लाइनकै अभावमा भने उत्पादित साढे ४ लाख युनिट विद्युत् खेर फाल्नुपर्ने अवस्था रहेको छ । भएको विद्युत् खेर जाँदा दैनिक ३५ लाख घाटा बेहोर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले त्यत्तिकै परिणाममा भारतबाट विद्युत् आयात गर्नुपर्दा थप ३५ लाख घाटा बेहोर्नुपरेको छ । विभिन्न समस्या र बाधा व्यवधानका कारण समयमै प्रसारण लाइन नबन्दा करिब ३५ लाख रुपैयाँ बराबरको विद्युत् दैनिक खेर फाल्नुपर्ने अवस्था आएको हो । १ हजार मेगावाट विद्युत् माग रहेकोमा ३ सय मेगावाट विद्युत् अभावमा अहिले दैनिक चार घन्टा लोडसेडिङ भइरहेको छ ।
७ सय मेगावाट क्षमता भए पनि अहिले निजी क्षेत्र र प्राधिकरणमार्फत करिब ५ सय ५० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ भने भारतबाट दैनिक १ सय १५ मेगावाट विद्युत् आयात भइरहेको छ । प्राधिकरणले भएको करिब ३५ मेगावाट विद्युत् खेर फाल्दा दैनिक ७० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको जनाएको छ । ‘उत्पादित विद्युत् खेर जाँदा ३५ लाख एकातिर घाटा बेहोर्नुपरेको छ भने त्यत्तिकै मात्रामा भारतबाट विद्युत् आयात गर्नुपरेको छ, यस कारण प्राधिकरणले दैनिक ७० लाख रुपैयाँ घाटा बेहोर्नुपरेको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘स्थानीयवासीको अवरोध र सरकारी निकायबीच समन्वय नभएरै धेरै आयोजना समयमै बन्न सकेका छैनन् ।’
विगत तीन वर्षमा ४ सय आठ किलोमिटर प्रसारण लाइन बनाउने लक्ष्य लिइएको भए पनि सरकारी निकायबीचकै समन्वय अभाव तथा क्षतिपूर्तिलगायतमा माग राखी स्थानीयवासीले अवरोध गरेपछि एक किलोमिटर पनि प्रसारण लाइन बन्न सकेन । खिम्ती–ढल्केबर, स्युचाटार–मातातीर्थ–कुलेखानी २ र भरतपुर–हेटौंडा प्रसारण लाइन नबन्दा कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, त्रिशूली, चिलिमे, इन्द्रावती, सिप्रिङ खोलालगायतबाट उत्पादन हुने दैनिक ४ लाख ५० हजार युनिट अर्थात् ३५ लाख रुपैयाँ बराबरको विद्युत् खेर गएको हो । साउन महिनामात्र प्रसारण लाइन नभएर १ करोड ४४ लाख युनिट विद्युत् खेर गएका कारण थप त्यत्तिकै मात्रामा किन्दा २३ करोड रुपैयाँ घाटा भएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष ०६९÷७० मात्र प्रसारण लाइन नहुँदा उत्पादन भए पनि ३५ करोड बराबरको ७ करोड युनिट विद्युत् खेर गएको थियो । जसका कारण प्राधिकरणले ७० करोड रुपैयाँ घाटा बेहोर्नुपरेको थियो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताए । ‘
प्रसारण लाइन समयमै नबन्दा उत्पादित विद्युत् खेर गइरहेको छ, विभिन्न कारणले निर्माणमा ढिलाइ भएका प्रसारण लाइनहरू छिट्टै बनाउनका लागि हाम्रो प्रयास जारी छ,’ उनले भने । उनका अनुसार, प्रतियुनिट आठ रुपैयाँमा बेच्ने बिजुली खेर जाँदा प्राधिकरणलाई झन् घाटा भइरहेको छ । दैनिक भारतबाट १६ लाख युनिट विद्युत् आयात गरिएकोमा प्रसारण लाइन बनेको भए साढे ११ लाख युनिट मात्र विद्युत् आयात गरे पुग्थ्यो ।

No comments: