भीम गौतम\राजधानी
काठमाडौं, ८ भदौ
भारतलाई अर्बौको विद्युत बेच्ने सपना देखेको नेपालले गत आर्थिक बर्षमा मात्रै ६ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गरेको छ । राजनीतिक अस्थिरता र जलविद्युतबारे अनावश्यक विवादको कारणले जलविद्युत आयोजना समयमै नबनेर उर्जा संकट निम्तिएपछि नेपालले गत एक बर्षमा मात्रै ६ अर्ब रुपैयाँ बराबरको आयात गरेको हो । आब २०६८÷०६९ मा ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको विद्युत आयात गरेको थियो ।
‘लोडेडिङ न्यूनीकरणका लागि भारतबाट गत बर्ष करिब ६ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गर्यौ ।’–नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले भने–‘मागभन्दा विद्युत उत्पादन कम भएकोले लोडसेडिङ न्यूनीकरणका लागि भारतबाट विद्युत किन्नुपर्ने वाध्यता छ ।’ कर्णाली चिसापानी, पञ्चेश्वर, सप्तकोशी, अरुण तेस्रो, माथिल्लो कर्णाली, तामाकोशी तेस्रो, मस्याङदीका साथै अन्य ठूला जलविद्युत आयोजना बनाएर भारतलाई विद्युत विक्री गर्ने सपना देख्ने नेपालले भारतबाट उल्टो विद्युत किन्नु पर्ने बाध्यता अझै छ । हालसम्मको अध्ययनमा ८३ हजार मेगावाटको विद्युत क्षमता र ४४ हजार मेगावाट व्यवसायिक रुपमै उत्पादन गर्न सकिने अध्ययनले देखाएपछि नेपालले अर्बौको विद्युत भारतलाई बेच्न सक्ने सपना देख्दै आएको छ । अहिले बर्षामा समेत भारतबाट दैनिक १ सय ३० मेगावाट विद्युत आयात गरिएको छ भने अझै विद्युत अभाव रहेको कारण प्राधिकरणले दैनिक चार घण्टा लोडसेडिङ गरिरहेको छ । चालु आबमा करिब ८ अर्ब बराबरको एक अर्ब १० करोड युनिट विद्युत भारतबाट आयात गर्ने लक्ष्य प्राधिकरणको छ ।
जनआन्दोलन २०६२\०६३ पछि मात्र नेपालले भारतबाट २७ अर्ब रुपैयाँ बराबरको विद्युत किनिसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, गत आर्थिक बर्षमा भारतको बिहार इलेक्ट्रिीसिटी बोर्डबाट ४ अर्ब ४५ करोड ६५ लाख बराबरको ५९ करोड २ लाख ३९ हजार युनिट, पीटीसीएन भारत लिमीटेडबाट ४२ करोड १८ लाख रुपैयाँ बराबरको ६ करोड १० लाख १६ हजार युनिट तथा उत्तर प्रदेश इलेक्ट्रिसिटी बोर्डबाट ४८ करोड ६८ लाख बराबरको ६ करोड १२ लाख युनिट, उत्तराखण्डबाट १ करोड ८८ लाख बराबरको १५ लाख ४१ हजार युनिट र टनकपुरबाट करिब ५० करोड बराबरको ७ करोड युनिट विद्युत आयात गरेको हो । टनकपुर सम्झौता अनुसार, टनकपुरबाट प्राप्त विद्युत भने नेपालले निःशुल्क रुपमा पाउने व्यवस्था छ ।
समयमै प्राधिकरणले बिहारबाट किनेको विद्युतको पैसा तिरेकोले प्राधिकरणलाई ८ करोड ९१ लाख रुपैयाँ भने फाइदा भएको जनाएको छ । बिहारबाट नेपालले प्रति युनिट सबैभन्दा कम भारतीय रुपैयाँ ४ दशमलब ४९ देखि सबैभन्दा बढी ५ दशमलब ३ पैसासम्म किनेको थियो । जुन सरदर प्रति युनिट ४ दशमलब ७१ भारतीय रुपैयाँ पर्न आउँछ । पीटीसीएनबाट एउटै दरमा भारतीय रुपैयाँ प्रति युनिट ४ दशमलब ३० पैसामा प्राधिकरणले विद्युत किनेको थियो ।
जुन अघिलो बर्षको तुलनामा प्रति युनिट ५ पैसा सस्तो हो । बिहारबाट बाह्रै महिना तथा पीटीसी भारतबाट मंसीरदेखि बैशाखसम्मको सुख्या याममा नेपालले विद्युत किन्ने गरेको छ । हाल ७ सय १३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको नेपालमा सुख्या याममा भने त्यसको एक तिहाई मात्र उत्पादन हुने गरेको छ । सुख्खायाममा १७४ मेगावाटसम्म विद्युत भारतबाट आयात गरेको प्राधिकरणले गत हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपरेको थियो । आगामी हिउँदमा १२ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य राखिएको छ ।
No comments:
Post a Comment