भीम गौतम
सात वर्षअघिसम्म इन्द्रावतीको सिपाघाट र आसपासका बासिन्दा डाक्टरको अनुहार देख्न ६÷७ घन्टा लगाएर धुलिखेल, काठमाडौं पुग्नुपर्दथ्यो । त्यसअघि उपचार नै नपाएर अकालमा मृत्यु हुनेहरूको नाम अझै फेहरिस्त छ, उनीहरूसँग । यी सबैको कारण थियो, ‘नजिकमा राम्रो स्वास्थ्य केन्द्र नहुनु ।’ यही कारण गाउँका जान्ने–बुझ्नेहरू गाउँमै विशेषज्ञ डाक्टरसहितको सेवा पु¥याउनका लागि उपायको खोजीमा लागे । धुलिखेल अस्पतालमा पुगेर उनीहरूले साताको एक पटक भए पनि डाक्टरहरू आउने गरी स्वास्थ्य सेवा दिन अनुरोध गरे तर अस्पताल तयार भएन ।
पहिलो प्रयास असफल भए पनि प्रयासलाई निरन्तरता दिइरहे । ‘हामी धुलिखेल अस्पतालपछि फेरि गाउँकै पुराना राजनीतिज्ञ नेत्रविक्रम थापाका छोरा डाक्टर कोमलविक्रम थापाकहाँ पुग्यौं, उहाँले न्यु सेडल संस्थाका कार्यकारी निर्देशक चित्रबहादुर केसीलाई भेटाएपछि हाम्रो सपना पूरा भयो,’ इन्द्रावती सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुवेरकाजी श्रेष्ठले सम्झिए, ‘गाउँमा स्वास्थ्य सेवा ल्याउनका लागि ठूलै संघर्ष गर्नुप¥यो ।’ त्यतिबेला इन्द्रावतीका किरानामा थोरै घर थिएँ । न्यु सेडलका निर्देशकलाई स्वास्थ्य केन्द्रमा सेवा दिँदा कम बिरामी हुन्छन् कि भन्ने चिन्ता प¥यो । सो चिन्ता हटाउन २०६४ सालमै शिविरको आयोजना गरियो । उपचारका लागि काठमाडौं, धुलिखेलसम्म पुग्नुपर्ने कारण आफ्नो रोग गुम्स्याएर राखेका २७ सय बिरामी स्वास्थ्य शिविरमा ओइरिए ।
एक दिनका लागि गरिएको शिविर दुई दिन लम्बियो । त्यसपछि मात्र न्यु सेडलले पत्यायो । केन्द्रको अध्यक्ष बनेर डा. कमलविक्रम गाउँमा आफैं स्वास्थ्य सेवा दिन तयार भए । जग्गा स्थानीयले दिने र भवनका लागि न्यु सेडलले ८ लाख रुपैयाँसम्म सहयोग गर्ने भयो । स्थानीयवासीले इन्द्रावती गंगा बचत तथा ऋण सहकारीसँग १ लाख ७५ हजार ऋण लिएर १५ आना जग्गा किने भने न्यु सेडलले पहिला ८ लाख रुपैयाँ मात्र सहयोग गर्ने वचनबद्धता गरे पनि १८ लाख सहयोग ग¥यो ।
काभ्रे र सिन्धुपाल्चोकको दोसाँध इन्द्रावतीको किरानामा चिटिक्कको स्वास्थ्य भवन त बन्यो तर स्वास्थ्य केन्द्रका लागि उपकरणहरू थिएनन्, औषधि पसल पनि थिएन । फेरि ऋण गरेरै उनीहरूले एक्स–रेसहित अत्यावश्यक उपकरणहरू किने र औषधि पसल स्थापना गरे । न्यु सेडलले दिएको स्वास्थ्य सहायक तथा स्थानीयवासीले राखेका नर्स र अन्य कर्मचारीहरूमार्फत दैनिक सेवा हुन थाल्यो । साताको दुई दिन त विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा बिरामीले सेवा पाउन थाले । काभ्रेको महादेवस्थान, नयाँ गाउँ, गैह्रबिसौना देउपुर, नाल्दुमका साथै सिन्धुपाल्चोक जिल्लाका भीमटार, सिपापोखरी, भोटसिपा, बाडेगाउँ, कुनचोक, फटकशिला, बाँसबारीका गाविसका बासिन्दाले गाउँनजिकैको स्वास्थ्य केन्द्रमा उपचार पाउन थालेका थिए । विशेषज्ञ डाक्टरहरूसमेत आउन थालेपछि काठमाडौं नाङ्लेभारे गाविसका बासिन्दासमेत यहीं आउन थालेका थिए ।
‘विशेषज्ञ डाक्टरहरू आउँदा त डेढ सयसम्म बिरामी एकै दिन आएका थिए, २०६८ सालसम्म त राम्रै चलेको थियो तर पछि बिस्तारै आर्थिक अभावका कारण स्वास्थ्य केन्द्रको सेवा सुस्ताउँदै गयो,’ अध्यक्ष कुवेरकाजीले भने, ‘६ महिनाअघिदेखि त केन्द्र स्वास्थ्य सहायकले सामान्य उपचार गर्नमै उपचार सीमित हुन पुग्यो, औषधि पनि थिएन, बन्दजस्तै अवस्थामा स्वास्थ्य केन्द्र सञ्चालनमा थियो ।’ उनका अनुसार ५ लाखभन्दा बढी ऋणले स्वास्थ्य केन्द्र डुबेकाले सञ्चालन गर्न पनि कठिन भएको हो । पहिला डेढ सयसम्म बिरामी आउने स्वास्थ्य केन्द्रमा पछिल्ला ६ महिना त ५÷६ जान पनि मुस्किलले आउने गर्दथे । २ लाख बिरामीलाई सेवा दिइसकेको स्वास्थ्य केन्द्र बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका उनीहरूले फेरि सहयोगी हातको खोजीमा धाउन सुरु गरे । ठूलो संघर्ष र दुःख गरेर बनाएको स्वास्थ्य केन्द्र बन्द हुने अवस्थामा पुगेपछि पुनः उनीहरू धुलिखेल अस्पताल पुगे तर अस्पतालले मानेन । त्यसपछि हेल्पिङ ह्यान्ड संस्थामा पुगे । त्यहाँबाट शिविरका लागि चिकित्सक पठाउन सकिने कुरा भयो तर चिकित्सकलाई गाउँसम्म ल्याउने खर्च गर्नै कठिन पर्ने अवस्थामा उनीहरू थिए ।
न्यु सेडलको सहयोगमा एक पटक स्वास्थ्य शिविर त गरे तर नियमित रूपमा सञ्चालन गर्न त्यति सहयोगले पुग्ने कुरा थिएन । सहयोगको खोजी गर्दै उनीहरू लक्ष्मी प्रतिष्ठान पुगे । आफ्ना दुई छोराहरू कुमार र बलराम गौतम दुर्घटनामा परेर मृत्यु भएपछि प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय विष्णु गौतम उनीहरूलाई सहयोग गर्न राजी भए । महिनाको ५० हजार रुपैयाँ तथा अन्य उपकहरणसमेत सहयोग गर्न सहमत भएपछि फेरि इन्द्रावती किरानामा खुसी फर्कियो । अघिल्लो शनिबारदेखि फेरि सुरु भयो, स्वास्थ्य केन्द्र । केन्द्रका अनुसार अब महिनाको २१ दिन विशेषज्ञ डाक्टरहरूकै उपस्थितिमा यहाँका सर्वसाधारणलाई सेवा दिइनेछ ।
‘यहाँका बासिन्दा स्वास्थ्य जस्तो मानवीय सेवाबाट वञ्चित भएको थाहा पाएपछि एक वर्षसम्मका लागि महिनाको ५० हजार सहयोग गर्न सहमत भएका हौं,’ प्रतिष्ठानका अध्यक्ष गौतमले भने, ‘गाउँमै उपचार पाएर सर्वसाधारणमा आउने खुसीका लागि मेरो दुई छोराहरूको स्मृतिमा सहयोग गरेको हुँ ।’ फेरि स्वास्थ्य सेवा पाउनका लागि सहर पुग्नुपर्ने अवस्थामा पुगेका सर्वसाधारणमा गाउँमा फेरि विशेषज्ञ डाक्टरहरूसहितको सेवा पाउन थालेकोमा खुसियाली छाएको छ । ‘केही उपचार गर्नुपरेमा काठमाडौं, धुलिखेल जानुपर्ने अवस्था आएको थियो, फेरि उपचार पाएकोमा साह्रै खुसी छौं,’ सिपापोखरी गाविस–७ की राधा सापकोटाले भनिन्, ‘हामी महिलालाई घर नै छाडेर जाँच गर्न टाढा जान गाह्रो छ, गाउँमा फेरि सुरु भएपछि ढुक्क भयौं ।’
दिनभरि माया मारेर धुलिखेल, काठमाडौं उपचार गर्न जान सम्भव नभएकाले केही महिनादेखि बिसन्चो भए पनि उपचार गर्न नगएको सुनाउने फटकसिलाकी ६५ वर्षीया मैया दंगाल त फेरि स्वास्थ्य सञ्चालन भएपछि खुसीले गद्गद् छिन् । अघिल्लो शनिबार फेरि स्वास्थ्य केन्द्र सञ्चालन गर्ने सहमतिपत्र हस्ताक्षरसँगै माउन्टेन फाउन्डेसनको सहयोगमा प्रतिष्ठान र केन्द्रले संयुक्त रूपमा आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सयले स्वास्थ्य सेवा पाएका थिए ।
No comments:
Post a Comment