Thursday, August 29, 2013

३० वर्षपछि पूर्वाधार विकासमा सहयोग गर्दै रसिया

राजधानी समाचारदाता
काठमाडौं, १२ भदौ
३० वर्षदेखि नेपालमा कुनै सहयोग र लगानी नगरेको रसियाले अब नेपालमा सहयोग गर्ने भएको छ । डेढ वर्ष अघिदेखि नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाउँदै आएको रसियाले पहिलो चरणमा जलविद्युत््मा सहयोग र लगानी गर्न लागेको हो ।
बुधबार भएको ऊर्जा विकासका लागि नेपाल–रुस संयुक्त कार्य समूहको पहिलो बैठकमा ऊर्जा मन्त्रालय अन्तर्राष्ट्रिय विभागका निर्देशक एवं टोली प्रमुख इल्या वी गाल्किन र ऊर्जा मन्त्रालयका सहसचिव एवं नेपालको तर्फबाट टोली प्रमुख केशवध्वज अधिकारीबीच रसियाले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने निर्णय पुस्तिकामा हस्ताक्षर भएको छ । बैठकमा टोली प्रमुख गाल्किनलले ३० वर्षपछि आफूहरूले जलविद्युत््मा लगानी तथा नवीकरणीय ऊर्जा र पनौती जलविद्युत्् केन्द्रको सुदृढीकरणका लागि सहयोग गर्ने जानकारी गराएका थिए । ‘३० वर्षपछि रसियाले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने पुस्तिकामा हस्ताक्षर भएको छ,’ ऊर्जा मन्त्रालयका सहसचिव अधिकारीले भने, ‘रसियाले पहिलो चरणमा १ सयदेखि २ सय मेगावाटसम्मको एउटा जलविद्युत्् आयोजना बनाउने प्रस्ताव गरेकाले एक हप्ताभित्रै केही आयोजनाहरूको रसियन राजदूतावासमार्फत पठाउँछौं ।’ उनले ३० वर्षपछि नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने रसियाको प्रतिबद्धता नेपालका लागि सकारात्मक भएको बताए ।
डेढ वर्षअघि सो संयुक्त कार्य समूह बनेपछि बुधबार त्यसको पहिलो बैठक भएको हो । बैठकमा नेपालले ठूला जलविद्युत्् आयोजनाहरू बनाउन प्रस्ताव गरेको थियो, तर रसियाको टोलीले ३० वर्षपछि लगानी गर्न लागेकाले पहिलो चरणमा एउटा आयोजना बनाउने र त्यसपछि अन्य पूर्वाधार आयोजनाहरू बनाउन सहयोग गर्ने बताएका थिए । सहसचिव अधिकारीका अनुसार २०१७ सालमा रसियन सरकारकै सहयोगमा बनेको नेपालको तेस्रो पनौती जलविद्युत्् आयोजनाको सुदृढीकरण तथा स्तरोन्नतिका साथै प्रसारण लाइनको विस्तारको प्रणाली विकास, नवीकरणीय ऊर्जा विकासका लागि सहयोग गर्ने बताएका थिए । उनीहरू ऊर्जा मन्त्रालयको टोलीसँग नेपालको कानुनी प्राविध, संयुक्त रूपमा जलविद्युत्् आयोजनामा लगानी गर्न सक्ने वातावरण लगायतबारे जानकारी मागेका थिए भने मन्त्रालयको तर्फबाट एक हप्ताभित्रै सम्भावित आयोजनाहरूबारे विस्तृत विवरण पठाउने प्रतिबद्धता जनाएको थियो ।
३० वर्षअघि रसियाले कान्ति बाल अस्पताल, वीरगन्ज कृषि औजार, वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, पूर्व–पश्चिम पथलैया–ढल्केबर खण्डलगायतमा महŒवपूर्ण पूर्वाधार विकासमा सहयोग गरे पनि त्यसपछि कुनै पूर्वाधार विकास कार्यक्रममा रसियाले नेपाललाई सहयोग गरेको छैन । छलफलमा भने आयोजनाका आधारमा लगानी तथा अनुदान दुवै किसिमको सहयोग गर्न रसिया तयार रहेको बताएका थिए ।

No comments: