Tuesday, August 20, 2013

विद्युतमा सरकारी प्रगति शून्य


राजधानी समाचारदाता 
काठमाडौं, ४ भदौ
आर्थिक वर्ष ०६९÷७० मा विद्युत् उत्पादन र प्रसारण लाइनको प्रगति शून्य पाइएको छ । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित प्रगति समीक्षा कार्यक्रममा दिइएको जानकारीअनुसार गत आवमा विद्युत् उत्पादन र प्रसारण लाइनमा सरकारको योगदान शून्य रहेको छ । गत आर्थिक वर्ष समग्रमा भौतिक प्रगति ६६ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ७७ दशमलव ६६ प्रतिशत देखिएको छ । तर, विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणमा भने सरकारी स्तरबाट प्रगति शून्य छ ।
यस वर्ष निजी क्षेत्रबाट ४१ दशमलव ३७ मेगावाट विद्युत् थप भए पनि सरकारी स्तरबाट भने एक मेगावाट विद्युत् पनि उत्पादन हुन सकेन । २०६५ सालमा ७० मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएयता सरकारी निकायबाट कुनै आयोजना निर्माण सम्पन्न भएको छैन । निर्माण सम्पन्न भइसक्नुपर्ने १४ मेगावाटको कुलेखानी तेस्रो र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना अझै निर्माण पूरा हुन सकेको छैन । गत वर्ष वितरण लाइन आयोजनाअन्तर्गत २२ सय २० मिटर, विद्युत्को थप पहुँच ३ सय गाविसमा पुगेको पनि प्रतिवेदनमा उल्लेख छ ।
ऊर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको भौतिक प्रगति ५० प्रतिशत र ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको अध्ययनमा ५२ दशमलव २ प्रतिशत प्रगति भएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । १२औं त्रिवर्षीय योजनाअन्तर्गत १ सय ८४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएकोमा ७८ मेगावाट तथा ४ सय ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेकोमा जम्मा ५ सय मिटर मात्र निर्माण सम्पन्न भएको थियो । कार्यक्रममा भौतिक प्रगतितर्फ प्राधिकरणको ६६ दशमलव २ प्रतिशत, विद्युत् विकास विभागको ७३ दशमलव ८१ प्रतिशत, जल तथा ऊर्जा आयोगको ९८ प्रतिशत र ऊर्जा मन्त्रालयको ९९ प्रतिशत भएको थियो ।
कार्यक्रममा ऊर्जामन्त्री उमाकान्त झाले आयोजनाहरूमा देखिएको शान्ति सुरक्षा, जग्गा प्राप्ति, ट्रान्सफर्मर खरिद गर्न आइपरेको कठिनाइलगायतका समस्या समाधानका लागि गृहकार्य गरी अघि बढाउन आग्रह गरे । कार्यक्रममा मन्त्री झाले प्राधिकरणका सवारी साधन, घरजग्गालगायतका सम्पत्ति संरक्षण गर्न विगतका गल्ती एवं समस्याबाट पाठ सिकेर अघि नदोहो¥याउन र प्राधिकरणबाट दिइने विद्युत् सेवालाई भरपर्दो र दुरुस्त राख्न निर्देशन दिएका थिए ।
कार्यक्रमा ऊर्जा सचिव विश्वप्रकाश पण्डित, जल तथा ऊर्जा आयोग सचिवालयका सचिव कृष्णचन्द्र पौडेललगायतले ऊर्जा क्षेत्रबारे चर्चा गरेका थिए । कार्यक्रमा मन्त्रालय, आयोग, प्राधिकरण र विभागअन्तर्गत सञ्चालित २६ ओटा कार्यक्रमको समीक्षा गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
http://www.rajdhani.com.np/en/business/13260-----

No comments: