विद्युत् उत्पादन विगत सात वर्षमा जम्मा १८० मेगावाट मात्र
भीम गौतम\राजधानी
काठमाडौं, ३१ साउन
आगामी सात वर्षभित्र थप २ हजार ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । विगत सात वर्षमा भने जम्मा १ सय ८० मेगावाट विद्युत् मात्र उत्पादन भएको थियो । नेपाल विद्युत् प्राधिकरण, सहायक कम्पनी, निजी क्षेत्रलगायतमार्फत सन् २०२० भित्र करिब २३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको हो । प्राधिकरण र निजी क्षेत्रमार्फत हालसम्म ७ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने माग १ हजार मेगावाट रहेको छ । प्राधिकरणको लक्ष्यअनुसार उत्पादन भएमा सात वर्षभित्रै अहिलेको भन्दा थप तेब्बर विद्युत् उत्पादन भएर ३ हजार मेगावाटको विद्युत् क्षमता पुग्नेछ ।
‘सन् २०२० भित्र १०५ आयोजनामार्फत थप २२ सय ८३ मेगावाट विद्युत् थप गर्ने लक्ष्य राखिएको छ,’ प्राधिकरणका निर्देशक सुरेन्द्रराज राजभण्डारीले भने । प्राधिकरणका अनुसार जनआन्दोलन २०६२÷०६३ को सफलतापछिको सात वर्षमा प्राधिकरणमार्फत ७० मेगावाट मध्यमस्र्याङ्दी मात्र सम्पन्न भयो भने निजी क्षेत्रका २२ आयोजनाबाट ११० मेगावाट आयोजना सम्पन्न भएको थियो । प्राधिकरणका अनुसार आगामी सात वर्षभित्र ३० मेगावाट चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो, ३२ मेगावाटको राहुघाट, ६० मेगावाटको त्रिशुली ३ ए र ४० मेगावाटको बी तथा ४२ मेगावाटको अपर मोदी ए गरी २१८ मेगावाट निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
त्यसैगरी,, सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ४२ मेगावाटको सान्जेन, १०२ मध्यभोटेकोसी, १११ मेगावाटको रसुवागढी र १४० तनहुँ जलविद्युत् गरी ८५१ मेगावाट आयोजना बनाउने लक्ष्य सरकारको छ । त्यसैगरी सन् २०२० भित्रै २१० मेगावाटका सुपर सिक्स, ४२ मेगावाटको मिस्त्री खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूलीलगायत गरी ९३ जलविद्युत् आयोजना निजी क्षेत्रबाट १ हजार ३ सय १४ मेगावाट सम्पन्न हुने लक्ष्य प्राधिकरणको छ ।
२०६३ सालपछिको ११आंै र १२आंै त्रिवर्षीय योजना अर्थात् २०६४÷०६५–०६६÷०६७ मा १०५ मेगावाटमा ७९ मेगावाट तथा २०६७÷०६८–०६९÷०७० मा १८४ मेगावाट उत्पादन गर्ने लक्ष्यमा २१ मेगावाट मात्र उत्पादन भएकाले सात वर्षभित्र लक्ष्यअनुसारको विद्युत् उत्पादनको सम्भावना कम छ । राष्ट्रिय योजना आयोगले भने आगामी तीन बर्षभित्र २०७०÷०७१–०७२÷०७३ सम्म थप ६६८ मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ । ‘विगतका त्रिवर्षीय योजनाको लक्ष्य उत्साहनजनक छैन,’ आयोगका सह–सचिव गोपीनाथ मैनालीले भने, ‘तर आगामी दिनमा लक्ष्य प्राप्तिका लागि सरकारले अधिकत्तम प्रयास गर्छ ।
सन् २०२० भित्र ६ सय मेगावाटको बुढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती बनाइसक्ने बताइए पनि प्राधिकरणले भने यस अवधिमा बन्न नसक्ने जनाउँदै उल्लेख गरेको छैन । यी जलाशययुक्त आयोजना नबनेसम्म लोडसेडिङ हट्ने सम्भावना छैन । प्राधिकरणका अनुसार, सन् २०२० मा विद्युत्को माग २२०७ मेगावाट पुग्छ भने सबै आयोजना सम्पन्न भएमा उत्पादन ३ हजार मेगावाट पुग्छ । सुख्खायाममा त्यसको उत्पादन जम्मा १ हजार मेगावाटको हाराहारीमा मात्र हुने प्राधिकरणले जनाएको छ ।
|
No comments:
Post a Comment