Wednesday, August 21, 2013

अधिकांश ठूला आयोजना जलविद्युत् केन्द्रित

राजधानी समाचारदाता काठमाडौं, ५ भदौ
सरकारले घोषणा गरेको अधिकांश ठूला आयोजना जलविद्युत् केन्द्रित रहेका छन् । आर्थिक वर्ष २०७०÷७१ को बजेट तथा वार्षिक विकास कार्यक्रममा अधिकांश केन्द्रीय स्तरका ठूला जलविद्युत् आयोजनाहरूलाई समेटेर जलविद्युत् केन्द्रित बनाएको पाइएको हो । सरकारले चालू वर्षको बजेटमा जलविद्युत्लाई पहिलो प्राथमिकतामा राखेअनुसार २३ केन्द्रीय केन्द्रीय स्तरका ठूला आयोजना र कार्यक्रममध्ये २१ जलविद्युत् क्षेत्रकै रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । प्रतिशतका आधारमा घोषित आयोजनामध्ये ९१ प्रतिशत त जलविद्युत् क्षेत्रकै हुन् ।
राष्ट्रिय गौरवको आयोजनमा नपरेका तर राष्ट्रिय अर्थतन्त्रको विकासमा ठोस योगदान पु¥याउने र देशका आमनागरिकलाई सुविधा पु¥याउने ठूला आयोजनाहरू भन्दै सरकारले २३ ठूला आयोजना घोषणा गरेको थियो । आयोगको रातो किताबमा उल्लेख भएअनुसार, केन्द्रस्तरका २३ ठूला आयोजनामध्ये संस्कृति प्रवद्र्धन र नेपाल नागरिक उड्डयन प्राधिकरण आयोजनाबाहेक अन्य सबै जलविद्युत् क्षेत्रकै छन् । ती योजना तथा कार्यक्रमका लागि २३ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ छुट्ट्याइएकोमा जलविद्युत्का २१ आयोजनाका लागि मात्र २२ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
आयोगका अनुसार केन्द्रीय स्तरका ठूला आयोजनाको रूपमा सरकारले सार्वजनिक गरेको सप्तकोसी बहुउद्देश्यीयका लागि ३४ करोड, पञ्चेश्वर बहुउद्देश्यीयका लागि ५ करोड ४४ लाख, जलविद्युत् आयोजना अध्ययनका लागि ४ करोड ३८ लाख, बुढीगंगा जलविद्युत्का लागि १३ करोड ७१ लाख, नलसिंह गाड जलविद्युत् आयोजना विकास समितिका लागि ५ करोड ५९ लाख, ७० मेगावाटको मध्यमस्र्याङ्दीका लागि १५ करोड रुपैयाँ छुट्ट्याइएको छ ।
त्यसैगरी, १ सय ३२ केभी तथा अन्य प्रसारण लाइन विस्तारका लागि ११ अर्ब ९ करोड, १४ वर्षदेखि निर्माण पूरा हुन नसकेको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनका लागि १ करोड, ३३ केभी प्रसारण लाइन र सबस्टेसनका लागि ६८ करोड २५ लाख, जलविद्युत् सुदुढीकरण आयोजनाका लागि १ अर्ब ९ करोड रुपैयाँ छुट्ट्याइएको छ । बजेटमा ठूला आयोजनाको रूपमा घोषणा गरिएका १४ मेगावाटको कुलेखानी तेस्रोका लागि २२ करोड, ६० मेगावाटको त्रिशूली ३ ‘ए’का लागि २ अर्ब ११ करोड, ३० मेगावाटको चमेलियाका लागि १ अर्ब १२ करोड, ३२ मेगावाटको राहुघाटका लागि १ अर्ब २० करोड रुपैयाँ, १ सय ४० मेगावाटको तनहुँ जलविद्युत्का लागि ७५ करोड, ४७ मेगावाटको माथिल्लो मोदीका लागि ५० लाख तथा निर्माण अघि बढाउन लागिएका ३ सय ३२ मेगावाटको माथिल्लो अरुणका लागि १० करोड, ८७ मेगावाटको तामाकोसी ‘भी’का लागि ८ करोड ५० लाख तथा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’का लागि नेपाल विद्युत् प्राधिकरणको आन्तरिक स्रोतबाट १ करोड ५० लाखसहित ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।
त्यसैगरी, ठूला आयोजनाकै रूपमा घोषणा गरेको नेपाल भारत विद्युत् प्रसारण लाइनका लागि २ अर्ब ४० करोड, सामुदायिक विद्युतीकरणका लागि १० करोड, वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि ३८ करोड तथा जलाशययुक्त आयोजना छनोट र सम्भाव्यता अध्ययनअन्तर्गत चार जलाशययुक्त आयोजनाहरू उत्तरगंगाका लागि ५० लाख, दूधकोसीका लागि ६ करोड ५० लाख, आँधीखोलाका लागि ७५ लाख र तमोरका लागि ५० लाख रुपैयाँ छुट्ट्याइएको छ ।
१७ राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत ६ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई २६ करोड र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाका लागि ३ अर्ब छुट्ट्याइएको छ भने अर्को राष्ट्रिय गौरवको आयोजना ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना लगानी बोर्डले अगाडि बढाउने उल्लेख गरेर बजेट छुट्ट्याइएको छैन ।

No comments: