भीम गौतम\राजधानी
काठमाडौं, २१ साउन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर प्रकरणमा मुछिएका पाँच कर्मचारीलाई सोमबार विशेष अदालतमा हाजिर गराएको छ । विशेष अदालतमा उपस्थित गराइएका प्राधिकरण नेपालगन्ज क्षेत्रीय प्रमुख सिन्धु यादवसहित प्राधिकरणका प्रबन्धक सुरेन्द्रराज जोशी, सुरेशकुमार कटुवाल, नारायण चौधरी र सरोज श्रेष्ठलाई विशेष अदालतमा हाजिर गराइएको हो ।
म्याद थपका लागि विशेष अदालत हाजिर गराइएका उनीहरूलाई हिरासतमा राखेर थप १० दिन अनुसन्धान गर्न निर्देशन दिएको र उनीहरू अख्तियारको हिरासतमा रहेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । ठेकेदार कम्पनीका दुई चिनियाँ नागरिकसहित प्राधिक™णका पाँच कर्मचारीलाई भने विशेष अदालतको आदेशअनुसार सोमबार नै १० दिनका लागि म्याद थपेर हिरासतमा राखी अख्तियारले अनुसन्धान गरिरहेको छ ।
प्राधिकरणका सहायक प्रबन्धकद्वय सुरेन्द्रप्रसाद पनेरू र मदनराज चापागाईं, सहनिर्देशक हरिशबहादुर पाल, इन्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रूपाखेती तथा ठेकेदार कम्पनी हुवेईका सनलाइट इलेक्ट्रिक कम्पनीका यु झेङ कुइङ र जोउ उ तियानलाई हिरासतमा राखी अख्तियारले थप अनुसन्धान गरिरहेको छ । प्राधिकरणद्वारा २०६७÷६८ मा दुई पटक गरी १६ लाख २ हजार डलरमा १ हजार २ सय ६० ओटा ट्रान्सफर्मर खरिद गरेको थियो ।
सोही प्रकरणमा मुछिएका उनीहरूलाई पक्राउ गरी अख्तियारले ट्रान्सफर्मर प्रकरणमा अनुसन्धान गरिरहेको जनाएको छ । २०६४ सालदेखि २०६८ सालसम्म खरिद गरिएका करिब ७ अर्ब रुपैयाँबराबरका ४ हजार ६ सय ५७ ट्रान्सफर्मर गुणस्तरहीन भएको तत्कालीन सञ्चालकद्वय मुकेश काफ्ले र डा. केपी दुलालका दुई छुट्टाछुट्टै प्रतिवेदनले उल्लेख गरेको थियो । सोही प्रतिवेदनका आधारमा ट्रान्सफर्मर खरिदमा संलग्न कर्मचारीहरूबारे छानबिन गर्न तत्कालीन अर्का सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठन भएको समितिले प्राधिकरणका उच्च अधिकारीसहित ३३ कर्मचारी सहभागी भएको प्रतिवेदन दिएको थियो । समितिले तत्कालीन प्राधिकरण प्रमुख, सम्बन्धित विभाग प्रमुख, खरिद गरिएका कम्पनीमा परीक्षणका लागि गएका र भण्डार शाखामा कार्यरत कर्मचारीहरूलाई मात्र दोषी देखाएकोमा अख्तियारले अनुसन्धानका क्रममा सो ट्रान्सफर्मरको भुक्तानीमा संलग्न कर्मचारीहरूलाई समेत दोषीको सूचीमा राखेर अनुसन्धान गरिरहेको छ ।
ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि ट्रान्सफर्मर प्रकरण चर्किएको थियो । गुणस्तरहीन ट्रान्सफर्मरको का™णबाट प्राविधिक चुहावटलगायत बढ्न गई प्राधिकरणलाई अर्बौं घाटा पर्ने गरेको छ । आल्मुनियम भएको ट्रान्सफर्मर जलेपछि पुनः निर्माण हुने सम्भावना हुँदैन । भारतको एसभीआर इलेक्ट्रिकल्स, थाइल्यान्डको सहवान्त इलेक्ट्रिकका साथै चीनका तीन कम्पनी हुवेई सनलाइट इलेक्ट्रिकल्स, जेके होल्डिङ कम्पनी र साङदोङ इलेक्ट्रिक कम्पनीबाट खरिद गरिएका ट्रान्सफर्मरहरूमा गुणस्तरहीनताको समस्या देखिएको थियो ।
No comments:
Post a Comment