Tuesday, August 27, 2013

गरिबी निवारण गर्न जलविद्युत् ः राष्ट्रपति

अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन सुरु

राजधानी समाचारदाता काठमाडौं, १० भदौ
राष्ट्रपति डा.रामवरण यादवले नेपालको गरिबी निवारणका लागि जलविद्युत्को विकासको आवश्यकता आंैल्याएका छन् । ‘जलविद्युत् विकासको गतिमा तीव्रता’ भन्ने मूल नाराका साथ सोमबारदेखि राजधानीमा सुरु भएको दुईदिने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले आर्थिक समृद्धिको आधार जलविद्युत् भएकाले गरिबी निवारणका लागि समेत जलविद्युत् विकासको आवश्यकतामा जोड दिए ।
‘अपार प्राकृतिक सम्पदा रहेको नेपालमा जलविद्युत् विकासबाट आर्थिक समृद्धि हुन्छ, त्यसबाट मात्र गरिबी निवारण हुन्छ,’ उनले भने, ‘राजनीतिक रूपान्तरणसँगै आर्थिक रूपान्तरणको आवश्यकता देखिएकाले जलविद्युत् विकासतर्फ ध्यान दिनु आवश्यक छ ।’ नेपाललाई जलविद्युत् राष्ट्र बनाउनका लागि सरोकारवालाहरूको भूमिका महŒवपूर्ण हुने बताउँदै उनले नेपाल, भारत र चीन विकासमा एकसाथ अघि बढ्नु आवश्यक रहेको बताए ।
ऊर्जा मन्त्रालय र लगानी बोर्डको संरक्षकत्वमा तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान), पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया र गैरआवासीय नेपाली संघ (एनआरएन) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले जलविद्युत् क्षेत्र आर्थिक विकासका लागि इन्जिन भएको बताए । तीन वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले पाँच वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । ऊर्जामन्त्री उमाकान्त झाले जलविद्युत् विकासका लागि विदेशी लगानीको आवश्यकता रहेको बताउँदै निर्यातमूलक आयोजना निर्माणका लागि सरकारले उचित वातावरण बनाइरहेको बताए ।
जलाशययुक्त आयोजनालाई सरकारले बढी महŒव दिएको बताउँदै प्रसारण लाइन तथा जलाशययुक्त आयोजनामा स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरे । भारतीय दूतावासका प्रतिनिधि जयदेव मजुमदारले स्रोतका आधारमा नेपाल जलविद्युत्का लागि दक्षिण एसियाकै धनी बन्न सक्ने भन्दै भारत नेपाललाई सहयोग गर्न तयार रहेको बताए । चिनियाँ राजदूत हु चिनताईले नेपालको जलविद्युत् विकासका लागि चीनलगायत अन्य देशको समेत सहयोगको खाँचो रहेको बताए । नर्वेजियन राजदूत अर्ने राम्सलियनले नेपालले उचित वातावरण बनाएमा नर्वे जलविद्युत्का लागि थप सहयोग गर्न तयार रहेको बताए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त लगायतले जलविद्युत्लाई राष्ट्रिय स्वार्थ बनाएर सबै अघि बढ्नुपर्ने र लगानी बोर्डले जलविद्युत् विकासका लागि एकद्वार प्रणाली अघि बढाउन लागिएको जानकारी दिए । नेपाललगायत भारत, चीन, कोरिया, नर्वे, चेक गणतन्त्र, क्यानडा, यूएस, न्युजिल्यान्डलगायतका देशहरूबाट ५ सय प्रतिनिधि सहभागी सम्मेलनमा १४ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकोमा सोमबार पाँच कार्यपत्र प्रस्तुत गरिएका थिए ।
सम्मेलनमा आन्तरिक खपतका आयोजना र आन्तरिक लगानी, अन्तरिक खपतका आयोजना र विदेशी लगानी, बाह्य बजार केन्द्रित आयोजना र विदेशी लगानी तथा विद्युतीय ऊर्जाको बजार र बजार व्यवस्थापनका उपायलगायतका चार एजेन्डा रहेको इप्पानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले जानकारी दिए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक अमृत नकर्मीले जलविद्युत् खाना पकाउनका लागि सबैभन्दा सस्तो भए पनि ऊर्जा अभावमा महँगो मट्टीतेल र ग्याँस प्रयोग बढेको बताए । उनले चार वर्षमै आयात दोब्बरले बढेको जानकारी दिए ।
http://erajdhani.com/en/business/13531----------

No comments: