Thursday, June 12, 2014

वर्षभरिमा २१ मेगावाट मात्र बिजुली


भीम गौतम\राजधानी
काठमाडौं, २७ जेठ
प्रत्येक वर्ष बिजुलीको माग १ सय मेगावाटले बढ्छ तर आर्थिक वर्ष ०७०\७१ मा २१ मेगावाट मात्र थपिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले १० जलविद्युत् आयोजनाबाट १ सय ७१ मेगावाट बिजुली उत्पादन हुने प्रक्षेपण गरे पनि निजी क्षेत्रका पाँच आयोजनाबाट २१ मेगावाट मात्र थपिएको हो । गत साउनमा निर्माण सम्पन्न भएको ८ दशमलव ४ मेगावाटको आँखुखोला–१ जलविद्युत् आयोजनाका साथै भर्खर सम्पन्न ५ मेगावाटको मैलुङ खोला, तीन मेगावाटको भैरवकुण्ड, ४ दशमलव ४ मेगावाटको राधी खोला र ९ सय ९३ किलोवाटको छोटे खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यी आयोजनासँगै नेपालको कुल बिजुली उत्पादन ७ सय १३ मेगावाट पुगेको छ । बिजुलीको माग भने ११ सय मेगावाट छ । हिउँदमा भारतबाट १ सय ९० मेगावाट बिजुली आयात गरी दैनिक १२ घन्टा लोडसेडिङ भएकामा अहिले वर्षा सुरु हुँदासमेत बिजुली उत्पादनको अभावमा दैनिक आठ घन्टा लोडसेडिङ भइरहेको छ ।
आर्थिक वर्ष ०७०\७१ को हालसम्म २१ मेगावाट बिजुली केन्द्रीय ग्रिडसँग जोडिएको र बाँकी एक महिनाभित्र थप जलविद्युत् ग्रिडसँग जोडिने सम्भावना नरहेको प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुख हितेन्द्रदेव शाक्यले जानकारी दिए । प्राधिकरणले भने निर्माणाधीन ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोका साथै २२ मेगावाटको सानिमा माई, २ दशमलव २ मेगावाटको जिरी र १ दशमलव ८ मेगावाटको चाकु खोलाबाट जलविद्युत् आयोजना उत्पादन हुने लक्ष्य राखिएको थियो । तर, यी जलविद्युत् आयोजना सम्पन्न भएनन् । ‘आगामी आर्थिक वर्ष ०७१÷७२ मा ६ ओटा आयोजनाबाट थप ३० मेगावाट उत्पादन हुने लक्ष्य राखिएको छ,’ प्रमुख शाक्यले भने । प्राधिकरणले आर्थिक वर्ष ०७१÷७२ मा २२ मेगावाटको सानिमा माईसहित जिरी, मिदिम खोला, झ्याडी, बेल्खु, माथिल्लो पुवालगायतका आयोजनाबाट ३० मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ । आर्थिक वर्ष ०७०\७१ मै निर्माण पूरा गर्ने लक्ष्य राखिएको प्राधिकरणद्वारा निर्माणाधीन ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोसमेत निर्माण पूरा नहुने प्राधिकरणले जनाएको छ ।
१२आंै त्रिर्षीय योजना अर्थात् ०६७\६८ र ०६९\७० मा १ सय ८४ मेगावाट उत्पादन गर्ने लक्ष्यमा ४१ मेगावाट मात्र उत्पादन भएको थियो । ०७०÷७१ देखि ०७२÷७३ सम्मको १३आंै त्रिवर्षीय योजनामा ४ सय ५६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनासहित ६ सय ६८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिए पनि सुरुङ डिजाइनमा आएको समस्यालगायतको कारणले तामाकोसीसमेत निर्माण सम्पन्न नहुने अवस्था देखिएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणका अनुसार ०६७\६८ मा इलामको माईखोला जलविद्युत् आयोजनाको २ दशमलव ४ मेगावाटको मात्र उत्पादन गरेको थियो भने ०६८÷६९ मा ९ सय ९० किलोवाटको संखुवासभाको लोअर पिलुवा र ४ दशमलव ४५ मेगावाटको संखुवासभाकै हेवा खोलाबाट मात्र विद्युत् उत्पादन भएको थियो । ०६९÷७० मा ४ दशमलव ९ मेगावाटको सिउरी खोला, ९ दशमलव ९ मेगावाटको लोअर मोदी–१, ४ दशमलव ४ मेगावाटको विजयपुर–१, ९ दशमलव ६ मेगावाटको सिप्रिङ खोला, पाँच मेगावाटको तादी खोला, ३ दशमलव ५ मेगावाटको चर्नावनी खोला र १ दशमलव ८ मेगावाटको मध्य चाकुखोलाबाट विद्युत् उत्पादन भएको थियो  ।


No comments: