भीम गौतम\राजधानी
काठमाडौं, १४ असार । उत्पादन सुरु भएर १०३ बर्षमा उत्पादन भएको भन्दा झण्डै दोब्बर विजुली आगामी पाँच बर्षभित्रै गरिसक्ने योजना नेपाल विद्युत प्राधिकरणले बनाएको छ ।
१९६८ सालमा दक्षिण एशियाकै दोस्रो ५ सय किलोवाटको फर्पिङ जलविद्युत उत्पादन सुरु गरेर १ सय ३ बर्षसम्मा ७ सय २१ मेगावाट मात्र विजुली उत्पादन गर्न सफल भएको प्राधिकरणले पाँच बर्षमै झण्डै दोब्बर विजुली उत्पादन गर्न लागेको हो । ‘अहिले लोडसेडिङको अवस्था भएपनि आगामी पाँच बर्षभित्र हालसम्मको उत्पादनभन्दा दोब्बर उत्पादन गर्न लागेका छौ ।’–प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले भने–‘धेरै जलविद्युत आयोजनाहरु अघि बढेका छन्, १ सय ३ बर्षे इतिहासको भन्दा धेरै विजुली उत्पादन गर्ने चरणमा हामी पुगेका छौ ।’ उनका अनुसार, आगामी पाँच बर्षभित्र ११ सय ५० मेगावाट जलविद्युत उत्पादन थप हुँदैछ ।
प्राधिकरणका अनुसार, नेृपाल विद्युत प्राधिकरणद्धारा निर्माणाधीन चमेलिया, त्रिशुली ३ ए, राहुघाट र कुलेखानीबाट १ सय २७ मेगावाट थपिने छ भने प्राधिकरणकै सहायक कम्पनी माथिल्लो तामाकोशी र चिलिमे जलविद्युतबाट ७ सय २५ मेगावाट विजुली थप हुनेछ । हाल नीजि क्षेत्रबाट २ सय २२ मेगावाट विजुली उत्पादन भएकोमा २ सय ९८ मेगावाट विजुली थप हुनेछ । प्राधिकरणको योजना अनुसार, अबको पाँच बर्षभित्र विजुली उत्पादन १९ सय ३९ मेगावाट पुग्नेछ ।
१३२ केभीको २१ सय २९ किलोमिटर र ६६ केभीको ५ सय ११ किलोमिटर प्रशारण लाइन रहेकोमा निर्माणाधीन अवस्थाको मात्र २२० केभीको ४ सय ४६ किलोमिटर र १३२ केभीको ७ सय ९३ किलोमिटर थपिनेछ । प्राधिकरणले ४०० केभीको १८ सय ८० किलोमिटर, २२० केभीको ११ सय २९ किलोमिटर तथा १३२ केभीको १५ सय ४० किलोमिटर प्रशारण लाइन बनाउने योजना बनाएको छ । उपकार्यकारी निर्देशक भाट पाँच बर्षभित्र दोब्बर प्रशारण लाइन बनाउने योजना रहेको बताउँछन् । प्राधिकरणले जलविद्युत र प्रशारण लाइनमा निर्माण देखिएका सामाजिक र राजनीतिक समस्या समाधान गर्न सरकारदेखि राजनीतिक दलहरु सबै सक्रिय हुनुपर्ने बताएको छ ।
प्राधिकरणले पाँच बर्षभित्र अहिले करिब २८ लाख विजुलीका ग्राहक रहेकोमा त्यसलाई दोब्बर बनाउने योजना छ । हाल प्राधिकरणको विजुली सेवा ६१ प्रतिशतले मात्र पाएका छन् । विजुली पाएका ग्राहकले हिउँदमा दैनिक १२ घण्टासम्म र हाल दैनिक ८ घण्टा लोडसेडिङ छ ।
No comments:
Post a Comment