भीम गौतम\राजधानी
काठमाडौं, ९ असार । नेपाल विद्युत प्राधिकरणले तीन महिनासम्म विजुलीको महशुल नतिरेपछि लाइन काट्ने र लाइन काटेको ६ महिनाभित्र कालोसुचीमा राख्ने गरेको छ । कालोसुचीमा राखेका ग्राहकले अर्को क्षेत्रमा विजुली लाइन लिन नपाउने व्यवस्था पनि प्राधिकरणले गरेको छ तर यो नियम प्राधिकरणले सर्वसाधारणलाई कडाईका साथ लागु गरेपनि पहुँचवालालाई भने लाग्ने गरेको छैन ।
तीन महिनामा विजुलीको विल नतिरेका कारण ५ हजारभन्दा बढी ग्राहकको लाइन काटिसकेको प्राधिकरणले कालोसुचीमा रहेका अधिकांश ठूला र पहुँचवाला ग्राहकलाई भने अर्को विजुलीको लाइन दिँदै आएको छ । सर्वसाधारण ग्राहकको विजुलीका महशुल बढीमा ५ सय हुने भएपनि ती ग्राहकको लाइन काट्ने प्राधिकरणले व्यक्तिगत रुपमा एक लाखभन्दा बढी हुने ग्राहकदेखि ३० लाखसम्मका औद्योगिक समूहका ग्राहकले महशुल नतिरेर कालोसुचीमा परेपनि प्राधिकरणले वेवास्ता गर्दै आएको छ । ‘एक ठाउँको विजुलीको लाइन काटेपनि अर्को ठाउँमा प्राधिकरणले विजुलीको लाइन दिईहाल्छ ।’–प्राधिकरणका एक अधिकारीले भने–‘सर्वसाधारणको लाइन काट्न तम्सने प्राधिकरणका अधिकारीहरु सोर्सफोर्सको आधारमा ठूलावडाबारे वेवास्ताा गर्छ ।’
उनका अनुसार, बढी महशुल हुने ग्राहकलाई सोर्सफोर्सको कारण नियम अनुसार कार्बाही गर्न नसक्दा आठ अर्बभन्दा बढी विजुली वक्यौता भएको हो । प्राधिकरणका अनुसार, कालोसुचीमा ३३ हजार ६ सय ६० ग्राहक छन् । १५ सयभन्दा बढी उद्योगधन्दा कालोसुचीमा रहेपनि ती उद्योगले अन्य क्षेत्रबाट विजुलीको लाइन लिएर उद्योगधन्दा सञ्चालन गरिरहका छन् भने ती उद्योगधन्दा चलाउने सञ्चालकहरुले कालोसुचीमा रहको रकम नतिरेसम्म अर्को लाइन जडान गर्न नपाउने भएपनि प्राधिकरणले आफ्नो नियम विपरित दिईरहेको प्राधिकरण स्रोतले जनाएको छ । स्रोतका अनुसार, लाइन काट्नबाट रोक्नबाट मात्र होइन, वक्यौता रकम नउठाउनका लागि समेत विभिन्न राजनीतिक दलहरुको सोर्सफोर्स लाग्ने गरेको छ । ‘वक्यौता उठाउन सकिएन भनेर ताकेता गर्दा पहुँचवाला ग्राहकबाट प्राधिकरण केन्द्रीय व्यवस्थापनलाई दबाब दिएर त्यहाँबाट लाइन नकाट्ने र ताकेता नगर्नु भनेर सोर्स आउँथ्यो, अझै कहिलेकाही आउने गरेको छ ।’–प्राधिकरणका एक वितरण केन्द्रका अधिकारीले भने ।
प्राधिकरणका अनुसार, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल सञ्चालक रहेको मोमेन्टो एप्रेल्स प्रालिले १९ लाख वक्यौता तिर्न बाँकी छ तर ढकालले झापाको भद्रपुर र काठमाण्डमौमा छुट्टै विजुलीको लाइन लिएका छन् । प्राधिकरणको नियम अनुसार उनले लिन पाउँदैनन् । यो त एउटा उदाहरण मात्र होइन, चितवनका श्याम अधिकारीले व्यक्तिगतनै ३ लाख ९१ हजार, वीरगञ्ज तीरुपातेका प्रेमकुमार टिकवालले २१ लाख ९० हजार, बानेश्वरमा त्रियुवा तयारी पोशाका लागि सञ्चालक सन्तोष गिरिले १४ लाख ६० हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ तर यी लगायत कालोसुचीमा रहेका अधिकांश पहुँचवाला, ठूला उद्योग लगायतले प्राधिकरणको नियम विपरित अन्य विजुली लाइन लिएका छन् । प्राधिकरणको गैह्रजिम्मेवारीपनताको कारणले बाँकी वक्यौता थप हुँदै गएपनि वेवास्ता गरिरहेको बेला अहिले भने उर्जा मन्त्रालय र ग्राहक तथा वितरण निर्देशानालयले बाँकी वक्यौता उठाउनका लागि कार्ययोजना समे बनाईसकेको छ ।
No comments:
Post a Comment