राजधानी समाचारदाता
काठमाडौं, २ असार
ऊर्जामन्त्री राधा ज्ञवालीले आफू मन्त्री छउन्जेल डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) नगर्ने दाबी गरेकी छन् ।
रिपोर्टर्स क्लबले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले डलरमा पीपीए नगर्ने स्पष्ट पारिन् । ‘राधा ज्ञवाली ऊर्जामन्त्री छउन्जेल डलरमा पीपीए हुँदैन,’ उनले कार्यक्रममा भनिन् ।
खिम्ती र भोटेकोसीमा गरिएको डलर पीपीए संशोधनका लागि मन्त्रालयले पत्र पठाएको बताउँदै उनले प्रस्तावबारे बेवास्ता गरेपछि बारम्बार ताकेता गरी अहिले वार्ताको चरणमा रहेको बताए । ‘हामीले डलर पीपीए पुनरावलोकनका लागि प्रस्ताव गरिसकेका छौं, अहिले छलफलकै चरणमा छ,’ उनले भनिन् ।
जनताका लगानी, जनताको जलविद्युत्अन्तर्गत ऊर्जा मन्त्रालयले तीन वर्षभित्र तीन सय मेगावाटको बिजुली उत्पादन कार्य अघि बढाउन लागेको उनले जानकारी दिइन् । उनका अनुसार पहिलो वर्ष २५, दोस्रो वर्ष १२५ र तेस्रो वर्ष १५० मेगावाटको जलविद्युत् आयोजना बनाउने योजना मन्त्रालयले अघि सारेको छ । एउटा पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको जलविद्युत् आयोजना नभएको उल्लेख गर्दै उनले ग्रामीण विद्युतीकरणका लागि छुट्टै कोष निर्माण गरेर गाउँ–गाउँसम्म बिजुली पु¥याउने योजना ऊर्जा मन्त्रालयले अघि बढाउन लागेको जानकारी दिइन् ।
असारभित्र दुई घन्टा लोडसेडिङ घट्ने बताउँदै उनले आगामी हिउँदमा १२ घन्टाभन्दा बढी लोडसेडिङ हुन नदिने गरी लोडसेडिङ न्यूनीकरण आयोजना अघि बढाउन लागेको जानकारी दिइन् ।
No comments:
Post a Comment