Wednesday, June 18, 2014

बूढीगंगालाई कुवेती फन्डको ३ अर्ब सहयोग


भीम गौतम\राजधानी
–डेढ वर्षभित्र विस्तृत अध्ययन
–पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य
काठमाडौं, ३ असार
ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागद्वारा निर्माण गर्न लागिएको २० मेगावाटको बूढीगंगा जलविद्युत् आयोजनाका लागि आज (बुधबार) कुवेती फन्डले ३ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने गरी सम्झौता हुने भएको छ ।
साढे ५ अर्बको लागतमा बन्न लागेको सो आयोजनाका लागि कुवेत फन्डले ३ अर्ब ऋण सहयोग गर्न लागेको हो । अर्थ मन्त्रालय र फन्डबीच १ सय १२ दशमलव ५० मिलियन साउदी रियाल अर्थात् ३० मिलियन डलर सहयोगबारे ऋण सम्झौता हुन लागेको हो । अर्थ सचिव युवराज भुसाल र फन्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक युसेफ इब्राहिमबीच ऋण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । आयोजना निर्माणका साथै प्रसारण लाइन र परामर्शदाताका लागि कुवेती फन्डले सो सहयोग गरेको हो ।
इब्राहिमको नेतृत्वमा आएको टोलीले बुधबार अर्थमन्त्री डा.रामशरण महत, ऊर्जामन्त्री राधा ज्ञवाली र ऊर्जासचिव राजेन्द्रकिशोर क्षत्रीसँग भेटेर आयोजनाबारे छलफल गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि १३ मार्च २०१३ मा साउदी फन्डले १ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।
बूढीगंगा जलविद्युत् आयोजनाको तीन महिनाभित्र परामर्शदाता छनोट गरेर विस्तृत आयोजना डिजाइन (डीईडी) सुरु गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख नवीन सिंहले जानकारी दिए । उनका अनुसार विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरिएकोमा १९ कम्पनीले टेन्डर हालेका छन् भने विभागले ६ ओटाको छोटो सूचीसमेत बनाइसकेको छ ।
सो आयोजनाको सम्भाव्यता अध्ययन र वातावरण प्रभाव अध्ययन नेपाल विद्युत् प्राधिकरणले सम्पन्न गरिसकेको छ भने तीन महिनाभित्र विस्तृत अध्ययन सुरु गरेर डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख सिंहका अनुसार त्यसपछिको साढे तीन वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सन् २०१९ देखि विद्युत् उत्पादन भइसक्ने लक्ष्य राखिएको आयोजनाको जग्गा अधिग्रहण, पहुँच मार्ग निर्माण, आवासीय भवन निर्माणलगायतका लागि आगामी आर्थिक वर्षका लागि आयोजनाले २६ करोड रुपैयाँ बजेट समेत प्रस्ताव गरेको छ ।
जलविद्युत् आयोजनाको लाइसेन्स वितरण र अनुगमनमा बढी केन्द्रित बनेको विभागले पहिलो पटक बूढीगंगा जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । हालसम्म विद्युत् प्राधिकरणले मात्र जलविद्युत् आयोजना निर्माण गरिरहेकोमा विभागले समेत बनाउन लागेको हो ।

No comments: