Thursday, June 19, 2014

बुढीगंगालाई कुबेती फण्डको तीन अर्ब सहयोग


काठमाडौं, ४ असार । कुवेती विकास फण्डले  विद्युत विकास विभागद्धारा निर्माण गर्न लागेको २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजनालाई ३ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ ।
बुधबार अर्थ मन्त्रालय र फण्डबीच ११२ दशमलब ५० मिलियन साउदी रियाल अर्थात ३० मिलियन डलर सहयोगबारे ऋण सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । अर्थ सचिव युवराज भुषाल र  फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक युसेफ इब्राहिमले सो सम्झौतापत्रमा हस्ताक्षर गरे ।  आयोजना निर्माणका साथै प्रशारण लाइन र परामर्शदाताका लागि कुवेती फण्डले सो सहयोग गरेको हो ।
इब्राहिमको नेतृत्वमा आएको टोलीले बुधबार अर्थ मन्त्री डा. रामशरण महत, उर्जा मन्त्री राधा ज्ञवाली र उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीसँग भेटेर आयोजनाबारे छलफल समेत गरेको छ ।
बुढीगंगा जलविद्युत आयोजनाको तीन महिनाभित्र परामर्शदाता छनोट गरेर विस्तृत आयोजना डिजाइन (डीईडी) सुरु गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख नवीन सिंहले जानकारी दिए । उनका अनुसानर, विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि टेण्डर आह्वान गरिएकोमा १९ कम्पनीले  टेण्डर हालेका छन् भने विभागले ६ वटाको छोटो सुची समेत बनाईसकेको छ । तीन महिनापछि सुरु गरेर डेढ बर्षभित्र आयोजनाको डीईडी सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सन् २०१९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


No comments: