Tuesday, June 3, 2014

१ हजार ४० ट्रान्सफर्मर किन्न सम्झौता


भीम गौतम\राजधानी
काठमाडौं, १९ जेठ
नेपाल विद्युत् प्राधिकरण र श्रीलंकाको एलटीएल होल्डिङ कम्पनीबीच १ हजार ४० ओटा ट्रान्सफर्मर किन्ने सम्झौता भएको छ ।
गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणको कारणले दुई वर्षदेखि खरिद नहुँदा ट्रान्सफर्मरको हाहाकार भइरहेका बेला सो संख्यामा खरिद गर्ने सम्झौता भएको हो । दुई वर्षदेखि खरिद नभएका कारण प्राधिकरणलाई तत्काल ३ हजार ट्रान्सफर्मर खाँचो रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका पूर्वसञ्चालकद्वय मुकेश काङ्खले र डा.केपी दुलालको संयोजकत्वमा रहेको समितिले २०६३ सालदेखि २०६८ सम्म ल्याएका ट्रान्सफर्मर गुणस्तरहीन रहेको प्रतिवेदन दिएपछि विवाद चर्किएको थियो । सोे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच दर्जनभन्दा बढी प्राधिकरणका उच्च अधिकारीलाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो मुद्दा विचाराधीन छ भने यो प्रकरण चर्केसँगै बिजुली ओहोर–दोहोरका लागि ‘मुटु’को रूपमा रहेको ट्रान्सफर्मर खरिद हुन सकेन ।
सम्झौताअनुसार आगामी नौ महिनाभित्र चार लटमा गरी सबै ट्रान्सफर्मर नेपाल आइपुग्ने प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक वर्ष प्राधिकरणलाई करिब ५ सय ट्रान्सफर्मर आवश्यक पर्छ ।
प्राधिरणका अनुसार साढे तीन महिनाभित्र भारतको सेन्टर पावर रिसर्च भारतबाट डिजाइन टेस्ट गरेपछि नेपालमा ल्याएर प्राधिकरणले सबै परीक्षण गरेपछि मात्र उपयोग गर्न लागेको छ । अक्टोबरभित्र पहिलो चरणमा २ सय ५० ट्रान्सफर्मर नेपाल आइपुग्ने र प्रत्येक दुई÷दुई महिनामा बाँकी ट्रान्सफर्मर क्रमशः आउने प्राधिकरणले जनाएको छ ।
२६ करोड ५८ लाख २१ हजार रुपैयाँमा खरिद गर्न लागेको ट्रान्सफर्मरका लागि आठ कम्पनीले टेन्डर हालेकोमा श्रीलंकाको कम्पनी छनोट भएको थियो । टेन्डर आह्वान गर्दा गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका कुनै कम्पनीले टेन्डर नहालेको प्राधिकरणले जनाएको छ ।


दुई घन्टा लोडसेडिङ घट्दै
नेपाल विद्युत् प्राधिकरणले आगामी बुधबारदेखि लागू हुने गरी दैनिक दुई घन्टा लोडसेडिङ घटाउने भएको छ । हप्ताको ७० घन्टा लोडसेडिङ हुँदै आएकोमा घटाएर ५६ घन्टामा झार्न लागिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले बताए । पानीको वहाब बढेको भन्दै आगामी २१ जेठदेखि लोडसेडिङ घटाउन लागेको हो ।
११ सय मेगावाट विद्युत्को माग भएकोमा अहिले ४ सय ५० मेगावाट अभाव रहेको प्राधिकरणले जनाएको छ । भारतबाट १ सय ६० मेगावाट विद्युत् आयात हुने गरेको छ ।

No comments: