–अधिकांश सभासद् डलर पीपीएविरुद्धमा
राजधानी समाचारदाता
काठमाडौं, १ असार । संसदको सार्वजनिक लेखा समितिले विदेशी मुद्रा (अमेरिकी डलर) मा गरिएको विद्युत खरिद सम्झौता (पीपीए) बारे उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँगै तीन दिनभित्र विस्तृत विवरण माग गरेको छ ।
लेखा समितिको आइतबार बसेको बैठकले हालसम्म अमेरिकी डलर र स्वदेशी मुद्रामा भएको पीपीए, सम्झौता गर्नुपर्ने कारण र शर्तहरु, दररेटको विवरण, यसले प्राधिकरणको वित्तिय अवस्थामा पार्ने र पारेको प्रभाव, विद्युत नीति, प्राधिकरणको वित्तिय अवस्था सम्बन्धी विस्तृत विवरण मागेको हो । बैठकले सम्पूर्ण विवरण तीनदिन माग्ने र आगामी बैठकमा उर्जा मन्त्री, उर्जा सचिव र प्राधिकरणका कार्यकारी निर्देशकलाई बोलाउने निर्णय समेत गरेको छ ।
लेखा समितिका अधिकांश सभासद्हरुले डलरमा भएको पीपीएबारे प्राधिकरणले प्रश्तुत गरेको कारण प्रमाणितयोग्य नभएको भन्दै त्यसको विरोध गरेका थिए । सभासद्हरु बालकृष्ण खाँड, मोहनबहादुर बस्नेत, रामहरि खतिवडा, डोरप्रसाद उपाध्याय, टेकबहादुर बस्नेत, प्रेमबहादुर सिंह, भानुभक्त ढकाल, दिलबहादुर नेपाली, एकनाथ ढकाल लगायतले नेपालको अर्थतन्त्रलाई समस्या पर्ने गरी गरिएको डलर पीपीएबारे प्राधिकरणले पठाएको जानकारी चित्तबुझ्दो नभएको भन्दै यसबारे विस्तृत वितरण माग्नुपर्ने बताएका थिए । सभासद् मोहनबहादुर बस्नेतले भोटेकोशी र खिम्तीमा गरिएको डलर पीपीएले प्राधिकरण धराशायी भएको बताउँदै यी दुई आयोजनासँग पीपीए गरिएको ११ बर्षभित्र प्राधिकरणले २९ अर्ब घाटा बेहोर्नुपरेको दाबी गरे । सभासद् दीपक खड्काले विदेशमा विजुली बेच्नुपर्दा डलरमा पीपीए गर्न आवश्यक हुन सक्ने बताउँदै त्यसबारे विस्तृत अध्ययन गर्नुपर्ने बताएका थिए । उनीहरुले खिम्ती र भोटेकोशीको डलर पीपीएको पुनरावलोकन गर्न उर्जा मन्त्रालय सक्रिय हुनुपर्ने बताएका थिए ।
प्राधिकरणले ६० मेगावाटको माथिल्लो भोटेकोशी र ६० मेगावाटको खिम्तीसँगै डलरमा पीपीए गरी विजुली उत्पादन हुँदै आएको छ भने ८२ मेगावाटको तल्लो सोलु, १२० मेगावाटमध्ये लिखु–४ को ५२.४ मेगावाट, ५० मेगावाटको बलेफीको २३.६ मेगावाट र ५० मेगावाटको माथिल्लो मस्याङदी जलविद्युत आयोजनासँग प्राधिकरणले डलरमा पीपीए गरेको छ । ती सबै आयोजनाको विद्युत उत्पादन हुन बाँकी छ ।
यसैगरी प्राधिकरणभित्र इन्द्रप्रसाद न्यौपानेको संयोजकत्वमा गठन भएको ४१ सदस्यीय कर्मचारी दबाब समूहले आइतबार कार्यक्रम गरी खिम्ती र भोटेकोशीको डलरमा भएको पीपीएको विरोध गरेको छ । समितिले सो पीपीए पुनरावलोकन गर्न माग गरेको छ ।
No comments:
Post a Comment