राजधानी समाचारदाता
काठमाडौं, २५ जेठ । जल तथा उर्जा आयोग सचिवालयले उर्जासँग सम्बन्धित सबै सुचनाहरुको संकलन गरी वेभसाईटमा राख्ने भएको छ ।
उर्जासँग सम्बन्धित एकीकृत तथ्यांकको अभाव तथा भएका तथ्यांक समेत सिंहदरबारभित्र जान सक्ने पहुँच भएका व्यक्तिहरुका लागि मात्र परम्परागत रुपमा दिइने गरिएकोमा अब वेभसाईटमै राख्न लागिएको हो । सचिवालय र जमर्न सरकारको सहयोगमा नेपाल उर्जा दक्षता कार्यक्रम (नीप) अन्तर्गत नेपाल उर्जा सुचना प्रणालीको विकास गरेपछि अब विद्युत, वैकल्पिक उर्जा, पेट्रोलियम पदार्थ, कोयला, ग्याँस, दाउरा लगायतका सम्पूर्ण उर्जासँग सम्बन्धित जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ । आठ महिनाअघिदेखि सचिवालयले सुचना प्रणालीको विकास गर्न सुरु गरेको थियो ।
नेपाल विद्युत प्राधिकरण, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल आयल निगम, वन मन्त्रालय, भन्सार विभाग लगायतबाट सिधै सुचना आयोगमा पठाउन सक्ने प्रणाली विकास गरेर उर्जासँग सम्बन्धित सबै सूचनाहरुलाई वेभसाईटमा राख्न लागेको सचिवालका सिनियर डिभिजनल इन्जिनियर शुरेस श्रेष्ठले जानकारी दिए । ‘ नेपाल उर्जा सुचना प्रणालीको विकास भएको छ, तथ्यांकहरुको परीक्षण भईरहेको छ, जुन महिनाभित्रै वेभमा सबै तथ्यांक राख्छौ ।’–उनले भने । सचिवालयले वेभसाईटमा १८ बर्ष अघिदेखिको उर्जासँग सम्बन्धित सम्पूर्ण तथ्यांक वेभसाईटमा राख्न लागेको छ ।
उर्जासँग सम्बन्धित तथ्यांकहरु वास्तविक नहुँदा समस्या भईरहेको बेला यो प्रणाली विकासँगै उर्जाका नीति निर्माणकर्ता, खोजकर्ता, योजनाकार र विश्लेषणकर्ताले सही रुपमा उर्जा क्षेत्रको अध्ययन, विकास, विस्तार र टिप्पणी गर्न सक्नेछन् । सरकारी निकायले आधिकारिक रुपमा सुचना सार्वजनिक गरेपछि उर्जा क्षेत्रका स्वदेशी तथा विदेशी लगानीकर्तालाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उर्जा सचिवालयसँग उर्जाबारेको सुचना भएपनि अपडेट नहुने तथा सुचना लिनका लागि सिंहदरबारभित्रको सचिवालयमा पुगेर निवेदन दिनुपर्ने वाध्यता थियो भने आयोगले समेत सुचना माग्नका लागि सबै निकायमा पत्राचार गर्नुपर्ने अवस्था थियो । हाल सचिवालयले प्रत्येक बर्षको एक पटक प्रकाशित गर्ने प्रतिवदेनबाट उर्जासँग सम्बन्धित सुचना लिनुपर्ने वाध्यता छ । अब भने उर्जासँग सम्बन्धित सबै निकायले आयोग सचिवालयमा सिधै सुचना पठाउने प्रणाली विकास गरेकोले परम्परागत रुपमा पत्राचार गर्नुपर्ने अवस्थामा अन्त्य भएको इन्जिनियर श्रेष्ठले बताए । सचिवालयले उर्जा सुचनालाई व्यवस्थित गर्न सुचना प्रणाली आवेदन सफ्टवेयर समेत निर्माण गरिसकेको छ ।
No comments:
Post a Comment