–आर्थिक बर्ष २०७३\०७४ मा शुन्यमा झर्ने दाबी
–आगामी हिउँदमा दैनिक १२ घण्टानै
भीम गौतम\राजधानी
काठमाडांै, २० जेठ । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन प्रशारण लाइन समयमै निर्माण पुरा भएमा तीन बर्षभित्र लोडसेडिङ अन्त्य हुने योजना सर्तसहित अघि सारेको छ ।
आर्थिक बर्ष २०७३÷०७४ भित्र लोडसेडिङ अन्त्य गर्ने योजना तथा कार्यक्रममा प्रशारण लाइन र सवस्टेशन आफै निर्माणको जिम्मेवारी लिएको प्राधिकरणले चार प्रशारण लाइन र दुई सवस्टेशन निर्माण हुनुपर्ने शर्तसहितको योजना अघि सारेको हो । समयमै प्रशारण लाइन निर्माण गर्नुपर्ने दायित्व र जिम्मेवारी बोकेको प्राधिकरण आफैले सर्त राखेपछि उर्जा मन्त्रालयका अधिकारीहरु समेत प्राधिकरणको प्रस्तावित कार्ययोजना देखेर अचम्मित भएका छन् ।
उर्जा मन्त्रालयमा प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले बुझाएको आगामी तीन बर्षमा लोडसेडिङ अन्त्य गर्ने कार्यक्रममा राखिएको पाँच शसर्तमा कुशाहा–कटैया दोस्रो लाइन र रक्सौल–पवानीपुर प्रशारण लाइन मंसीर २०७१ भित्रै निर्माण हुनुपर्ने, आर्थिक बर्ष २०७२÷०७३ मै ढल्केबर–मुजफपुर प्रशारण लाइन तथा ढल्केबर सव–स्टेशन निर्माण हुनुपर्ने तथा २०७३÷०७४ भित्र हेटौडा–ढल्केबर–दुहबी प्रशारण लाइन र सम्बन्धित सवस्टेशन निर्माण भैसक्नुपर्ने उल्लेख छ । यी चार प्रशारण लाइन र दुई सवस्टेशन बनेमा आगामी २०७४ को असारभित्र लोडसेडिङ शुन्यमा झर्ने उल्लेख छ । कार्ययोजना अनुसार, आगामी हिउँदमा लोडसेडिङ दैनिक १२ घण्टानै रहेपनि आगामी २०७२÷०७३ मा दैनिक आठ घण्टामा झर्नेछ । प्राधिकरणको दाबी अनुसार, आर्थिक बर्ष २०७३÷०७४ मा आयात र उत्पादन थप समेत गरी २७ सय १५ मेगावाट विद्युत उपलब्ध हुनेछ भने सो विद्युतले हिउँदको लोडसेडिङ पनि पूर्ण रुपमा अन्त्य हुनेछ ।
योजनामा उल्लेख भए अनुसार, आर्थिक बर्ष २०७१÷०७२ मा जलविद्युतबाट र भारतबाट आयात गरी २ सय ६५ मेगावाट थप हुने प्राधिकरणको दाबी छ । जस अनुसार, जलविद्युतबाट ५० मेगावाट थपिने छ भने कुशाहा–कटैया प्रशारण लाइनबाट कण्डक्टर परिवर्तनपछि ३० मेगावाट, कुशाहा–कटैया दोस्रो लाइनबाट ५० मेगावाट, रक्सौल–परवानीपुर लाइनबाट २० मेगावाट तथा सुख्यायाममा क्षमता वृद्धिबाट ११५ मेगावाट विद्युत थपित उल्लेख छ ।
त्यसैगरी आर्थिक बर्ष २०७२÷०७३ मा चमेलिया जलविद्युत लगायतका आयोजनाबाट ६० र ढल्केबर–मुजफपुर प्रशारण लाइनबाट ३ सय मेगावाटसहित ३ सय ६० मेगावाट विद्युत थप हुने उल्लेख छ । त्यसैगरी आर्थिक बर्ष २०७३÷०७४ मा माथिल्लो तामाकोशी, माथिल्लो त्रिशुली, राहुघाट र नीजि क्षेत्रबाट ५ सय २५ तथा भारतबाट ८ सय मेगावाट आयात समेत गर्न सकिने उल्लेख छ । योजनामा भारतबाट सो बर्ष ६ सय मेगावाट मात्र ढल्केबर–मुजफपुरबाट आयात गरेमा पनि लोडसेडिङ शुन्यमा झर्ने उल्लेख छ ।
पाँच महिना अघि निर्माण सुरु गरेर ढल्केबर–मुजफपुर प्रशारण लाइन सन् २०१५ को जुलाईभित्र सम्पन्न गर्ने लक्ष्य भएपनि हालसम्म निर्माण सुरु भएको छैन भने हेटौडा–वर्दघाट–दुहबी प्रशारण लाइन निर्माणमा पनि ढिलाई भएको छ । दुवै प्रशारण लाइन निर्माणमा ढिलाई भएकोले योजना अनुसार तीन बर्षभित्र लोडसेडिङ शुन्यमा झार्ने सम्भावना न्यून रहेको उर्जा मन्त्रालयका अधिकारीहरु बताउँछन् । समयमै निर्माण गर्छु भनेर प्रतिवद्धता र कार्ययोजनासहित आउनुपर्ने प्राधिकरणले शसर्त कार्यक्रम पठाएपछि सरकारको तीन बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा समेत पुरा नहुने देखिएको छ ।
राष्ट्रिय योजना आयोगले निर्धारण गरेको लक्ष्यमा आगामी २०७३ को असारसम्ममा ६ सय ६८ मेगावाट विद्युत थप उत्पादन हुने उल्लेख छ तर प्राधिकरणले उर्जा मन्त्रालयलाई पठाएको कार्यक्रममा भने जम्मा १ सय १० मेगावाट मात्र विद्युत उत्पादन थप हुने जनाएको छ । प्राधिकरणले ९२ मेगावाटको जलाशययुक्त आयोजना र ५३ मेगावाटको थर्मलसहित हाल जलविद्युतको जडित क्षमता ७ सय ६० मेगावाट रहेको उल्लेख गरेको छ ।
No comments:
Post a Comment