चमेलिया जलविद्युत् आयोजना
राजधानी समाचारदाता
काठमाडौं, १९ जेठ
निर्माणधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी चिनिया“ गेजुवा ग्रुपले एकतर्फी रूपमा निर्माण कार्य बन्द गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सम्झौताअनुसारको रकम नदिएको भन्दै आयोजनाको काम छोडेको गेजुवाले बताउँदै आए पनि आयोजना प्रमुख राजेन्द्र मानन्धरले गेजुवाले सम्झौताविपरीत आयोजनाको काम बन्द गरेको जिकिर गरे ।
मानन्धरका अनुसार चिनियाँ ठेकेदार कम्पनीका कर्मचारीहरूले विद्युत्गृह र सुरुङको केही भागको काम बन्द गरेका छन् । गेजुवाका कर्मचारीले सुरुङ साँघुरिएको क्षेत्रमा भने सामान्य काम गरिरहेको चमेलिया जलविद्युत् आयोजनाले जनाएको छ । ३१ मेमा पत्र पठाएर ठेकेदार कम्पनीले आङ्खनो माग सुनुवाइ नभए काम बन्द गर्ने चेतावनी दिएको थियो भने आयोजनाले सम्झौताअनुसार काम गर्न पटक–पटक पत्र पठाएको थियो ।
गेजुवाले आयोजनाको निर्माणको क्रममा बन्द, हड्ताललगायतका कारण देखाउँदै ६८ करोड दाबी गरेकोमा डीआरपी गर्दा १२ करोड दिने निर्णय भएको थियो । तर, आयोजनाले सो रकम दिन नमानेपछि दुवै पक्ष आर्विटेसनमा जाने क्रममा छन् । आयोजनाका अनुसार सो विवाद समाधानका लागि प्रयास भइरहेको छ । दाबी रकमबाहेक ठेकेदार कम्पनीलाई रकम दिन बाँकी नरहेको र सम्झौताअनुसार काम गर्नुपर्ने आयोजना प्रमुख मानन्धरले जानकारी दिए ।
मार्च २०१५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना निर्माणमा तीन वर्ष ढिला भइसकेको छ । आयोजनामा इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र १ सय ३२ केभी प्रसारण लाइन निर्माणको ठेक्का लिएको कोरियन ठेकेदार कम्पनी केएचएनपी कन्सोटियमसँगको सम्झौता तोड्नेसम्मको विवाद, आयोजनाको सुरुङ खुम्चिएको (इस्क्विचिङ) साँघुरिने समस्या तथा सिभिल ठेकेदार गेजुवाको दाबीलगायतका कारण आयोजनाको निर्माण सम्पन्न मितिबारे अन्योल बढेको छ । ठेकेदार कम्पनी सीजीजीसीले भने प्राधिकरणले लामो समयदेखि भुक्तानी नदिँदा समस्या भएको दाबी गर्दै आएको छ ।
२०६४ सालमा निर्माण सुरु भएको आयोजनाको २०६८ साल जेठमै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विविध कारणले सुरु हुन सकेको छैन । ८ अर्ब रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका लागि हालसम्म ११ अर्ब खर्च भइसकेको छ । स्वीकृत लागत १२ अर्ब ६६ करोड रहेकामा त्यसमा अझै १ अर्ब ५७ करोड बढेर १४ अर्ब २३ करोड रुपैयाँ पुग्न लागेको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment