Sunday, March 20, 2016

प्रधानमन्त्रीको चीन भ्रमण आजबाट

व्यापार, पारवहन र पूर्वाधार विकास मुख्य एजेन्डा

भीम गौतम / राजधानी
काठमाडौं, ६ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) बाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणगर्दैै छन् । भारत भ्रमणको ठीक एक महिनापछि प्रधानमन्त्री ओलीले सातदिने चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोली व्यापारीसमेत गरी झन्डै सय सदस्यीय रहेको छ । जसमध्ये ३४ जना उद्योगी–व्यवसायी छन् । भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सांसदहरू, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी छन् । भ्रमण टोलीमा रहेका सदस्यमध्ये २० जनाको खर्च मात्रै नेपाल सरकारले बेहोर्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले जानकारी दिए । उनका अनुसार भ्रमण दलमा सहभागी व्यापारीको खर्च स्वयंले बेहोर्ने छन् । हवाई जाहाजको खर्चसमेत निःशुल्क रहेको रिमालले जानकारी दिए । प्रधानमन्त्री ओलीले सोमबार बिहान चिनियाँ समकक्षी ली खछ्याङसँग बेइजिङस्थित ग्रेट हलमा औपचारिक भेटवार्ता गर्नेछन् । भेटमा दुई देशबीचको द्विपक्षीय हितका साथै नेपाल र चीनबीच महŒवपूर्ण विषयमा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा व्यापार, पारवहन, बैंकिङ, पूर्वाधार विकास, ट्रेडमार्क रजिस्ट्रेसनलगायतका विषयमा द्विपक्षीय छलफलबाट सम्झौता हुने जानकारी दिए ।
चीनसँग पारवहन सम्झौता हुने र यसबाट नेपाललाई चीन हुँदै समुद्रसम्मको बाटो खुला हुने अपेक्षा गरिएको छ । चिनियाँ प्रधानमन्त्री लीसँगको भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले कोरला र किमाथांका नाका खोल्ने प्रस्ताव गर्नेछन् । यसका साथै जुरे पहिरोपछि बन्द तातोपानी नाका सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गर्नेछन् । त्यसैगरी चक्रपथभित्र काठमाडांै मनोपोल निर्माण, रसुवागढी हुँदै अन्तरदेशीय प्रसारण लाइन निर्माण, ४ सय मेगावाटको किमाथांका अरुण, चिनियाँ बैंकको शाखा नेपालमा स्थापना तथा काभ्रे, नुवाकोट र तनहुँमा इन्धन भण्डार स्थापनालगायतका विषयमा छलफल गर्ने कार्यक्रम छ । केरुङ–रसुवा–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनीको रेल मार्गको सर्भे, काठमाडौंको रिङरोड छिटो निर्माण, नेपालमा विज्ञान प्रविधिसम्बन्धी इन्स्टिच्युट निर्माणमा चीनले सहयोग गर्नेलगायतमा विषयमा पनि छलफल गर्ने भ्रमणको एजेन्डा छ । दुई देशबीच हुने भनिएको इन्धन व्यापार सम्झौता भने नहुने भएको छ । आपसी तयारी अभावको कारण देखाउँदै तत्कालका लागि रोकिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीको सम्मानमा सोमबार चिनियाँ प्रधानमन्त्री लीले दिवाभोज आयोजना गर्नेछन् । सोमबार साँझ नै ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, मंगलबार प्रधानमन्त्री ओलीले चीनको रेन्मिन विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूचीसमेत रहको छ । सोही दिन सांघाई को–अपरेसनको डायलग पार्टनरको सम्झौतामा हस्ताक्षर गर्नेछन् ।
भ्रमणको क्रममा प्रधानमन्त्रीले चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) मा चीन र नेपाली समुदायका व्यापारी, व्यवसायीलगायतयसँग भेट गर्ने कार्यक्रम छ । साँझ वेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । ओलीले बुधबार बिहान नेसनल म्युजियममा राखिएको माओको समाधिमा पुष्पगुच्छा अर्पण गर्नेछन् । सोही दिन चिनियाँ कम्युनिस्ट पार्टीका सेन्ट्रल पोलिब्युरो कमिटी र नेसनल पिपुल्स कांग्रेसका नेतासँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनी बिआओ सम्मेलनमा सहभागी हुन त्यसतर्फ लाग्नेछन् ।
बिहीबार प्रधानमन्त्री बोआओ फोरममा सहभागी हुनेछन् । बिआओ मञ्चको ‘एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्रीले स्यान्याको नानसान पार्कस्थित नेपाल मण्डपको भ्रमण गर्नेछन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले भूकम्प पुनर्निर्माण क्षेत्र तथा सिचुवानको जलविद्युत् आयोजनाको अवलोकनसमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली १४ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
http://rajdhani.com.np/article/0197529001458434075

No comments: