भीम गौतम / राजधानी
काठमाडौं, १६ चैत
काठमाडौं, १६ चैत
प्रधानमन्त्री
केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माण गतिप्रति असन्तुष्टि जनाउँदै
ऐननियमका पाना पल्टाउन छाडेर भूकम्पपीडित बचाउने काममा लाग्न निर्देशन
दिएका छन् । दुई महिनामा सक्नुपर्ने काम भूकम्प गएको वर्ष दिन पुग्न लाग्दा
पनि अघि बढ्न नसकेको बताउँदै प्रधानमन्त्री ओलीले यही कछुवा गतिले
दशकौंसम्म पनि पुनर्निर्माणको काम सम्पन्न नहुने बताएका हुन् ।
‘कारण
जेहोस्, जहाँ होस्, पुनर्निर्माण कछुवा गतिमा छ, फेरि हावाहुरीले बिचल्ली
भएको छ, हिउँदमा पनि आवास नपाएका पीडितले अझै वर्षामा पनि पाउने अवस्था
छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘ऐननियमका पाना पल्टाउन छाड्नुस्, तुरुन्तै
उनीहरूका लागि आवास दिएर बचाउनेतिर लाग्नुस्, यो गतिले दसकांैसम्म
पुनर्निर्माण हुँदैन ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार
राजधानीमा भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास
अधिकारीलगायतका जिल्लाका सरकारी निकाय प्रतिनिधिहरूका लागि आयोजित
पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रममा प्रधानमन्त्रीले स्थानीय निकायका
कर्मचारीले भत्ता नपाए पुनर्निर्माणमा असहयोग गर्नेतर्फ लक्षित गर्दै
संकटको बेला यो पुगेन र ऊ पुगेन भनेर काम रोक्न नहुने बताए ।
उनले
प्राधिकरणको अध्यक्षको नाताले भूकम्पछिको पुनर्निर्माणमा ढिलाइ हुनुमा आफू
पनि दोषी रहेको बताउँदै सबैले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताए ।
‘प्रधानमन्त्री भएपछि म पनि प्राधिरकरणको अध्यक्ष छु, यसमा मेरो पनि दोष
छ,’ उनले भने, ‘तपार्इंहरूलाई मात्र होइन, पुनर्निर्माणमा ढिलाइ हुनुमा म
पनि दोषी छु, मलाई पनि यो भनिरहेको छु ।’ गत २ माघमा सुरु गरिएको
भूकम्पपछिको पुनर्निर्माणको महाअभियानले गति लिन नसकेकोमा गम्भीर
असन्तुष्टि जनाउँदै उनले अब प्रत्येक दिन कति आवासहरू बने भनेर दैनिक
प्रगति सार्वजनिक गर्नुपर्ने बताए ।
‘राष्ट्रपतिले
त्यसरी महाअभियानको सुरुवात गरेको, खोइ त प्रगति ?’ प्रधानमन्त्रीले
प्रश्न गर्दै भने, ‘महाअभियानको शंख मधुरो हुँदै गएको सुनिन्छ, अब कुनै
नाममा व्यवधान र ढिलाइ हुनुहुन्न, यसो गर्ने कर्मचारीलाई तुरुन्तै सरुवा
गर्नुस् ।’ ‘म धरहरा बनाउँछु’ अभियान सुस्त भएको र जनताले बनाउने भनेको
हालसम्म प्रधानमन्त्री, मन्त्रीले मात्र रकम जम्मा गर्नुले पनि यसलाई अघि
बढाउन सरकारी संयन्त्र र माध्यमले बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि
पोखे । प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणजस्तो संकटको घडीमा
पनि यसको नाममा कसैले भ्रष्टाचार र अनियमितता गरे सफाइको मौकासमेत नदिई
ठाडो कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।
‘पुनर्निर्माणका
लागि कुनै नीति, नियम, कार्यविधि आवश्यक परे सरकार र संसद्ले दिन्छ, तर
कुनै बहानामा पुनर्निर्माण गतिलाई ढिलाइ गर्नुहुन्न, तीव्र गतिमा अघि
बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । गृहमन्त्री शक्तिबहादुर बस्नेतले
पुनर्निर्माणका लागि सबैको साझा प्रयास र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी
शाही, मुख्य सचिव डा. सोमलाल सुवेदीलगायतले पुनर्निर्माण कार्य छिटो छरितो
गर्नुपर्ने बताए ।
कार्यक्रममा
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले १६ सय
इन्जिनियर परिचालन गरेर ८० प्रतिशत भूकम्पपीडितहरूको सर्भे सकिएको र बाँकी
हिमाली क्षेत्रका बाहेक चैतभित्र सम्पन्न गर्ने जानकारी दिए । आगामी २१
चैतदेखि भूकम्पप्रभावित १० जिल्लामा अनुदान वितरण सुरु गर्न लागेको जानकारी
दिँदै उनले पुनर्निर्माणमा आउने समस्यालाई समाधान गर्दै प्राधिकरण अघि
बढ्ने बताए । गत ३० फागुनदेखि प्राधिकरणले दोलखाबाट अनुदान वितरण सुरु
गरेको छ । आगामी २१ चैतबाट काठमाडांै उपत्यकाबाहेकका बाँकी १० जिल्लामा
अनुदान वितरण गर्न लागेको हो ।
http://rajdhani.com.np/article/0787973001459298940
No comments:
Post a Comment