Sunday, March 27, 2016

समृद्धिका लागि एसियाली राष्ट्रबीच सहकार्य जरुरी

राजधानी समाचारदाता
काठमाडौं, ११ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र समृद्धिका लागि एसियाका सबै राष्ट्रहरूबीच सहकार्य र एकता जरुरी रहेको धारणा राखेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार हाइनानस्थित बोआओ सम्मेलनलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्रको नेतृत्वकर्ताका रूपमा उदय भइरहेको एसिया २१औं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्र भागमा आइपुगेको बताए ।
‘शान्ति र समृद्धिका लागि एसियाका सबै राष्ट्रहरूबीच सहकार्य र एकता जरुरी छ,’ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने । उनले एसियाको भावी सपना, शान्ति र समृद्धिको क्षेत्रमा कुनै राष्ट्र कमजोर भए एसियाकै असफलताको कारण हुने पनि बताए । ‘एसियाको वृद्धि परिमाण साँघुरो हुनुहुँदैन, आरोहण संरचना नाजुक हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्धिका लागि एसियामा दिगो र समावेशी विकास आवश्यक छ ।’

विश्व अर्थतन्त्रमा एसिया विश्वकै पाव हाउसका रूपमा उदाएको बताउँदै उद्योग, बजार र रोजगारी वृद्धिसँगै गरिबीबाट समेत एसियालाई मुक्त गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले एसियाली मुलुकहरूले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई औंल्याइदिएको बताए । नयाँ खोज र प्रविधिले विकासका नयाँ ढोकाहरू खुलेको र यस्ता नवीन खोज मानवको हित संवद्र्धन गर्ने भएकाले हरेक राष्ट्रलाई विनारोकतोक प्रविधिमाथिको पहुँच हुनुपर्ने प्रस्ताव पनि प्रधानमन्त्री ओलीले राखेका छन् ।
एसियालाई समृद्ध बनाउन अवसर र लाभलाई समान रूपले वितरण हुनुपर्ने भन्दै उनले सामूहिक प्रयत्न र सहयोगका अवसरहरूको खोजीले मात्रै ज्ञानको स्वतन्त्र प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै एसियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि उनले बताए ।
जननिर्वाचित संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको र त्यसलाई मित्रराष्ट्रहरूबाट स्वागत गरिएकोमा प्रधानमन्त्री ओलीले कार्यक्रममा आभार प्रकट गरेका थिए ।
एसियाका धेरै सभ्यता विश्वकै धनी भएको उल्लेख गर्दै एसियाका सम्भावनाहरूलाई अधिकतम उपयोग गरेर मुलुक समृद्धितर्फ अग्रसर हुनुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राखेका छन् । ‘एसियामा बजार विस्तार भइरहेका छन्, उद्योग व्यापार फस्टाइरहेका छन्, रोजगारी सिर्जना भइरहेको छ । एसिया महादेश गरिबीबाट बाहिर निस्किने चरणमा पुगेको छ । तर पनि यस क्षेत्रको जनसंख्याको ठूलो हिस्सा गरिबी र अभावको चंगुलभित्रै छ,’ प्रधानमन्त्री ओलीले भने । एसियालाई नयाँ दृष्टिकोण र आयामहरूका साथ सुनौलो भविष्यतर्फ अघि बढाउने समय आएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि क्षेत्रीय सहयोग र सहकार्य जरुरी रहेको धारणा पनि राखेका छन् । 
http://rajdhani.com.np/article/0494920001458864300

No comments: