Monday, March 28, 2016

पारवहन सम्झौता महत्वपूर्ण उपलब्धि : प्रधानमन्त्री

‘छिमेकीहरूसँगको सम्बन्ध एकअर्कासँग तुलना हुँदैन’

भीम गौतम/राजधानीकाठमाडौं, १४ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएको पारवहन सम्झौतालाई महŒवपूर्ण उपलब्धि भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सातदिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले पारवहनलाई एक महŒवपूर्ण सम्झौता भएको बताए ।


‘भ्रमणको अवसरमा सम्पन्न पारवहन यातायात सम्झौताले भूपरिवेष्ठित मुलुकका रूपमा नेपालको समुद्रसम्म पुग्ने अधिकार र चिनियाँ भूभागबाट निर्वाध रूपमा पारवहन स्वतन्त्रता पाउने कुरालाई प्रत्याभूति गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सम्झौता भ्रमणको महŒवपूर्ण उपलब्धि हो ।’
सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री ओलीको भ्रमणमा संलग्न उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले पारवहन सम्झौता अघि बढाउन दुवै देशले संयुक्त रूपमा अध्ययन गरी तत्काल अघि बढ्ने बताए । ‘पारवहन सन्धि दुई देशको दीर्घकालीन हितका लागि कोसेढुंगा साबित भएको छ,’ उनले भने, ‘यसमा धेरै आशंका गर्नु आवश्यक छैन ।’
चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट तथा छलफलबाट दुई देशबीच आपसी विश्वास एवं समझदारीमा अभिवृद्धि हुन गई राजनीतिक सम्बन्ध थप सुदृढ हुन गएको बताउँदै प्रधानमन्त्री ओलीले पारवहन, यातायात, भौतिक पूर्वाधार, लगानी, ऊर्जा, पर्यटनजस्ता विषयहरूमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्घकालीन दृष्टिकोणबाट आर्थिक सहयोगको खाका तयार भएको बताए । ‘भ्रमणबाट सहयोगको दायरा फराकिलो भएको तथा प्राज्ञिक र व्यापारिक समुदायसँगको अन्तक्र्रिया र छलफलबाट जनस्तरको सम्बन्धको आधारशिला थप मजबुद भएको छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रहरूसँग समानता र पारस्परिक हितका आधारमा विद्यमान सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने एवं छिमेकीहरूसँगको सम्बन्धलाई एक अर्कासँग तुलना नगर्ने हाम्रो नीति स्पष्ट रहेको बताए । अबको प्रमुख काम पुनर्निर्माण र समग्र विकास भएको भन्दै उनले मित्र राष्ट्रहरूको सहमतिमा पुगेका विषयहरूको प्रभावकारी कार्यान्वयन गरिने बताए । प्रधानमन्त्री ओलीले आफूहरूले चालेको कदमले मुलुकको दीर्घकालीन समुन्नति तथा जनताको सर्वतोमुखी प्रगति सुनिश्चित हुने बताए । ‘छिमेकीहरूसँगको सम्बन्ध सुदृढ गर्दै पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउने सरकारको घोषित नीति रहेको बताए ।
उपप्रधानमन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै छिमेकीहरूसँग असल सम्बन्ध बनाउन चाहेको र एकअर्कासँग यसलाई तुलना गर्न नमिल्ने बताए । प्रधानमन्त्रीले सञ्चारकर्मीलाई चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धमा व्यापारिक सम्झौता सम्पन्न गर्न दुवै सरकार सहमत भएको उल्लेख गरे । उनले यसका लागि दुवै देशका व्यावसायिक संस्थाहरूले वार्ताद्वारा मूल्य, ढुवानी, भन्सार, सुरक्षा, कर तथा सीमा नाकामा रहेका नीतिगत र व्यावहारिक अड्चनहरू फुकाउन छलफल गर्ने र सम्बन्धित निकायहरूले त्यसका लागि सहयोग पुग्ने खालका नीतिगत सहायता दिने विषयमा सहमति भएको जानकारी दिए ।
नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात सम्भाव्यता भएका ५ सयभन्दा बढी नेपाली वस्तुहरूलाई भारतमा सहज प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई गम्भीरताका साथ विचार गर्न चीन सहमत भएको जानकारी पनि उनले दिए । ऊर्जा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माण, ४ सय ३४ मेगावाटको किमाथांका अरुण जलविद्युत्जस्ता सम्झौता भएको उल्लेख गर्दै ऊर्जा व्यापारका लागि दुई मुलुकका सम्बन्धित निकायहरूबीच संवाद संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पर्यटन व्यवसायलाई थप ऊर्जा प्रदान गर्न तथा चिनीयाँ पर्यटकबाट नेपालले फाइदा लिन सक्ने वातावरण निर्माणका लागि आगामी पाँच वर्षभित्र २ सय पर्यटक व्यवसायीहरूलाई चिनियाँ भाषा तालिमलगायत पर्यटन क्षेत्रमा सहयोग गर्ने सहमति भएको जानकारी दिए । उनले आफूले भ्रमणका क्रममा छेन्दुमा रहँदा सन् २००८ को भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको सफल पुनर्निर्माण तथा जलविद्युत् आयोजनाबारे समेत छलफल गरेको जानकारी दिए ।
७ चैतमा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चिनीयाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली, चिनियाँ संसद्को माथिल्ला सदनका अध्यक्ष यू झेनसेङलगायतसँग भेट गरेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्ता

चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपालका राष्ट्रपतिको तर्फबाट चीनका राष्ट्रपति र आफ्नो तर्फबाट चिनियाँ प्रधानमन्त्रीलाई निमन्त्रणा दिएको जानकारी प्रधानमन्त्री ओलीले दिए । उनले सन् २०१६ भित्रै चीनको उच्च राजनीतिक नेतृत्वबाट नेपालको भ्रमण हुने आशा पनि व्यक्त गरे ।
http://rajdhani.com.np/article/0953233001459132268

No comments: