भीम गौतम\राजधानी
काठमाडौं, ३१ साउन । रोजगारीको लागि प्रतिबन्धित मुलुक लिबिया पुगेका १ सय २६ नेपालीको उद्धार गरिएको छ ।
कायरोस्थित नेपाली दुतावास तथा त्रिपोलीमा रहेको भारतीय दुताबासको संयुक्त प्रयासमा १ सय २६ नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता सैयद अकबररुदिनले समेत शनिबार ट्वीटमा लिवियाको सिर्त शहरबाट १२६ नेपाली उद्धार गरेको उल्लेख गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले यसबारे ५४ जनाको उद्धार भैसकेपनि ७२ जनाको उद्धारबारे जानकारी आएपनि पूर्ण रुपमा पुष्टि नभैसकेको जानकारी दिए । लिबियामा नेपाली दूताबास नभएकोले इजिप्टको कायरोमा रहेको दूताबासले त्रिपुली पुगेर उद्धार गर्न नसकेकोमा भारतको त्रिपोलीथित राजदूताबासले नेपाली कामदार उद्धारका लागि सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लिबियाको आन्तरिक द्धन्द्धको कारण जोखिममा रहेका १२६ मध्ये ७२ जना लिवियाबाट उद्धार गरी ट्यूनिसिया आईपुगेको र ५४ जना नेपाल फर्किसकेका छन् । ५४ जना बिहीबार र शुक्रबारको हवाईमार्गबाट दुई समूहमा हिडेको जानकारी कायरोको दुताबासले दिएको परराष्ट्र प्रवक्ता अधिकारीले जानकारी दिए ।
उद्धार गरिएकामध्ये ७२ जना नेपाल आउने आर्थिक अभाव लगायतका समस्यामा छन् । उनीहरुलाई तत्काल उद्धारका लागि पहल नभएको गुनासो अलपत्र नेपालीका आफन्तहरुको छ । उनीहरुले तुरुन्तै उद्धारका लागि पहल गर्न सरकासँग आग्रह गरेका छन् । उनीहरु जोखिमयुक्त क्षेत्रबाट सुरक्षिततर्फ आएपनि अलपत्र परेको बताइएको छ ।
कायरो दुताबासले कोरियाको दोसान कम्पनीमा १२६ र अन्य विभिन्न कम्पनीमा गरी ५४ जना लिबिया पुगेको आधिकारिक रुपमा जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ तर झण्डै पाँच सय नेपाली लिबियाको रुपमा रहेको अनुमान गरिएको छ ।
त्यसैगरी प्रबन्धित मुलुक इराक पुगेका १३ जनालाई उद्धार गरिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रीको विशेष प्रतिनीधिको रुपमा नेपाली उद्धार गर्न गत महिना मन्त्रालयका सह–सचिव अर्जुनकान्त मैनाली इराक पुगेका थिए । इराकमा मात्र झण्डै १० हजार नेपाली सुरक्षा र घरेलु कामदारको रुपमा रहेको अनुमान रहेको छ ।
लिबियामा अलपत्र दुई हजारभन्दा बढीलाई भारत सरकारले देश फकाईसकेको छ भने श्रीलंका, पाकिस्तान लगायतका मुलुकले समेत उद्धारका लागि विशेष पहल गरेका छन् तर नेपाल सरकारले अझै पनि लिबियामा अलपत्र नेपालीका लागि विशेष पहल नगरेको गुनासो पीडितहरुको छ । कपितय पैसाको अभावमा फर्कन नसक्ने अवस्थामा रहेको लिबियामा अलपत्र रहेका कामदारहरुले आफन्तहरुलाई फोनमार्फत पहल गरिदिन आग्रह समेत गर्दै आएका छन् ।
कोरियन कम्पनीमा कार्यरत १२६ जनाले भने नेपाल सरकारलाई साउनको दोस्रो सातानै उद्धारका लागि आग्रह गर्दै पत्र लेखेका थिए तर उनीहरुलाई उद्धार गर्न सरकारले ढिलाई गर्यो । कालिकोटका विक्रम राना, नवलपरासीका मिनबहादुर थापा, काभ्रे बनेपाका सत्यनारायण प्रजापति, गुल्मीका निलम श्रीष, पर्वतका विक्रम विक, रुपन्देशीका रोमाकान्त तिमल्सिना, म्याग्दीका खेप्रसाद पुन, उदपुरका महेश चौधरी, पर्वतका गौतम लामा, चितवानका शम्भु उप्रेती ले उद्धारका लागि सरकारलाई पत्र लेखेका थिए । त्यसैगरी नवलपरासीका उमेश कँडेल, गोर्खाका रणबहादुर थापा, कपिलवस्तुका चन्द्र कुँवर, चितवनका शिवहरि त्रिपार्ठी, इलामका खेमबहादुर गुरुङ, सुनसरीका राजु विष्ट, नुवाकोटका दिलबहादुर बोगटी, दोलखाका डम्बरबहादुर तामाङ, मोरङका दुर्गा प्रसाई, चितवनका लीलानाथ पौडेल, बर्दियाका मेघराज खत्री, गोर्खाका दिलीप आलेमगर, कालिकोटका भीम विष्ट, काभ्रेका रामकृण्ण राना, भक्तपुरका राजेन्द्र पुरी, तनहुँका लालबहादुर थापा, रसुवाका सन्दीप वाईवा, महोत्तरीका भुवनेश्वर मण्डल, धनुषका रोशन शर्मा, धादिङका अनिल पोखरेल, ललितपुरका दिनेश महर्जन, नुवाकोटका विक्रम तामाङ, रुकुकमा सञ्जय बुढा, कास्कीका गणेश लामिछाने लगायतले पनि उद्धारका लागि आग्रह गरेका थिए । उद्धारमा ढिलाई हुँदा उनीहरुका आफन्त भने चिन्तामा परेका छन् ।
No comments:
Post a Comment