भीम गौतम\राजधानी
काठमाडौं, १२ भदौ नेपाल विद्युत प्राधिकरणले सन् २०१५ देखि थप नयाँ पाँच प्रशारण लाइनको निर्माण सुरु गर्न लागेको छ ।
१७ सय ५८ किलोमिटर प्रशारण लाइन निर्माणाधीन अवस्थामा रहेपनि विगत १० बर्ष यता एक किलोमिटर पनि प्रशारण लाइन बनाउन नसकेको प्राधिकरणले पाँच प्रशारण लाइनको निर्माण अघि बढाउन लागेको हो । प्राधिकरणका अनुसार, एक सय किलोमिटर लामो ४०० केभीको तामाकोशी–काठमाडौंका साथै २२० केभीका १ सय १५ किलोमिटर लामो कालीगण्डकी ट्रान्समिसन कोरिडोर, ८३ किलोमिटर लामो मस्याङदी–काठमाडौं र ९० किलोमिटर लामो कोशी कोरिडोर प्रशारण लाइन सन् २०१५ देखि सुरु गर्न लागिएको हो । त्यसैगरी २५ किलोमिटरको दुरीमा रहेको १३२ केभीको समुन्द्रटार–त्रिशुली ३ बी प्रशारण लाइन समेत प्राधिकरणले सन् २०१५ देखिनै निर्माण सुरु गर्न लागेको छ । ‘एकैसाथ पाँच प्रशारण लाइन निर्माण गर्न लागेका छौ ।’–प्राधिकरणका निर्देशक सुरेन्दराज राजभण्डारीले भने ।
पहिला बजेटमा प्रशारण लाइनलाई खासै महत्व नदिएपनि प्रशारण लाइनको अभावमा विजुली खेर जानुपर्ने अवस्था सिर्जना हुन थालेपछि सरकारले प्रशारण लाइनका लागि बजेट छुट्याएर प्रशारण लाइनलाई तीब्रता दिन थालेको थियो । सरकारले चालु बर्षमा प्राधिकरणको लागि २६ अर्ब बजेट छुट्याएको १३ अर्ब ५२ करोड त प्रशारण लाइनको लागि मात्र छ । सरकारले प्रशारण लाइनलाई उच्च प्राथमिकता दिएपनि मुआब्जा वितरणमा समस्या, प्रकृयागत झन्झट लगायतका कारणले प्रशारण लाइन बन्न सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, २०६२ सालमा २० किलोमिटरको वीरगञ्ज कोरिडोर बनेपछि अर्को प्रशारण लाइन निर्माण भएको छैन । निर्माणाधीन अवस्थामा धेरै आयोजना अलपत्र अवस्थामा छन् । ५ बर्ष अघि सम्पन्न भैसक्नुपर्ने २२० केभीको ७५ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रशारण लाइन अझै निर्माण पुरा हुन सकेको छैन । १७ बर्ष अघि सुरु भएको १३२ केभीको थानकोट–चापागाउँ–भक्तपुर प्रशारण लाइन अझै बनेको छैन । एक बर्ष अघि पुरा हुनुपर्ने सिंगटी–लामोसाँघु, डुम्रे–दमौली, काबेली कोरिडोर, हेटौडा–कुलेखानी स्यूचाटार अझै पुरा भएको छैन । ७५ किलोमिटर लामो २२० केभीको हेटौडा–भरतपुर सन् २०१२ तथा ७५ किलोमिटरकै भरतपुर–वर्दघाट सन् २०१३ मा सम्पन्न भैसक्नुपर्ने भएपनि अझै पुरा भएको छैन ।
मुआब्जा समस्या, स्थानीयबासीको अवरोध, वन वातावरण मन्त्रालय लगायतले समयमै वातावरणीय अध्ययन, वनजंगलको कटानबारे स्वीकृत नदिने लगायतका कारणले सरकारले सन् २०२० भित्र सरकारले थप ३३ सय किलोमिटर प्रशारण लाइन बनाउने लक्ष्य पुरा नहुने देखिएको छ । प्राधिकरणका अनुसार, सन् २००० देखि हालसम्म दुई सय किलोमिटर पनि प्रशारण लाइन बनेको छैन । प्राधिकरणका अनुसार, हाल १३२ केभीको २१३० किलोमिटर र ६६ केभीको ५१२ किलोमिटर सर्किट प्रशारण लाइन निर्माण सम्पन्न भैसकेको छ ।
प्रशारण लाइन निर्माणमा सरकारको प्रकृया समेत झन्झटिलो छ । प्राधिकरणका एक अधिकारीका अनुसार, सबै प्रकृया पुरा गरेर प्रशारण लाइन निर्माण अघि बढाउँदा अवरोध नभएमा कम्तीमा १२ बर्ष लाग्छ ।
No comments:
Post a Comment